
रुसी सेनाले आफ्ना देशका युवाहरूलाई युक्रेनविरुद्धको युद्धमा होमिन उक्साएको छ ।
सेनाले एउटा भिडियोसहितको सरकारी विज्ञापन सार्वजनिक गरेको छ, जहाँ बहादुर व्यक्तिहरूलाई मात्र सेनामा भर्ती हुन आह्वान गरिएको छ ।
विज्ञापनमा रुसी युवाहरूलाई सम्बोधन गर्दै भनिएको छ,‘तिमीहरू साँच्चैका मर्द हौं भने सेनामा भर्ती हुन आउनू ।’
रोयटर्सका अनुसार यतिबेला रुसले चार लाख नयाँ सेना भर्तीको आह्वान गरेको छ । एक वर्षयता रुसले आक्रमण गरिरहँदा पनि युक्रेन रुसी सेनाको नियन्त्रणमा पुग्न सकेको छैन ।
युद्धका क्रममा रुसका ४३ हजार सेनाहरू मारिएका छन् भने युक्रेनका १७ हजार ५ सय सेना मारिएका छन् ।
अमेरिका र पश्चिमा राष्ट्रले शक्तिशाली हतियारहरू सहयोग गरिरहँदा युक्रेनले रुसका सेनालाई विभिन्न क्षेत्रमा विफल बनाएको अवस्था छ ।
रुसी सेनाले आफ्नो विज्ञापनमा सेनामा भर्ती हुने व्यक्तिहरूलाई महिनाको २४ सय ९५ अमेरिकी डलर तलब दिने पनि बताएको छ ।
यतिबेला सेनामा युवालाई आकर्षित गर्न रुसका विभिन्न ठाउँमा चटक्क परेका सेनाहरू आर्मी पोशाकमा देख्न सकिन्छ । उनीहरूले मेसिनगनजस्ता हतियार पनि बोकेका छन् ।







