
दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल अप्रिल २६ मा अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिका र कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् । भ्रमणको मुखैमा अमेरिकी गुप्तचरहरूले यहाँको सरकारको जासुसी ‘वायरट्यापिङ’ गरेको खुलेपछि कोरियाली राष्ट्रपति दबाबमा छन् ।
कोरियाली प्रमुख प्रतिपक्ष दल एक महिनाअघि राष्ट्रपतिले जापानको भ्रमण गरेर आएदेखि नै आन्दोलनमा छ । जनताले पनि राष्ट्रपतिको जापान भ्रमणमा भएका विभिन्न सम्झौता मन नपराएकोले लाखौं जनता सडकमा आएकोले देखाउँछ । यहाँ राष्ट्रपतिको काम कस्तो भएको छ भनेर ‘रेटिङ’ गर्ने चलन छ । प्रत्येक महिना उनको रेटिङ घटेको घट्यै छ । त्यसैले उनी जापान भ्रमणलाई सकारात्मक भनेर आफ्नो बचाउ गरिरहेका छन् । यस्तैमा अमेरिकी गुप्तचरले वायर ट्यापिङ गरेको जानकारी लिक भएपछि उनी थप दबाबमा परेका छन् ।
न्युयोर्क टाइम्स र अन्य पश्चिमी मिडिया रिपोर्टहरूमा लिक भएको जानकारीअनुसार कोरियाली सरकारले युक्रेनमा अमेरिकालाई विभिन्न हतियारका लागि सहयोग नदिने गरेको आन्तरिक निर्णयलाई वायरट्यापिङ गरेको भनिएको छ ।
पूर्वराष्ट्रपतिका विदेश मामिला प्रमुख ली मुन–हीले कोरियाली राष्ट्रिय सुरक्षाका पूर्वनिर्देशक किम सुङ–हानलाई युक्रेनमा के कस्तो सहयोग गर्ने भन्ने सरकारी निर्णय नभएसम्म कोरियाली राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीचमा फोनमा केही बोलिहाल्न नमिल्ने बताएको रिपोर्टमा छ ।
लीले अमेरिकी दबाबमा सोलले घातक हतियार युक्रेनलाई प्रदान नगर्ने आफ्नै अडानविरुद्ध जान नसकिने बताएका थिए । यदि सहयोग गर्ने परे विकल्प भनेको कोरियाली राष्ट्रपति यून अमेरिका भ्रमण जाँदा र हतियार किनबेचको सम्झौता गरेर सहयोग गर्न सकिने सल्लाह दिएको रिपोर्टमा छ ।







