आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइट हाउसमा स्वागत नगरी फ्लोरिडा उडेका ट्रम्पले ऐतिहासिक संस्कार विधि समेत लत्याएका छन्। राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका छन्।

ह्वाईट हाउसमा पद हस्तान्तरण शुरु हुनु केहि अघि ट्रम्प एयर फोर्स वानमा चढेर फ्लोरिडामा रहेको आफ्नो निजी रिसोर्ट मार ए लागो गए। उनलाई सामान्य विदाई मात्र भयो। विगतमा पार्टीका नेता तथा राष्ट्रपतिले विदाई गर्ने परम्परा भए पछि सो विदाई समारोहमा कोही गएनन्। न्युयोर्कबाट फ्लोरिडामा बसाई सराई गरिसकेका उनले त्यहाँ रहँदा आफ्ना ह्वाइटहाउसका केही सहयोगीहरुलाई पनि व्यक्तिगत कर्मचारीका रुपमा सँगै राख्ने जनाइएको छ।

कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै ट्रम्पले आफ्नो प्रशासनको बचाउ गरेका थिए। ‘अमेरिका कातर आत्माहरूको देश होइन, जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने, ‘हामी सधै संसारका लगि आशा, प्रकाश तथा गौरवको भूमि हौं र भविष्यमा पनि रहिरहनुपछ ।’

आगामी प्रशासनबारे समेत उनले केहि सुझाव दिएका छन्। ‘नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल होस् भन्ने हाम्रो कामना छ,’ उनले भने। आफू निर्वाचित हुनुको उद्देश्य पूर्णरुपमा प्राप्त भएको ट्रम्पको दाबी छ। उनले भने, ‘हामी जे गर्न आएका थियौं त्यो भयो। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनःस्थापित गर्न सफल भयौं।’

सम्बोधनको अन्त्यमा ट्रम्पले आफ्नो आन्दोलन सुरु भएको बताए। ‘जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पदैंछु, म चाहन्छु तपाईंहरूले बुझ्नुहोस की हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ।’

नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी नहुने ट्रम्पमात्र पहिलो राष्ट्रपति भने होइनन्। जोन आडम्स, जोन क्वीन्सी आडम्स र एन्ड्रयु जोन्सन पनि नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी भएका थिएनन्। ट्रम्पलाई जस्तै जोन्सनलाई पनि महाभियोग लगाइएको थियो। गत बुधबार अमेरिकाको प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाइसकेको छ भने सनेटबाट पास हुन बाँकी छ। ट्रम्प अमेरिकी इतिहासमा दुईपटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन्। उनलाई शक्तिको दुरुपयोग गरेको अभियोगमा सन् २०१९ को डिसेम्बरमा प्रतिनिधिसभाबाट महाभियोग लगाइएको थियो। तर उनले सिनेटबाट भने उन्मुक्ति पाएका थिए।

सपथ ग्रहणमा को को सहभागी भए ?

ट्रम्प सहभागी नभएपनि सपथ ग्रहण कार्यक्रममा रिपव्लिकनका सबै बरिष्ठ नेता तथा उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी करेन पेन्स भने सहभागी भए। पूर्वराष्ट्रपतिहरु बराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस पनि सपत्नी सपथग्रहण समारोहमा सहभागी भएका थिए। स्वास्थ्य अवस्थाका कारण ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने सहभागी नहुने सुचना दिएका थिए।

जनवरी ६ मा भएको दंगाफसादपछि बाइडेनको सपथग्रहण समारोहलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। वासिंटन डिसीमा संकटकाल लगाइएको छ भने २० हजार सेना परिचालन गरिएको थियो। सपथग्रहण र त्यसको सेरोफेरोमा सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा शतर्कता अपनाइएको थियो। अमेरिकी ईतिहासमा यस्ता घटना विरलै हुने भन्दै ट्रम्प र उनको योजनामा भएको भनिएको घटनालाई विश्वभरबाट आलोचना भईरहेको छ।

लोकतान्त्रिक व्यवस्था बलियो भए लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको प्रयासहरु त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याउँछ भन्ने कुरा यसपटक अमेरिकी भुमिका पुष्टि भएको छ। यो घटनाको एउटै पाठ छ– लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक कार्यकाल बिगारे पनि सम्पूर्ण राजनीतिक प्रणालीलाई ध्वस्त पार्न सक्दैनन् भन्ने कुरा अमेरिकी घटनाबाट पुष्टि भएको छ।

ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति भए र उनले प्रत्येक वर्ष पाउने दुई लाख डलर निवृत्तिभरण, १० लाख डलर यातायात खर्च र अन्य सुविधा खोसिनेछ। त्यति मात्र होइन, भविष्यमा उनले कहिल्यै सार्वजनिक जिम्मेवारीको पदमा समेत बस्न पाउनेछैनन्। उनले २०२४ मा फेरी राष्ट्रपतिमा उठ्ने योजनामा पनि ठेस पुगेको बताइएको छ।

राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषदलाई अमेरिकी इतिहासकै समावेसी भनिएको छ। जसमा उपराष्ट्रपति कमला ह्यारिससहित १५ वटा विभिन्न कार्यकारी विभागका प्रमुखहरु हुनेछन्।

त्यो बाहेक अन्य केही पदहरु पनि मन्त्रिपरिषद् स्तरका हुन्। कमला हयारिससहितका २६ मन्त्रिपरिषद् स्तरका पदमा १२ जना महिला रहेका छन्। बाइडेनको मन्त्रिपरिषद्मा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार