अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धसँग लड्नका लागि चीनले नयाँ कानून ल्याएको छ ।

ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धसँग जुध्न भन्दै घोषणा गरिएको नयाँ कानूनले ‘असमान’ विदेशी कानूनबाट व्यापारिक फर्महरुलाई जोगाउने चीनले उल्लेख गरेको छ ।

गत साता घोषणा गरिएको घोषित नयाँ कानून अनुसार अमेरिकाले घोषित गरेको प्रतिबन्ध अनुरुप चल्ने वा त्यसको पक्षमा उभिने कम्पनीहरुलाई दण्डित गर्न सक्ने अधिकार चिनियाँ अदालतलाई दिइएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुलाई निशाना बनाएर प्रतिबन्धात्मक उपायहरु अपनाइरहेका छन् ।

अमेरिकाले विभिन्न चिनियाँ कम्पनीहरुलाई कालोसूचिमा राखेको छ र त्यस्ता कम्पनीलाई सामग्री पठाएमा सम्बन्धित कम्पनीलाई कारवाही गर्ने व्यवस्था प्रतिबन्धात्मक उपायहरुमा छन् ।

ट्रम्पले गएको नोभेम्बरमा हस्ताक्षर गरेको कार्यकारी आदेशका आधारमा चीनका तीन ठूला टेलिकम कम्पनीहरु चाइना मोबाइल, चाइना टेलिकप र चाइना युनिकम हङकङलाई न्यूयोर्क स्टक एक्सचेन्जबाट हटाउने तयारी भएको छ । ती कम्पनीहरुको सम्बन्ध सेनासँग रहेको अभियोग छ ।

पछिल्ला महिनाहरुमा टिकटक, हुवाई तथा माइक्रोचिप उत्पादक सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ्ग इन्टरनेशनल कर्पोरेशनसहित ट्रम्प प्रशासनको निशानामा परेका छन् ।

गएको हप्ता ट्रम्पले अलीपेसहित आठ चिनियाँ एप्लिकेशनसँग कारोबारमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

चिनियाँ प्रविधि कम्पनीहरुले प्रयोगकर्ताको जानकारी सेनासँग साझा गर्ने गरेको आरोप ट्रम्पले लगाएका छन् । अमेरिकाले लगाएको प्रतिबन्धलाई ‘काउन्टर’ गर्नका लागि चीनले नयाँ कानून ल्याएको हो ।

सो कानूनमा अमेरिकाको नाम उल्लेख नगरिए पनि प्रतिबन्धको गतिविधि अमेरिकाबाटै हुने भएकाले त्यसैलाई निशाना बनाइएको स्पष्ट हुन्छ ।

तर नयाँ कानून कसरी लागु गरिन्छ भन्ने कुराले थप स्पष्ट हुने कानूनका ज्ञाताले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार