उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव यन्स स्टोल्टेनवर्गले रुस–युक्रेन युद्ध वर्षौंसम्म लम्बिन सक्ने चेतावनी दिएका छन्। ब्रसेल्समा नेटो सदस्य मुलुकका विदेशमन्त्रीबीचको बैठकअघि उनले यस्तो बताएका हुन्।

‘सिंगो युक्रेन कब्जा गर्ने राष्ट्रपति पुटिनको आकांक्षमा परिवर्तन आएको कुनै संकेत हामीले देखेका छैनौँ,’ स्टोल्टेनवर्गले भने, ‘त्यसैले हामी दीर्घकालका लागि तयार रहन आवश्यक छ।’

‘हामीले यथार्थलाई नियाल्न जरुरी छ र यो महिनौँ, वर्षौं लम्बिन सक्छ भन्ने कुरा महसुस गर्न जरुरी छ,’ उनले थपे।

युक्रेनको राजधानी किभ कब्जा गर्ने प्रयास छाडेर रुसी सेना अहिले पूर्वी दोनबास क्षेत्रको लडाइँमा केन्द्रित भएको छ। युक्रेनले पश्चिमा मुलुकसँग थप हतियारको माग गरिरहेको छ।

यो युद्धबाट युरोपको सुरक्षामा पनि दीर्घकालीन असर परेको स्टोल्टेनवर्गले बताए।

‘आफ्नो उदेश्य प्राप्त गर्न सैन्य शक्ति प्रयोग गर्ने इच्छा हामीले राष्ट्रपति पुटिनमा देखेका छौँ। यसले वर्षौंसम्मका लागि युरोपको सुरक्षा अवस्थालाई परिवर्तन गरिदिएको छ,’ उनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार