चीनको सिन्ज्याङ स्वायत्त क्षेत्र हिजोआज पश्चिमी मुलुकहरूको निशानामा पर्ने गरेको छ । त्यहाँका उइगुर मुसलमानहरूलाई चीन सरकारले दमन गर्ने गरेको, अझ अमेरिकाको नजरमा, नरसंहार नै गर्ने गरेको आरोप लगाइएको छ ।

तर यसको वास्तविकता अर्कै रहेको चिनियाँहरू बताउँछन् । चीन सरकारको नीतिका कारण सिन्ज्याङका उइगुर तथा अन्य जातिका मानिसले आर्थिक प्रगति गरिरहेको उनीहरूको तर्क छ ।

यसै विषयलाई स्पष्ट पार्न बार्बेडोसका लागि चिनियाँ राजदूत यान सिउशङले आफ्नो ट्विटर ह्यान्डलमा लामो थ्रेड लेखेका छन् । उनले अंग्रेजीमा लेखेको उक्त थ्रेडलाई यहाँ प्रस्तुत गरिँदैछ ।

सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्र चीनको उत्तरपश्चिममा अवस्थित छ र युरेसियाली महादेशको परिक्षेत्र (हिन्टरल्यान्ड)मा रहेको छ । प्राचीन चीनले विश्वसँग सम्पर्क गर्ने प्रसिद्ध रेशम मार्ग यहाँ नै छ र यहाँ विविध संस्कृतिहरू भेला हुन्थे ।

चीन एकीकृत बहुजातीय मुलुक हो र सिन्ज्याङका विभिन्न जातीय समूहहरू चिनियाँ राष्ट्रका अंग हुन् । लामो इतिहासमा सिन्ज्याङको विकास चीनको विकाससँग निकट रूपमा जोडिएको छ ।

तर हालैका समयमा चीनभित्र र बाहिरका शत्रुशक्तिहरू, विशेषगरी पृथक्तावादीहरू, धार्मिक अतिवादीहरू र आतंकवादीहरूले इतिहास र तथ्यलाई बंग्याएर चीनलाई टुक्य्राउन तथा छिन्नभिन्न पार्न खोज्दैछन् ।

चीनको एक भूभागको अंगका रूपमा सिन्ज्याङमा विभिन्न जातीय समूहहरू सँगै रहेको, विभिन्न संस्कृतिहरूले एकअर्कासँग संवाद गरेको र प्राचीन समयदेखि विभिन्न धर्म सहअस्तित्वका साथ रहेको तथ्यलाई उनीहरू अस्वीकार गर्छन् ।

उनीहरू सिन्ज्याङलाई पूर्वी तुर्किस्तान भन्छन् र स्वतन्त्रताका लागि हल्लाखल्ला गरिरहेका छन् । उनीहरू सिन्ज्याङका जातीय समूहलाई चीनबाट छुट्ट्याउने अनि विविधतापूर्ण तर एकीकृत चिनियाँ संस्कृतिबाट उक्त क्षेत्रका जातीय संस्कृतिलाई छुट्ट्याउन चाहन्छन् ।

इतिहासलाई छेडछाड गर्न मिल्दैन र तथ्यहरू विवादरहित छन् । सिन्ज्याङ लामो समयदेखि चिनियाँ भूभागको अभिन्न अंग हो र यसलाई कहिले पनि पूर्वी तुर्किस्तान भनिएको छैन ।

उइगुर जातीय समूह आप्रवासन तथा अन्तर्घुलनको लामो प्रक्रियामार्फत अस्तित्वमा आएको हो र चिनियाँ राष्ट्रको एक अंग हो । सिन्ज्याङमा विभिन्न संस्कृति तथा धर्महरू सहअस्तित्वमा रहेका छन् र जातीय संस्कृतिहरूलाई चिनियाँ सभ्यताको छत्रछायाँमा विकसित गरिएको छ ।

उइगुर जातिका लागि इस्लाम स्थानीय वा एक मात्र धर्म हैन । यो चिनियाँ संस्कृतिमा आधारित छ र चीनमा राम्रो गरी विकसित भएको छ ।

हान राजवंशदेखि चिङ राजवंशको मध्य तथा अन्त्यसम्म सिन्ज्याङमा रहेका थ्याँशान पहाडहरूको उत्तर र दक्षिणका विशाल परिधिलाई पश्चिमी क्षेत्र भनिन्थ्यो । सिन्ज्याङलाई हान राजवंशको समयमा चिनियाँ भूभागमा औपचारिक रूपमा समावेश गरिएको हो ।

सन् १७६२ मा चिङ राजवंशको सरकारले इली जनरल भन्ने पद स्थापन गरेको थियो र सैन्य तथा राजनीतिक प्रशासनलाई मिलाएर एक संयन्त्र बनाएको थियो । सन् १८८४ मा चिङले एक प्रान्त बनाएर पश्चिमी क्षेत्रलाई सिन्ज्याङ नाम दियो जसको अर्थ हुन्छ भर्खरै फर्काइएका भूभाग ।

सिन्ज्याङले जनगणतन्त्र चीनको संविधानमा व्यवस्था गरिएको धार्मिक आस्थाको स्वतन्त्रतालाई पूर्णतः सम्मान तथा संरक्षण गरेको छ । कुनै पनि धर्ममा आस्था राख्ने वा नराख्ने नागरिकहरूको स्वतन्त्रतालाई सिन्ज्याङले सम्मान गर्छ ।

आस्तिक र नास्तिकहरूबीच, विभिन्न धर्म मान्नेहरूबीच वा कुनै एक धर्मका विभिन्न सम्प्रदाय मान्नेहरूबीचको विवाद हुने कुनै पनि गतिविधिप्रति सिन्ज्याङले शून्य सहनशीलताको नीति अपनाएको छ ।

सन् १९७० को दशकको अन्त्य र १९८० को दशकको आरम्भतिर अनि विशेषगरी शीतयुद्धको अन्त्यपछि संसारभरि धार्मिक अतिवादको उदय हुँदा सिन्ज्याङमा पनि त्यस्तो अतिवाद देखिएको थियो ।

यसले गर्दा आतंक र हिंसाका घटनामा वृद्धि भएको छ जसले गर्दा सामाजिक स्थिरतामा तथा उक्त क्षेत्रमा मानिसको ज्यान र सम्पत्तिमा गम्भीर खतरा उत्पन्न भएको छ ।

धार्मिक अतिवादले आतंक र हिंसा भड्काउँछ तथा विभिन्न जातीय समूहबीच शत्रुता गर्न उक्साउँछ । यो इस्लाम तथा अन्य धर्मले पैरवी गर्ने देशभक्ति, शान्ति, एक्यबद्धता, मध्यममार्ग, सहिष्णुता तथा सुकार्यका शिक्षाको विपरीत छ ।

जातीय पृथक्तावाद तथा आतंकवादको विचारधारात्मक आधार धार्मिक अतिवादले तयार पार्छ र यसको प्रकृति नै मानवविरोधी, समाजविरोधी, सभ्यताविरोधी तथा धर्मविरोधी हो । यो धर्मलाई दिइएको धोका हो र यसलाई धार्मिक मामिला भनी झुक्किन हुँदैन ।

अन्तर्राष्ट्रिय अनुभवबाट पाठ पढेर तथा उक्त क्षेत्रको वास्तविकतालाई दृष्टिगत गर्दै सिन्ज्याङले कानूनबमोजिम आतंकवाद तथा अतिवादविरुद्ध लड्नका लागि दृढ कारवाही गर्ने संकल्प लिएको छ र आतंकवाद तथा हिंसा अनि धार्मिक आतंकवादको विस्तारलाई प्रभावकारी रूपमा दमन गरेको छ ।

यी प्रयासमार्फत जनताले सबै जातीय समूहको सुरक्षाका लागि गरेको अपेक्षालाई सिन्ज्याङले पूरा गरेको छ, आधारभूत मानवअधिकारको संरक्षण गरेको छ तथा उक्त क्षेत्रमा सामाजिक सौहार्द्र तथा स्थिरता कायम गरेको छ ।

आतंकवाद तथा अतिवादविरुद्ध सिन्ज्याङको लडाइँ खराब तथा बर्बर शक्तिविरुद्ध न्याय तथा सभ्यताको लडाइँ हो । यसलाई समर्थन, सम्मान र समझदारीको खाँचो छ ।

सिन्ज्याङले दिगो आर्थिक विकास, सामाजिक स्थिरता, जीवनयापनको थप उच्च गुणस्तर, अभूतपूर्व सांस्कृति समृद्धि, सबै धर्मको सौहार्द्रतापूर्ण सहअस्तित्व तथा सबै जातीय समूहबीचको एक्यबद्धता कायम राखेको छ ।

सिन्ज्याङले विकास र समृद्धिको सबभन्दा उम्दा समयको अनुभव गरिरहेको छ । सिन्ज्याङ उक्त क्षेत्र तथा चीन देशका सबै जातीय समूहको हो । उसले थप राम्रो भविष्य अंगीकार गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार