
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता यथार्थपरक बन्द गएको बताएका छन् । तर वार्ताप्रति आशावादी हुने ठाउँ रहे पनि अझै समय चाहिने उनले जानकारी दिएका हुन् ।
पछिल्लो भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले वार्ता भइरहेको तर ब्रेक–थ्रू सहमतिका लागि समय लाग्ने उल्लेख गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा रुसमाथि विजय प्राप्त गर्नका लागि वार्ता टोलीसहित सबै युक्रेनी नागरिकको एकीकृत प्रयास चाहिने बताए छन् । जारी वार्ता हाल जुम मार्फत भइरहेको पनि उनले जानकारी दिए ।
रुसले जारी वार्तामा युक्रेनले सार्वजनिक रुपमा नै सैन्य गठबन्धन नेटोमा सामेल नहुने घोषणा गर्नु पर्ने माग गरेको छ। यस्तै डोनेट्स्क, लुहान्स्क र क्राइमियालाई औपचारिक रुपमा नै युक्रेनले आफूबाट छुट्टीएका प्रान्तका रुपमा स्वीकार गर्नु पर्ने माग रुसको छ ।
बुधबार पनि वार्ता जारी रहने छ ।युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मंगलबार स्वीकार गरेका थिए कि आफ्नो देश नेटोमा सामेल हुँदैन।
युक्रेनका वार्ताकार मिखाइलो पोडोल्याकले वार्ताको क्रममा विरोधाभासहरु आएका थिए र छन् तर सम्झौताका लागि ठाउँ भने खाली रहेको बताएका छन् ।
युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसले आक्रमण गर्दै आएको छ। रुसको आक्रमणका कारण करिब २८ लाख युक्रेनी देशबाट बिस्थापित भएका छन्।







