
दक्षिण एशियाका प्रसिद्ध माक्र्सवादी अध्येता एवं प्रोफेसर प्रभात पटनायकले विद्यमान विश्व पुँजीवाद मृत अवस्थामा पुगेको बताएका छन् ।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक पटनायकले अहिलेको विश्व पुँजीवाद लामो प्रणालीगत संकटमा फसेको र अब यो निस्कनैं नसक्ने स्थितिमा रहेको दाबी गरेका छन् ।
प्रोफेसर पटनायकले हालैं नेपालबाट प्रकाशित वामपन्थ त्रैमासिक एक पत्रिकामा लामो अन्तर्वार्ता दिदैं यस्तो दाबी गरेका हुन् ।
‘…….. पुँजीवाद अहिले लामो प्रणालीगत संकटमा फसेको छ । वास्तवमा समकालीन वैश्विक अवस्थाको प्रमाणिक विशेषता भनेको पुँजीवादको नवउदारवादी चरणले नेटो काटिसकेको र यो प्रणालीको लागि अगाडि बढ्ने कुनैं स्पष्ट मार्ग नभएको अवस्था हो ।’ पटनायकले अन्तर्वार्तामा भनेका छन्, ‘यो संकटको अवस्थाले नैं नवउदारवादलाई नव फासीवादसँगको गठबन्धनमा प्रवेश गराउँछ, जुन विश्वभर अवलोकन गर्न सकिने तथ्य या परिघटना हो ।’
सन् १९३० मा आएको पुँजीवादी संकटले जसरी फासिवादको बाटो लिएर केही समय टिक्ने बाटो भेटाएपनि अहिलेको पुँजीवादले संकट समाधानको कुनैं बाटो फेला नपारेको प्रोफेसर पटनायको दाबी छ ।

‘सन् १९३० को फासिवादको विपरित आजको नव फासिवादले वर्तमान पुँजीवादी संकटबाट बाहिर निस्किने कुनैं सञ्जीबनी बुटी दिन सक्दैन, किनभने यस संकटबाट पार पाउनका लागि वित्तीय माध्यमबाट राज्यको हस्तक्षेप चाहिन्छ ।’ उनले अन्तर्वार्तामा भनेका छन् ।
‘अहिलेको पुँजीवादी संकट अब न फासिवादको रुपमा हल हुन सक्छ नत अरु कुनैं सिद्धान्तको बाटो लिएर हुनसक्छ ।’ प्रोफेसर पटनायककाअनुसार ७०,८० को दशकमा आएको पुँजीवादी संकटलाई रोक्न नवउदारवादी नीति आएको र यो पनि असफल भएपछि अहिलेको पुँजीवाद मृत अवस्थामा पुगेको हो ।
उनी अन्तर्वार्तामा भन्छन्, ‘यसले के बताउँछ भने नवउदारवादी नवफासिवादी गठबन्धनले पुँजीवादको संकटलाई आजका दिनमा पार गर्नेछैन, जस्तो पहिलेको फासिवादले सन् १९३० को दशकको महामन्दीलाई गरेको थियो ।’
दक्षिण एशियाका एक प्रसिद्ध वामपन्थी अध्येता प्रभात पटनायकले विश्व पुँजीवादमा आएको संकटले दक्षिण एशियामा पनि ठूलो असर पर्न थालेको बताएका छन् । उनकाअनुसार हालैं श्रीलंका, पाकिस्तान र बंगलादेशलगायत देशमा आएको संकट, त्यसैको परिणाम थियो ।







