
बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभले ठूलो हार बेहोरेको छ । इंग्ल्याण्डका २ सय ३० काउन्सिलअन्तर्गत करिब ८ हजार स्थानमा नयाँ काउन्सिलर निर्वाचित भएका छन् ।
यसमध्ये सत्तारुढ कन्जरभेटिभ (टोरी) ले ४८ काउन्सिल र एक हजार ६१ काउन्सिलर गुमाउनु परेको छ ।कञ्जरभेटिभले गुमाएका स्थानमा प्रतिपक्ष लेबरले ५३६ काउन्सिलर र २२ काउन्सिल तथा लिबरल डेमोक्र्याटले १२ काउन्सिल र ४०५ काउन्सिलर जितेका छन् । ग्रीन पार्टीले करिब २५० काउन्सिलर जितेको छ ।
हालसम्म प्राप्त विवरण अनुसार बिहीबार सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका आधा दर्जन बढी नेपाली मूलका उम्मेदवारमध्ये केहीले विजय हासिल गर्दा अन्य भने असफल भएका छन् ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटको वेलिङटन वडामा लेबर पार्टीबाट धनबहादुर सार्की काउन्सिलर निर्वाचित भएका छन् । यसअघि कञ्जरभेटिभ पार्टीले जितेको उक्त क्षेत्रमा पहिलोपटक लेबर पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी विजयी भएका हुन् ।
सार्कीले ६ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कञ्जरभेटिभ पार्टी उम्मेदवारले ४ सय १४ मत पाएकी छन् ।

त्यस्तै, मेडस्टोनस्थित केन्टको काउन्टी टाउन हाइस्ट्रिट वार्डका उम्मेदवार दिनेश खड्का पुनः काउन्सिलर निर्वाचित भएका छन् । लिबेरल डमोक्रयाट पार्टीका उम्मेदवार उनी यसअघि पनि एक कार्यकाल सो क्षेत्रका काउन्सिलर थिए।
खड्काले ६ सय ४१ मत प्राप्त गरेर जीत हासिल गरे भने उनका निकट प्रतिस्पर्धी लेबरका डेभिड कोलियरले ४०१ मत पाएका थिए । सत्तारुढ कन्जरभेटिभ पार्टीले मेडस्टोन बरोमा आफ्नो बहुमत गुमाएको छ ।
खड्काले पहिलो चार वर्षे कार्यकालमा स्थानीयसँग निकट रहेर काम गरेको बताए । ‘मैले काउन्सिलरका रुपमा स्थानीय फोहोर संकलन, पार्क र बगैंचा, लिजर तथा हाउजिङ लगायत स्थानीय नीति निर्माण बहसमा धेरैपटक भाग लिएँ । स्थानीयसँग नजिक भएर काम गरेका कारणले पनि मलाई स्थानीय मतदाताले मलाई पुनः विजयी बनाएको मैले ठानेको छु,’ उनले भने ।
त्यसैगरी, हर्टफोर्डशायरको ह्यामल ह्याम्पस्टिड डिस्ट्रिक्टअन्तर्गत डेकोरम बरो काउन्सिलको ग्रोभ हिल वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार गोवर्द्धन सिलवाल (सागर) निर्वाचित भएका छन् ।
जम्मा ६ सय ६ मत ल्याउँदै सिलवाल लगातार तेस्रो पटक उक्त क्षेत्रको काउन्सिलर निर्वाचित भएका हुन् । सन् २०१५ मा पहिलोपटक काउन्सिलर जितेका उनी सन् २०१९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
मेडवे केन्ट काउन्सिलमा नेपालीमूलकी नीना गुरुङले काउन्सिलरमा विजय हासिल गरेकी छन् । चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार रहेकी नीनाले १ हजार २११ मत पाइन् । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् ।
अल्डरसटमा कञ्जरभेटिभ पार्टीबाट काउन्सिलरको चुनाव लडेकी सुमन पुन आफ्नो दोस्रो प्रयासमा पनि सफल हुन सकिनन् । सुमनले ४ सय ७० मत प्राप्त गर्दा विजयी लेबर उम्मेदवारको ९ सय ९४ मत आएको छ ।
बेजिङस्टोकमा लेबर पार्टीको पकड रहेको ब्राइटन हिल वडामा कञ्जरभेटिभ पार्टीबाट दोस्रोपटक चुनाव लडेकी पुनम गुरुङले पनि सफलता पाउन सकिनन् । विजयी लेबर उम्मेदवारले ८ सय ६८ मत पाउँदा पुनमको ३ सय ५ मत आएको छ ।
वाटफोर्डको होलिवेल वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार सञ्जय पन्त पनि निर्वाचित हुन सकेनन् । ९ सय ४९ मतसहित लेबर उम्मेदवारले जित्दा पन्तले ४ सय २६ मतसहित दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।
रेडिङको पार्क वडामा लेबर पार्टीबाट पहिलोपटक काउन्सिलरको टिकट पाएका रामबहादुर गलामी पनि चुनावी नतिजामा पछि परेका छन् । १ हजार ५ सय ३६ र १ हजार ४ सय ८ मत ल्याउने ग्रीन पार्टीका दुई उम्मेदवार विजयी बन्दा १ हजार ८७ मतसहित तेस्रो स्थानमा आएका गलामी निर्वाचित हुनबाट वञ्चित भए ।
त्यसैगरी, वकिङ काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका मेजर रिटायर्ड चित्रबहादुर राना पनि पराजित भए ।







