
अमेरिकी अधिकारीहरूका अनुसार केही साताभित्रै युक्रेनमाथि पूर्ण चरणमा आक्रमण गर्नका लागि रसियाले करिब ७० प्रतिशत सैनिक क्षमता तयार गरिसकेको छ ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरूले फेब्रअुरीको मध्यदेखि जमिन अझै जमेर मजबुत भइसक्ने भएकाले मस्कोले थप गह्रुँगो उपकरणहरू सजिलै ल्याउन सक्ने बताएका छन् । तर, अमेरिकी अधिकारीहरूले आफ्ना ती भनाइ पुष्टि गर्ने प्रमाण भने दिएका छैनन् ।
उनीहरूले गुप्तचर निकायमार्फत त्यस्तो सूचना प्राप्त भएको र संवेदनशिलताका कारण विस्तृत विवरण सार्वजनिक गर्न नसक्ने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।
साथै, उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कदम उठाउने निर्णय गरिसके वा छैनन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको तथा युक्रेनको समस्या समाधान अझै कूटनीतिक तवरबाट पनि हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
आफ्ना नाम गोप्य राख्ने सर्तमा दुईजना अमेरिकी अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन्, “रसियाका लागि उपकरणहरूको ओसारप्रसारका लागि १५ फेब्रुअरीदेखि मार्चको अन्त्यसम्म मौसम अत्यन्तै अनुकूल रहनेछ ।”
प्राप्त खबरअनुसार ती अमेरिकी अधिकारीहरूले रसियाले युक्रेनमा आक्रमण गरेको खण्डमा कम्तीमा ५० हजार सर्वसाधारणको ज्यान जान सक्ने अनुमान गरेका छन् । साथै, लाखौँको संख्यामा युक्रेनीले मुलुक छाड्दा युरोपमा शरणार्थीको समस्या बढ्ने तथा हमला सुरु भएको केही दिनमै राजधानी किभ ध्वस्त हुने उनीहरूले बताएका छन् ।
यसैगरी, युक्रेनलाई थप सुरक्षा प्रदान गर्ने उद्देश्यले सो क्षेत्रमा पश्चिमी सैनिक गठबन्धन नेटोलाई सघाउन थप अमेरिकी फौज पोल्यान्ड आइपुग्दै छ । फौजको पहिलो डफ्फा शनिबार पोल्यान्डको दक्षिण पूर्वमा रहेको जेस्जोमा पुगिसकेको छ । केही दिनअघि अमेरिकी सरकारले पूर्वी युरोपमा झन्डै तीन हजार थप फौज पठाइने जानकारी दिएको थियो । बीबीसीबाट ।
उता अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल मार्क मिल्लीले यदि रुसले युक्रेनमाथि पूर्ण चरणको आक्रमण सुरु गरेको खण्डमा केवल ७२ घन्टाभित्र राजधानी किभमा नियन्त्रण जमाउने जानकारी दिएको बताएका छन् ।







