“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन्,यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तानिन्छ पूरै जाल खुल्दछ ।” – माओ
नेपालको कम्युनिस्ट आन्दोलनमा माओवादी धाराभित्र संश्लेषण गरिएको ‘एकीकृत जनक्रान्ति’ विकसित पछिल्लो क्रान्तिकारी कार्यदिशा हो । ‘एकीकृत जनक्रान्ति’ महान् जनयुद्धका प्रतिबद्धतालाई आत्मसात गर्दै मालेमावादी अन्तर्वस्तुमा आधारित र विकसित क्रान्तिको नयाँ कार्यदिशा हो । यो कार्यदिशा २१ औं शताब्दीमा विकास भएको विश्व राजनीति र नेपाली अर्थ–राजनीतिका मौलिक विशेषताहरूका आधारमा वस्तुवादी र वैज्ञानिक छ ।
कार्ल माक्र्स र एङ्गेल्सले सन् १८४८ मा अन्तर्राष्ट्रिय ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशन गर्दा भनेका थिए, ‘आज युरोपमा एउटा भूतले तर्साइरहेको छ, त्यो हो– साम्यवादको भूत ।’ आज ‘एकीकृत जनक्रान्ति’ केहीलाई त्यस्तै भूत भइरहेको छ । पृथ्वी गोलो छ भन्दा ग्यालिलियोले हेमलक विष पिउनुपरेको थियो । माक्र्स र एङ्गेल्सले कम्युनिज्मको सिद्धान्त ल्याउँदा धेरै मान्छेहरूले हाँसो मजाकका रूपमा उडाएका थिए ।
एकीकृत जनक्रान्ति सयौं भुत्ते कर्दभन्दा एउटै धारलो चक्कु प्रभावकारी हुन्छ भन्ने मान्यतामा आधारित छ । माओको “वर्ग सङ्घर्षलाई मुख्य कडी बनाऊ, राजनीतिलाई अगाडि राख” भन्ने भनाइले पनि यसको पुष्टि गर्दछ । लेनिन भन्नुहुन्छ– “जारलाई निकालेर फाल्न कुनै गा¥हो थिएन, त्यसका लागि केही दिनको जरुरत थियो । जमिनदारलाई निकालेर फाल्न पनि धेरै कठिन थिए, यस कामका लागि केही महिनामा पूरा गरियो । पुँजीपतिहरूलाई निकाल्न पनि धेरै कठिन भएन तर वर्गलाई समाप्त पार्न अतुलनीय रूपमा अति कठिन काम हो ।” यो कठिन कार्यभार पूरा गर्न एकीकृत जनक्रान्ति सक्षम छ ।
राजनीतिक रूपले नेपाली जनताको प्रधान अन्तरविरोध दलाल पुँजीवादसँग भएजस्तै क्रान्तिकारी संस्कृतिकर्मीहरूको प्रधान अन्तरविरोध पनि दलाल पुँजीवादी संस्कृतिसितै छ । हाम्रो प्रहारको निशाना पनि त्यही हो । कला साहित्यको क्षेत्रमा माक्र्सवाद–लेनिनवाद–माओवाद आत्मसात गरी सिर्जनात्मक रूपमा प्रयोगमा ल्याउन आवश्यक छ । राष्ट्रिय, जनवादी तथा वैज्ञानिक संस्कृतिको पक्षपोषण गर्दै सिर्जनात्मक रूपमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको आधारमा वैज्ञानिक संस्कृतिको पक्षमा प्रचारात्मक तथा क्रियात्मक आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ । सांस्कृतिक मूल्यबोधलाई ऐतिहासिक द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, जनताको जनवाद र साम्यवादको उदात्त आदर्शसित जोडेर विकास गर्नुपर्दछ । सांस्कृतिक आदर्शलाई केन्द्रमा राख्दै मुक्तिका निम्ति जीवनको उत्सर्ग गर्ने सहिदहरू, बेपत्ता योद्धाहरू र घाइते अपाङ्गका त्याग, वीरता र बलिदानका उत्कृष्ट कीर्तिमान सांस्कृतिक आदर्शले ज्ञान, सिर्जना, शिल्प, चिन्तन र जीवनशैलीमा प्रगति र स्तरीकरणको पहलकदमी बढाउनुपर्दछ ।
दुनियाँ बुझ्ने मात्र होइन, मुख्यतः बदल्ने कुरामा जोड दिदै आफ्ना सिर्जनात्मक कामलाई अघि बढाउनु पर्दछ । राज्यसत्ता स्थापना गर्न बल प्रयोग अनिवार्य भएजस्तै सांस्कृतिक आन्दोलनका खास खास मुद्दा र परिस्थितिमा बल प्रयोग अनिवार्य हुन्छ । माओवादीले धर्म र संस्कृतिका विषयका सबै क्षेत्रमा बल प्रयोग गर्न चाहेको भए जनकपुरको जानकी मन्दिर, प्युठानको स्वर्गद्वारीदेखि पशुपतिनाथको मन्दिरसम्म खरानी पार्न कसैले रोक्न सक्ने थिएनन् । उसले देशभरिका पण्डित, पुरोहित, लामा, गुरौ, पण्डा, सन्त, जोगी सबैलाई ब्यारेकभित्र कैद गर्न वा निषेध गर्न सक्तथ्यो तर त्यसो गरेको थिएन । विद्रोहद्वारा स्थापित मूल्यहरू समग्र समाजको संस्कार बन्नका लागि निश्चित समय र प्रयत्नको आवश्यकता पर्दछ तर जनयुद्धले स्थापित गरेका मूल्यहरू संस्कारगत चरणमा प्रवेश नगर्दै प्रतिक्रान्ति भए । यसबाट एकीकृत जनक्रान्ति पक्षधर संस्कृतिकर्मीहरूले महत्वपूर्ण शिक्षा लिन आवश्यक छ ।
नेपाली समाज नयाँ जनवादी क्रान्तिको चरणबाट गुज्रिरहेको छ । त्यसैले नेपाल नयाँ जनवादी संस्कृति निर्माणको चरणमा छ । जीवनप्रति आशावाद, श्रमप्रति निष्ठा, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अवलम्बन पार्टी प्रतिबद्धता जनसेवाको भावना, समाजवादी मानवतावादको अनुशरण पुँजीवादी चेतना र व्यवहारका विरूद्ध दृढ सङ्घर्ष, देशभक्तिको भावना, अन्तर्राष्ट्रिय भाइचारा, जीवनमुखी चिन्तन आदि नयाँ जनवादी संस्कृतिका पक्षहरू हुन् । यसले अन्धविश्वास, रुढीवाद, पुरोहितवाद सबैको विरोध गर्दछ । भौतिक चिन्तन र विचार यसको दृष्टिकोण निर्माणको आधार हुने गर्छ ।
माओवादीहरूका लागि केही मुख्य ऐतिहासिक तथा महान् पर्वहरू रहेका छन् ः (क) फागुन १ (ख) सहिद सप्ताह (फागुन १४ – फागुन २१), दिलबहादुर रम्तेलदेखि वीरेन राजवंशी सहित सुखानीसम्म । (ग) चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस (अनेकोट सामूहिक हत्याकाण्ड ।) (घ) जेठ १३ सांस्कृतिक बलिदान दिवस – कृष्ण सेन इच्छुकको बलिदान भएको दिन । २०५६ भदौ ८ गते रोल्पाको भावाङमा ११ जना संस्कृतिकर्मीका सामूहिक हत्या भएको दिन । विभिन्न मोर्चाहरू, विभिन्न महत्वपूर्ण नेताको कार्यक्षेत्र, जन्म, बलिदानसित जोडिएका क्षेत्रहरू आदि । पार्टी स्थापना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवस लगायतका दिवसहरूलाई हामीले चाडका रूपमा नै मनाउनुपर्दछ ।
साम्राज्यवाद, दलाल पुँजीवाद, उपभोक्तावाद, उत्तरआधुनिकतावादको दार्शनिक शृंखलाले नेपाली समाजलाई जुन ढङ्गले शोषण उत्पीडन विविध आयामले गरिरहेको छ, नयाँ प्रकारको गरिबी, नयाँ प्रकारको वर्गीय खाडल, नयाँ खालको उत्पीडन र लुट जो मच्चाइरहेको छ, त्यसको भण्डाफोर गर्नु, त्यो कुरा जनतालाई सिर्जनाका माध्यमबाट देखाइदिनु एकीकृत जनक्रान्ति पक्षधर संस्कृतिकर्मीहरूको मुख्य कार्यभार हो । नेपाली समाजमा अहिले पनि सामन्तवादका काफी अवशेषहरू बाँकी छन् । त्यो सामन्तवादी अवशेषका विरुद्धमा जनतालाई अपिल गर्नु त्यो चेतनालाई परिवर्तन गरेर प्रगतिशिलीकरण गर्न आफ्ना सिर्जनाहरूलाई केन्द्रित गर्नु एकीकृत जनक्रान्ति पक्षधर संस्कृतिकर्मीहरूको अभिभारा हो ।

लेखक
नेपाली समाजमा एक जाति, एक भाषा, एक संस्कृतिको दुईतिन सय वर्षको नीतिले नेपालमा रहेका उत्पीडित, जाति, भाषा, संस्कृति, लिङ्गले आन्तरिक राष्ट्रियतालाई मजबुत पार्नका निम्ति नेपाली समाजमा रहेका सबै उत्पीडित समुदाय वर्ग, लिङ्ग, जाति, भाषा, संस्कृतिलाई उनीहरूलाई अधिकार सम्पन्न बनाएर राष्ट्रलाई नै एकढिक्का पारेर दलाल पुँजीवाद र साम्राज्यवादसँग लड्नु एकीकृत जनक्रान्ति पक्षधर संस्कृतिकर्मीहरूको दायित्व बनेको छ । लेखक तथा साहित्यकार आहुतिले भनेजस्तै नेपाली सांस्कृतिक सुन्दरता, नेपालको सौन्दर्यमूल्य, नेपालको सौन्दर्यदृष्टि, विविधता भित्रबाट नेपालको सौन्दर्य मूल्य र सौन्दर्य दृष्टिको पुनर्परिभाषित गरेर सिर्जनामा प्रयोग गर्नुपर्छ । अलिकति कालो रङको हुनुहुन्छ भने ब्चभ थयग क्ष्लमष्बल रु ःबमजभकजष् रु भनेर सोधिहाल्छ । नेपाली भनेको गहुँगोरो खालको हुन्छ भन्ने प¥यो । यहाँ रंङशास्त्रमा पनि राजनीति भयो । बहुसामुदायिक, बहुआयामिक र वंशाणुगत रूपले समेत बहुसभ्यताको मिलन भएको सङ्गमस्थल हो । त्यो परिचय बनाउनु पनि सांस्कृतिक आन्दोलनको मुख्य अभिभाराभित्र पर्छ ।
मानव समाजमा हुने सबै प्रकारका शोषण उत्पीडनका विरुद्ध र मानवजातिलाई समाजवादतिर लगेर मात्रै र समाजवादी व्यवस्था हुँदै वर्गलाई नै अन्त्य गर्नेतिर गएर मात्रै सम्पूर्ण मानव जातिको मुक्ति सम्भव छ भन्ने समाजवादी लक्ष्यतिर आकर्षित गर्नु, त्यतापट्टि प्रशिक्षित गर्नु र पुँजीवादप्रति घृणा उब्जाउनु यो नै क्रान्तिकारी सांस्कृतिक सिर्जनकर्मको अर्को कार्यभार हो । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भएझैं नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।
कम्युनिस्ट भएर सामन्ती तथा पुँजीवादी कलाको बढोत्तरीमा लाग्ने तर समाजवादी कलालाई लात मार्ने कुराको एकीकृत जनक्रान्ति पक्षधर संस्कृतिकर्मीहरूले सशक्त विरोध र प्रतिवाद गर्नुपर्दछ । प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, सङ्गठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु आजको आवश्यकता हो । प्रतिक्रियावादी सत्ताको तावेदारीका विरुद्ध आन्दोलित हुनु र अग्रगामी निरन्तर प्रवाहमा हेलिनु अहिलेको मुख्य कार्यभार हो ।
करिब आठहजार वर्षदेखि समाजमा शोषण छ । माक्र्सवाद मात्र करिब पौने २ सय वर्ष भएको छ । एकातिर आठ हजार वर्षको मानव समाजको तहगत संरचना, जातपात, वर्ग, शोषण र उत्पीडनले व्याप्त समाज छ । आठहजार वर्षदेखि हर–मानिसभित्र शोषणकारी मानिस छ । अर्कातिर ’माक्र्सवाद जमर्न विचारधारा’ भन्ने माक्र्सको लेखबाट भन्ने हो भने सन् १८४५ बाट सुरु हुन्छ । कम्युनिस्ट घोषणापत्रबाट सुरु गर्दा सन् १८४८ बाट सुरु हुन्छ । सन् १८४८ बाट अहिले पौने करिब दुई सय वर्ष भयो । पौने दुई सय वर्षको बीचमा संसारको दुईतिहाइ भूभागमा यसले एक पटक क्रान्तिको हुरी चलायो पनि । एकातिर आठ हजार वर्ष, पुँजीवादको चारसय वर्ष र अर्कोतिर माक्र्सवादको समयावधिलाई ख्याल गरेर रूपान्तरणको तीब्रतामा लैजान आवश्यक छ ।
प्रतिरोध गर्ने हिम्मतको अभावमा कैयौं साहित्यकारहरू स्वतन्त्रताको सपना देखेर पनि उदासीनता, आलस्य, निराशा र कुण्ठाको बाटो समाएका हुन्छन्, निर्जन विपत्तिका बीचमा पनि हामीले अगाडि बढ्ने साहस गर्नुपर्दछ । देशव्यापी कविता गोष्ठी (भित्र र बाहिर), सांस्कृतिक कार्यक्रम, सांस्कृतिक पदयात्रा, क्रान्तिकारी गीत सङ्गीत, नाटक, क्रान्तिकारी चलचित्रको निर्माण र प्रदर्शन, चित्रकला गोष्ठी, अन्तरक्रिया तथा विधागत दक्षतामा तीब्रता ल्याउन आवश्यक छ ।
क्रान्तिकारी संस्कृतिको निर्माणका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व अनिवार्य हुन्छ । टुप्पीदेखि पैतालासम्म सुधारवाद र संशोधनादको भासमा फसेकाहरूबाट नयाँ संस्कृति निर्माणको आशा, अपेक्षा तथा कल्पना गर्नै सकिन्न । महान् माओले सिक्ने निपूर्णतालाई सर्वोत्तम गुण बताउनुभएको छ र महान् लेनिनले भन्नुभएको छ, “सिकौं, सिकौं र फेरि सिकौं ।”







