वाइनका लागि चर्चित सुन्दर दृश्यावलोकन भएको क्षेत्र मोसेल उपत्यकामा पर्ने दक्षिणी जर्मन सहर ट्रियरमा सन् १८१८ मे ५ मा कार्ल माक्सको जन्म भएको थियो ।

ट्रियर सहर त्यो समय आकारमा आजभन्दा दश गुणा सानो थियो । त्यहाँ लगभग १२ हजार मानिसहरुको बसोबास थियो । हालसालै आएको एक मार्क्सको जीवनीका लेखक जुरगेन नेफेका अनुसार त्यो समयको ट्रियरमा सबैले एक अर्कालाई त चिन्दैनथे तर धेरैले एकअर्कालाई चिन्थे ।

उनको जन्मस्थलको यस्तो क्षेत्रीय संकुचनको मार्क्सको सीमाहिन बौद्धिक उत्साहसँग तुलनै हुँदैन । आफ्नो समयमा प्रमुख युरोपेली राजधानी सहरमा बस्ने तर मार्क्सले नभेटेका र पछि सैद्धान्तिक रुपमा मतभेद भएको क्रान्तिकारी विचारकहरु लगभग बाँकी नै थिएन । यसमा जर्मन समकालिन विल्हेम वेइट्लीङ्ग र ब्रुनो बोएर, फ्रान्सेली पिएरे–जोसेफ प्रुदो जसलाई मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्रमा ‘बुर्जुवा समाजवादी’ भनेका छन् र रसियाली अराजकवादी नेता मिखाइल बाकुनिन उलेखनीय छन् ।

सन् १८३७ मा मार्क्सको पिताले उनले पढुन् भनेर चाहेको वकिल पढाई परित्याग गरे । उनका पिता आफै पनि वकिल थिए । बर्लिन विश्वविद्यालयमा अध्ययनरत मार्क्सले आफूलाई हेगेलको विश्लेषणात्मक दर्शनमा डुबाउन थाले । मानिसहरुले त्यसपछिको उनको जीवनलाई उधो गति मान्लान् । रुढीवादी प्रुसियन सरकारले यस्तो क्रान्तिकारी विचारलाई सहज लिन सकेन (हेगेलको दर्शनले एक न्यायसंगत राज्यको वकालत गरेको थियो ।) र आगामी दशकको शुरुसम्म मार्क्सलाई उनले रोजेको विश्वविद्यालय प्राध्यापकको जागिरमा बन्देज लगाइयो ।

दर्शनको खतराबारेमा कुनै चित्तबुझ्दो उदाहरण दिनुप¥यो भने त्यो मार्क्सको हेगेलको आविष्कारलाई एउटा उदारण मान्न सकिन्छ । सुरुमा ‘विकृत रुखो विरह धून’ जस्तो भनेर विकर्षित भएको हेगेलको दर्शनले पछि उनलाई यति मोहित बनायो कि उनी बर्लिनका सडकहरुमा नाँच्दै गाउँदै उफ्रिए । यो कुरा उनले आफ्नो पितालाई सन् १८३७ मा लेखेको पत्रमा उल्लेख छ , “मलाई सडक किनारमा बसिरहेका सबैलाई अङ्गालो हाल्यौं जस्तो भइरहेको थियो । ”

मार्क्सको द्विशताब्दीऔं जन्मदिनमा आइपुग्दा हामीले उनको खतरनाक र उन्मादी दर्शनशास्त्रको विरासतबाट के पाठ सिक्न सक्छौं त ? मार्क्सको खास दीर्घकालिन योगदान के हो ?

आज पनि त्यो विरासत जिवित र राम्रो देखिन्छ । यो शताब्दीको शुरुदेखि नै अएका प्राज्ञिक देखि आम जीवनीसम्म माक्सको पुँजिवादबारे बुझाई भएको असङ्ख्य पुस्तकले नवउदारवादी हाम्रो समयमा त्यसको सान्दर्भिकता रहेका पुष्टि गरिरहेको छ ।

सन् २००२ मा फ्रान्सेली दार्शनिक अलान बदिउले यो स्तम्भकार पनि सहभागी भएको लण्डनको एक सम्मेलनमा मार्क्स ‘मध्यम वर्गको दार्शनिक’ भएको घोषणा गरे ।

यसो भनेर उनले के भन्न खोजेका थिए ? मेरो विचारमा उनले आजको दिनमा शिक्षित उदारवादीहरु मार्क्सको “पुँजीवाद गहिरो रुपमा विभाजित वर्ग संघर्षबाट निर्देशित हुन्छ र अल्पसङ्ख्यक शासक वर्गले बहुसङ्ख्यक कामदार वर्गको अतिरिक्त श्रमलाई अनुचित रुपमा लिएर फाइदा कमाउँछ ।” भन्ने थेसिसमा लगभग सहमत देखिन्छन् भन्न खोजेका हुन् ।

उदारवादी अर्थशास्त्री नुरियल रुवीनी पनि मार्क्सको पँुजीवादको बनावटनै आत्मध्वसात्मक छ  भन्ने मार्क्सको धारणा पहिले भन्दा हाल सही देखिँदै गएको मान्दछन् ।

तर सर्वसम्मति अचानक यतिमै अन्त्य हुन्छ । अधिकांश बौद्धिकहरुमा मार्क्सको पुँजीवादबारेको विश्लेषणमा सहमति रहे पनि यसको ‘असङ्गति’लाई कसरी समाधान गर्ने भन्ने बारेमा धारणाहरु विभाजित छन् । र, दार्शनिकको रुपमा यसमै मार्क्सको मौलिकता र पूर्णतया महत्व रहेको छ ।

सुरुमा यो कुरामा स्पष्ट हुनुपर्छ कि मार्क्सले विश्वव्यापी पुँजीवादमा रहेको विशाल समाजिक र आर्थिक विरोभास हटाउन कुनै जादुयी सूत्र दिएका छैनन् (अक्सफामका अनुसार सन् २०१७ मा श्रृजना भएको विश्वव्यापी सम्पत्तिको ८२ % सम्पत्ति मात्र १% को पोल्टामा गएको थियो ।) मार्क्सले आफंले भन्ने गरेको भौतिकवादी विचारबाट दिएको योगदान भनेको पुँजीवाद निर्विकल्पिय छ भन्ने पुँजीवादी सिद्धान्तकारहरुको धारणाविरुद्ध आलोचनात्मक हतियार हो ।

कम्युनिष्ट घोषणापत्रमा मार्क्स र एङ्गेल्सले लेखेका छन्, “आजसम्म सम्मान गरिने प्रत्येक पेसामा रहेको सम्मानलाई बुर्जुवाहरुले खियाएका छन् । यसले चिकित्सक, वकिल, पुजारी, कवि, वैज्ञानिकलाई वेतनभोगी ज्यालादारमा बदलिदिएको छ ।”

मार्क्स पुँजीवादले छिट्टै यी पेसामा रहेकाहरुलाई बेरोजगार बनाउने कु्रामा विश्वस्त थिए । आजको दिनमा रोग पहिचान र शल्यक्रियामा प्रवेश गरिरहेको आट्रिफिसियल इन्जिलिजेन्सले,प्रविधिले ‘श्रमको विभाजन’लाई तीब्र रुपमा बढाइदिने, वा यी पेसाहरुलाई सीपविहीन बनाउने घोषणापत्रकाको दाबीलाई सम्झाउँछ ।

आफूअघि र पछिका कुनै पनि दार्शनिकले भन्दा ठूलो र फराकिलो प्रभाव पारेका मार्क्सले कसरी विश्वव्यापी दीर्घ प्रभाव पारे भन्ने राम्ररी बु्झ्नको लागि हामीले उनको हेगेलसँग रहेको सम्बन्धबाट शुरु गर्न सक्छौं । हेगेलको कुन कृतिले मार्क्सलाई त्यति प्रभाव पा¥यो ? उनले आफ्नो पितालाई बताए अनुसार नकार र विरोधाभासको तहतहमा निर्माण भएको हेगेलको ‘प्रणाली’ले शुरुमा त उनको मन जित्न सकेको थिएन ।

मार्क्सले आफ्नो समयमा हाबी रहेको अठारौं शताब्दीको अत्यका इम्यानुएल कान्ट र जोहान गोटलिब फिच्टको आदर्शवादहरु आफैमा केन्द्रित भएको पाए ।

यति सम्म कि ती विचार अनुसार यथार्थ पनि बौद्धिक तर्कबाट प्रमाणित गर्न सकिन्थ्यो । तर, मार्क्सले तीनको यथार्थलाई स्वीकार्न सकेनन् । हेगेलिन ‘ट्वीस्ट’मा भौतिक संसारले विचारलाई निर्धारण गथ्र्यो । जुन विचार मार्क्सले आफ्नो पत्रमा यसरी उल्लेख गरेका छन्, “यदी पहिले देवताहरु पृथ्वीमाथि बास गर्थे भने अब उनीहरु यसको केन्द्र बने ।”

देवाता मानिसहरु माझ बस्छन् भन्ने विचार दार्शनिक रुपमा आफैमा नयाँ थिएन । यसमा मार्क्सको नयाँ योगदान भनेको देवता मात्र होइन शीरमा रहेका सम्पूर्ण दैवी प्राधिकारहरुको आदर्शवादमा असहमतिपूर्ण अडान स्थापित गर्नु थियो । जहाँ हेगेल न्यायसंगत उदारवादी राज्यको वकालतमा रोकिएका थिए, उनी एक कदम अघि बढे, देवताहरुनै दैवी नरहेपछि राज्य किन चाहियो ?

वर्गविहीन र राज्यविहीन समाजको विचारले मार्क्स र एंगेल्सको साम्यवादको विचारलाई परिभाषित गर्न थाल्यो । र, निश्चित रुपमा मार्क्स र एंगेल्सले व्यक्त गरेको विचारमा विरोधाभाषपूर्ण रहेका २० औं शताब्दीमा बनेका कम्युनिष्ट राज्यको इतिहासलाई पनि परिभाषित गर्न थाल्यो । अझैँ पनि तीनको दुर्घटनाबाट धेरै कुरा सिक्न सकिन्छ तर तीनको दार्शनिक सान्दर्भिकता शंकास्पद रहेको छ ।

आजको हाम्रो समाजको लागि मार्क्सको बौद्धिक विरासतको प्रमुख तत्व भनेको ‘दार्शनिक’ होइन ‘आलोचना’ हो अथवा सन् १८४३ मा मार्क्सले व्याख्या गरे जस्तै “अस्तित्वमा रहेको हरेक कुराको निर्मम आलोचनाः निर्ममता यसले निम्त्याउने परिणाममा डर नमान्ने अर्थमा र शक्तिमा रहेकाहरुसँगको द्वन्दलाई लिएर सकेसम्म कम डराउने अर्थमा ।”  “दार्शनिकहरुले आजसम्म संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरे तर मुख्य कुरा यसलाई बदल्नु हो ।” सन् १८४५ मा उनले लेखे ।

वर्ग दमनको आयाममा नश्लीय र लैङ्किक शोषण थपिएको छ । ह्यासट्याग मि टु, ब्लाक लाइभ म्याटर जस्ता सामाजिक न्यायका अभियानहरु अव्यक्त रुपमा मार्क्सप्रति ऋणी छन् । मार्क्सले जस्तै यी अभियानहरुले पनि प्रत्येक समाजलाई संचालन गर्ने विचार खासमा शासक वर्गको विचार हो भनेर पहिचान गरेका छन् । र यी विचारहरुलाई उल्ट्याउँदा मात्र असली क्रान्तिकारी प्रगति हुन्छ ।

हामीले समाज बदल्नु छ भने पहिले आफूलाई बदल्नुपर्छ भनेको धेरै सुनेका छौं । तर जागृत र तर्कपूर्ण सोचमात्र प्रयाप्त हुदैन किनकी विचारको मापदण्ड पनि पहिलै नै पुरुष विशेषाधिकार र सामाजिक वर्गीकरण यहाँसम्म कि हामीले बोल्ने भाषाले बङ्ग्याइसकेको हुन्छ ।

मार्क्सले भनेका छन्, “उन्नत खालको नयाँ उत्पादन सम्बन्धले तब सम्म पुरानो व्यवस्थालाई विस्थापित गर्दैन जबसम्म पुरानो समाजको संरचनाभित्र तिनको अस्तित्व परिपक्व हुँदैन ।”

मानिसहरुबीचको सम्बन्ध पुँजी सम्बन्धभन्दा व्यक्तिको मूल्यले निर्धारण हुने नयाँ समाजतर्फको संक्रमण निक्कै कठिन कार्य रहेछ भन्ने विगतले पुष्टि गरेको छ । मार्क्सले समाजिक परिवर्तनको लागि सबैलाई मिल्ने खालको कुनै जादुगरी सूत्र सुझाएका छैनन् । तर उनले त्यो परिवर्तनलाई मापन गर्ने शक्तिशाली वौद्धिक औजार प्रदान गरेका छन् । त्यो आधारमा हामीहरु उनलाई भाबी दिनमा नचाहेर पनि उनलाई उद्दरण गर्न बाध्य हुनेछौं । र उनले ल्याउन संघर्ष गरेको र पछिल्लो समय बढ्दो सङ्ख्यामा मानिसहरुले चाह गरेको समाज यथार्थ नभएसम्म उनको विचार परिक्षण भइरहनेछ ।

(दक्षिण कोरियास्थित क्युङ्ग ही विश्वविद्यालयको दर्शनशास्त्रका सहायक प्राध्यापक जेसन बारकरको न्यूयोर्क टाइम्समा छापिएको लेख श्रवण उप्रेतीले अनुवाद गरेका हुन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार