
चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । बाइडेनको उक्त अभिव्यक्तिको जवाफ दिदैं चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका विषयमा बोल्दा अमेरिकाले शब्द चयनमा सतर्कता अपनाउनुपर्ने बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपतिलाई के तपाईहरु ताइवानको रक्षा गर्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा बाइडेनले भने, ‘हो, हामी यसका लागि प्रतिवद्ध छौं ।’
भर्खरै चीनले परीक्षण गरेको हाइपसोनिक मिसाइलको प्रसङ्ग जोड्दै अमेरिकी न्युज च्यानल सीएनएनको टाउनहल कार्यक्रममा एक सहभागीले बाइडेनलाई चिनियाँ सेनाको सामना कसरी गर्नुहुन्छ भनेर पनि सोधेका थिए । जवाफमा बाइडेनले भने, ‘हो, उनीहरु मजबुत हुँदैछन् । तर यसैलाई लिएर निराश हुनुपर्ने अवस्था छैन । किनकी, चीन, रुस र बाँकी दुनियाँलाई विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हामीसँग छ भन्ने थाहा छ ।’
ताइवानले के भन्यो ?
ताइवानको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कसैको दबाबमा नझुक्ने र कसैको समर्थन मिल्दैमा हतारोमा कुनै कदम नचाल्ने प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपतिका प्रवक्ता जेवियर चेंगले भने, ‘ताइवानले बलियो रुपमा आत्मरक्षा गर्नेछ ।’ बाइडेन प्रशासनले लगातार ताइवानलाई ठोस समर्थन दिइरहेको चेंगले बताए ।







