के सिरिया अर्को अफगानिस्तान बन्छ ? देशको पछिल्लो अवस्थाले यही दिशातिर औँल्याइरहेको छ । सिरियामा असद परिवारको करिब ५ दशक लामो शासनको अन्त्य भएको छ  । सन् २०११ मा असद सरकार विरुद्ध विद्रोह सुरु भएको थियो । शुरुमा शान्तिपूर्ण विरोधलाई दबाउन बसर अल–असदको सरकारले अपनाएको तरिकाबाट मानिसहरू आक्रोशित भए र त्यसपछि सिरियामा गृहयुद्ध सुरु भयो ।

पश्चिम एसियाको अफगानिस्तान सिरिया बन्छ ?

यस गृहयुद्धमा विद्रोही समूहहरूसँगै धेरै ठूला खेलाडीहरू पनि संलग्न छन्, जसले विभिन्न पक्षहरूलाई समर्थन गर्दै आएका छन्, तर के असद सरकारको पतनसँगै सिरियामा सबै ठीक हुनेछ ? विद्रोही समूहको शासनले सिरियामा सबैका लागि समृद्धि ल्याउनेछ वा अफगानिस्तानजस्तै सिरियामा पनि नयाँ द्वन्द्वको सुरुवात गर्छ ? वास्तवमा रुस र इरान आ–आफ्नो मामिलामा अल्झिएकाले सिरियाको पछिल्लो अवस्था सम्भव भएको हो ।

एकातिर रुस ३३ महिनादेखि युक्रेनविरुद्ध युद्ध लडिरहेको छ भने अर्कोतर्फ इरानका प्रोक्सी गुटहरू साबित भइरहेका छन् । विशेष गरी सिरियामा सहयोगी हुने हिजबुल्लाह कमजोर भएको छ । तर, के रुस र इरानले सिरियालाई यति सजिलै विद्रोहीको हातमा पर्न दिन्छ ? के यी दुईले मौका पाएमा असद परिवारलाई पुर्नस्थापित गर्ने प्रयास गर्नेछन् ? यस्ता धेरै प्रश्न छन् जसको उत्तर अहिले पाउन गाह्रो छ । तर, विगत केही दशकदेखि सिरियामा भइरहेको द्वन्द्वलाई हेर्दा अफगानिस्तानको गृहयुद्ध र तालिबानको पुनरागमनको सम्झना दिमागमा ताजैं हुन्छ ।

अफगानिस्तानमा के भयो ?

सन् १९७८ देखि १९८९ सम्म अफगानिस्तानमा सोभियत–अफगान युद्ध भएको थियो, जसमा अमेरिका, बेलायत, साउदी र चीनको समर्थनमा अफगान मुजाहिदीन विजयी भएका थिए । तर अफगान मुजाहिदीनलाई दिइएको शक्ति लामो समय टिक्न सकेन । अफगानिस्तानमा चाँडै गृहयुद्ध सुरु भयो, मुजाहिद्दीनहरु सत्ताका लागि आपसमा लड्न थाले । यो त्यही समय थियो जब अफगानिस्तानमा तालिवानको प्रभाव बढेको थियो । सेप्टेम्बर १९९५ मा तालिबानले इरानको सीमामा रहेको हेरात प्रान्त कब्जा गर्यो र केवल एक वर्षमा काबुललाई नियन्त्रण गर्न सफल भयो ।

अफगानिस्तानका जनता अफगान मुजाहिद्दीनको अत्याचारबाट दिक्क भएका थिए, त्यसैले सुरुमा अफगानहरूले तालिबानलाई खुल्ला हातले स्वागत गरे । तालिबान शासनको शुरुवात पनि निकै राम्रो थियो, भ्रष्टाचारमा लगाम लगाउनुका साथै अराजकताको अवस्था सुधार्ने, व्यापारिक पूर्वाधार र सुविधा उपलब्ध गराउने, सडक निर्माण गर्नेलगायतका धेरै विकास कार्यका कारण तालिबान शासन रुचाइएको थियो । तर बिस्तारै तालिबानले आफ्नो वास्तविक रंग देखाउन थाल्यो, महिलाका सम्बन्धमा कडा आदेश, हत्या र बलात्कारका दोषीलाई सार्वजनिक रूपमा सजाय दिने शरिया कानूनको विधिले मानिसहरूमा त्रास फैलाएको थियो ।
तालिबान शासनमा सबैभन्दा ठूलो दाग सन् २००१ मा आयो, जब उसले अन्तर्राष्ट्रिय विरोधको बाबजुद बामियानमा रहेको बुद्धको मूर्तिलाई ध्वस्त पारेको थियो । सोही वर्ष, सेप्टेम्बर ११, २००१ मा अमेरिकाको न्यूयोर्कमा विश्वको सबैभन्दा अग्लो भवन मध्येको एक वल्र्ड ट्रेड सेन्टरमा आक्रमण भयो । आक्रमणका मुख्य अभियुक्त ओसामा बिन लादेन र अलकायदा लडाकुहरूलाई तालिवानले संरक्षण गरेको आरोप लगाउँदै अमेरिकाले अफगानिस्तानमा सैन्य कारबाही सुरु ग¥यो र वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा तालिबानलाई सत्ताबाट हटायो ।

संसारको सबैभन्दा शक्तिशाली सेनाको उपस्थितिको बावजुद तालिबान लडाकुहरूले हार मानेनन्, तिनीहरूले अमेरिकी सेना र काबुलमा नाटो शिविरमा धेरै आक्रमणहरू गरे । अफगानिस्तानमा तालिबान र अमेरिकाबीच झण्डै दुई दशकसम्म द्वन्द्व जारी रह्यो । सन् २०१३ मा तालिबानले कतारमा आफ्नो कार्यालय खोलेको थियो र ठीक ७ वर्षपछि २०२० मा कतारको मध्यस्थतामा अमेरिका र तालिबानबीच सम्झौता भएको थियो ।

यस सम्झौता पछि तालिबान लडाकुहरूले अफगानिस्तान कब्जा गर्न फेरि आक्रमणलाई तिब्र बनाए ।, यसै बीच अप्रिल २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे । बाइडेनको घोषणापछि तालिबान लडाकुहरूले अफगानिस्तानका क्षेत्रहरूमा द्रुत रूपमा आफ्नो नियन्त्रण हासिल गरे । अन्ततः, अगस्ट १५, २०२१ मा तालिबान लडाकुहरूले फेरि काबुल कब्जा गरे । झण्डै २ दशकको पर्खाइपछि अफगानिस्तानमा तालिबान सत्तामा फर्कियो । अहिले पनि तालिबान शासन पहिलेजस्तै निर्मम देखिन्छ । नमाजको समयमा महिलाले चर्को स्वरमा बोल्ने, १२ वर्षभन्दा माथिका केटीहरूलाई विद्यालय र विश्वविद्यालयमा नजान दिने धेरै आदेशहरू छन् । अर्थात्, समग्रमा अफगानिस्तान फेरि दुई दशक पुरानो युगमा फर्किएको देखिन्छ ।

सिरियामा के हुन्छ अब ?

सिरियाको अवस्था पनि अफगानिस्तानको जस्तै हुने देखिन्छ । सन् १९४६ मा स्वतन्त्रता प्राप्त गरेदेखि नै पश्चिम एसियाको यो इस्लामिक राष्ट्र राजनीतिक अस्थिरतासँग संघर्ष गरिरहेको छ । स्वतन्त्रताको झण्डै साढे दुई दशकपछि सन् १९७१ मा सिरियामा हाफिज अल असदले सत्ता हातमा लिए । यसपछि असद परिवारले करिब ५३ वर्षसम्म सिरियामा आफ्नो नियन्त्रण कायम राख्यो, तर विपक्षीहरूमाथिको कठोर शासन र दमनकारी मनोवृत्तिले सिरियालाई लामो समय गृहयुद्धको आगोमा धकेल्यो ।

सिरियामा झण्डै तीन दशक शासन गरेपछि सन् २००० मा हाफिज अल असदको मृत्यु भएको थियो । असद परिवारका कान्छो छोरा बसर अल–असद बिना चुनाव सिरियाको अर्को राष्ट्रपतिमा निर्वाचित भए । उनका बुबाले पनि आफ्नो शासनकालमा निष्पक्ष चुनाव गराउनबाट पन्छिए र विपक्षीहरूलाई दमन गरे । तर बशर अल–असद पेशाले डाक्टर थिए, जब ३४ वर्षीय असद लन्डनमा पढाइ सकेर फर्किए र राष्ट्रपति बने, तब मानिसहरूले उनको बुबाको शासनका कारण केही सुधारको अपेक्षा गरेका थिए ।

राष्ट्रपतिको रूपमा बसर अल–असदले राजनीतिक सुधार र प्रेस स्वतन्त्रताको वाचा गरेर जनताको अपेक्षा बढाए, तर यो सबै बयानमा मात्र सीमित रह्यो । सन् २००१ मा सिरियाली सुरक्षा बलहरूले विपक्षीहरूलाई कुचल्नका लागि फेरि दमनको बाटो अपनाए, यस अवधिमा देशमा आर्थिक सुधारहरू असद परिवारलाई मात्र फाइदा पु¥याउनका लागि भएको आरोप पनि लगाइन्छ ।

सिरियामा एक दशकको शासनकालमा बसर अल असद सरकारलाई निरंकुशताको आरोप लाग्न थाल्यो । विपक्षीहरूको गिरफ्तारी र शान्तिपूर्ण प्रदर्शनको कडा दमनसहित सरकारका कार्यहरूविरुद्ध ठूलो मात्रामा विद्रोह विकास हुन थाल्यो । सन् २०११ मा सुरु भएको विद्रोहले विस्तारै गृहयुद्धको रूप लियो, जसमा सिरियामा अमेरिका, रुस, इरान र टर्की जस्ता देशको हस्तक्षेप देखिन थाल्यो । इरान र रुसले असद परिवारको शासन कायम राख्न सहयोग गरिरहेको बेला अमेरिका र टर्कीले विभिन्न विद्रोही समूहलाई समर्थन गरिरहेका थिए । तर, २०१६ मा रुसले सिरियाको अलेप्पो सहरमा गरेको भीषण बमबारीका कारण विद्रोही समूह सफल हुन सकेनन् ।

अन्ततः, २०२० मा रूस, सिरियाली सरकार र विद्रोही समूहहरू बीच युद्धविराम सम्बन्धी सम्झौता भयो । यसपछि करिब ४ वर्षसम्म सिरियामा पर्याप्त शान्ति थियो तर विद्रोही समूहले यस अवधिमा आफूलाई बलियो बनायो । अनि रुस र इरान आ–आफ्ना मुद्दामा व्यस्त हुँदा असद सरकारविरुद्ध विद्रोहीहरुले कारबाही गर्ने समय रोजे । यो विद्रोहमा टर्कीको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको बताइन्छ, टर्कीको समर्थनपछि मात्र विद्रोहीले असद सरकारलाई हटाउने कारबाही सुरु गरेको बताइएको छ ।

अलकायदा छोडेको एचटीएस अब कुन बाटोमा ?

अहिले सिरियाको राजधानी दमास्कसलगायत सबै ठूला सहर हयात तहरीर अल–शामको नेतृत्वमा रहेको विद्रोही समूहको नियन्त्रणमा छ । यो त्यही समूह हो जसलाई सन् २०१६ सम्म सिरियामा अलकायदाको छाया मानिन्थ्यो । सन् २०१६ मा संगठनका नेता अबु मोहम्मद अल–जुलानीले अल–कायदासँग सम्बन्ध तोडेर आफूलाई आधुनिक–उदारवादीको रूपमा प्रस्तुत गर्न थाले । असद शासनलाई हटाएपछि यो समूहले महिलाहरूमा कुनै पनि पोशाकको कोड लागू नगर्ने र सिरियाका सबै समुदायहरूको व्यक्तिगत स्वतन्त्रताको ग्यारेन्टी गर्ने वाचा गरेको छ ।

बेलायत र अमेरिकाले यस संगठनलाई आतंकवादी सूचीबाट हटाउने विचार गरिरहेको छ । यस्तो अवस्थामा सिरियाको अवस्था साँच्चै परिवर्तन हुँदैछ कि भन्ने प्रश्न उठेको छ । के हयात तहरीर अल–शाम (एच टी एस) ले असद शासनको अन्त्य पछि देशमा उदार शासन लागू गर्न सक्षम होला ? वा टर्की र अमेरिकाजस्ता शक्तिहरूको हातको कठपुतली नै रहला ?

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार