
अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरि पाँचजनाको हत्या गरेका छन् ।
दुई बालबालिकासहित पाँचजनाको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ । मारिने सबै एकै परिवारका हुन् ।
७० वर्षका डा. रोबर्ट लेस्ली, उनकी श्रीमती ६९ वर्षकी बारबरा लेस्ली नातिनातिनी ९ वर्षकी अदा लेस्ली र पाँच वर्षका नोआ लेस्ली तथा ३८ वर्षका कामदार जेम्स लुइसको आक्रमणमा ज्यान गएको हो ।
नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरुको शव फेला परेको हो ।
राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला आक्रमणको यो घटना भएको हो ।

उनीहरुको बुधबार बेलुका हत्या भएको अधिकारीले बताएका छन् । हत्या गर्ने व्यक्तिको नाम फिलिप एडम्स रहेको प्रहरीले जनाएको छ । उनी पूर्व एनएफएल खेलाडी रहेको पनि प्रहरीले बताएको छ । ३२ वर्षका एडम्सको पनि मृत्यु भएको छ ।
हत्या गरिएका डाक्टरको घर नजिकै एडम्सका अभिभावक बस्ने गरेको र उनी त्यहिँ गएका थिए । प्रहरीले एडम्सलाई बाहिर निकाल्न प्रयास गरिरहेका बेला उनले बेडरुममै आफूमाथि गोली प्रहार गरेका हुन् ।
एडम्सले किन आक्रमण गरे भन्ने खुलेको छैन । डा. लेस्लीले विगतमा एडम्सको उपचार पनि गरेको एक स्थानीयले नाम नबताउने शर्तमा समाचार संस्था एपीसँग बताएका छन् ।








