
मानिसको चेतनामा प्रिन्ट भएर संग्रहित एउटा फोटो, जुन अहिले भाइरल बनिरहेको छ । यस हृदयविदारक फोटोमा एउटा बाबु आफ्नी २३ महिनाकी छोरीसँगै पानीमा तैरिएका छन् । उनीहरू डुबेपछि शरीर एकसाथ तैरियो, मृत्यु भइसक्दा पनि उनीहरू छुट्टिएनन् । छोरी एन्जी भलेरियासँगै डुबेर मृत्युवरण गर्नुअघि ओस्कार अल्बर्टो मार्टिनेज रेमिरेसको परिवार अमेरिकामा शरण पाउने आशामा आप्रवासी क्याम्पमा प्रतीक्षारत थियो । धैर्यको सीमा नाघेपछि उनीहरू रियो ग्रान्डे नदी पौडेर अमेरिका छिर्न खोजे । श्रीमती तानिया भेनिसाका अनुसार छोरीको ज्यान जोगाउने क्रममा श्रीमान्को पनि मृत्यु भयो ।दुःखद्, तर उनीहरूको मृत्यु मलाई आश्चर्य लागेन । मैले शरण खोज्नेहरूका विषयमा रिपोर्टिङ गर्ने क्रममा पछिल्ला दुई वर्ष मेक्सिको–अमेरिका बोर्डरमा बिताएको छु । आप्रवासीका अधिकार कुण्ठित गर्न अमेरिकी प्रशासनले निरन्तर प्रयास गरिरहेको छ । शरण खोज्ने प्रक्रियालाई ट्रम्प प्रशासनले आधारभूत रूपमै परिवर्तन गर्दाको उपज हो यो । जब मार्टिनेज र उनको परिवार माटामोरोसमा आएका थिए, उनीहरू ती आप्रवासीसँग मिसिए, जो शरणका लागि प्रतीक्षारत थिए । मे २०१९ मा मैले रिपोर्टिङका क्रममा माटामोरोसमा शरण खोज्ने ती व्यक्तिसँग भेटेको थिएँ, जो महिनौँदेखि ब्राउन्सभिल्ली र माटामोरोस एक्सप्रेस अन्तर्राष्ट्रिय पुलसँगै पाल टाँगेर बसेका थिए । उनीहरू शरणार्थीका लागि आवेदन दिन पाउने अवसरको प्रतीक्षामा थिए ।मैले केही आप्रवासीसँग अन्तर्वार्ता लिएको थिएँ, जो ट्रम्प प्रशासनले ल्याएको नीतिबाट पीडित थिए । यसलाई ‘मिटरिङ’ नीति भनिएको छ । शरण खोज्नेहरूले कसैको मुखबाट शरणार्थीका लागि नयाँ सूची तयार हुँदै छ भन्ने सुन्नेछन् । केही स्थानमा यस्तो सूचीको व्यवस्थापन आप्रवासन सेल्टरका निर्देशकहरूले गर्छन् र केही स्थानमा आप्रवासी आफैँ वा केही स्थानमा मेक्सिकोका आप्रवास अधिकारीहरूले । जब शरण खोज्नेले सूचीमा आफ्नो नाम देख्छन्, तब उनीहरूलाई नम्बर लेखिएको कागज दिइन्छ । माटामोरसमा शरण खोज्नेहरूले मलाई बताएअनुसार त्यसपछि अमेरिकी सीमा सुरक्षा अधिकारीले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रतिघन्टा एउटा आप्रवासीलाई अन्तर्राष्ट्रिय पुलको आधा भाग (सीमाक्षेत्र) हुँदै हिँड्न निर्देशन दिन्छन् । आप्रवासीहरू त्यहाँ आफ्ना लागि ठाउँ छ कि भनेर हरेक दिन कुरेर बस्छन् ।
अमेरिका प्रवेशको आसमा बसिरहेका आप्रवासी त्रसित छन् । उनीहरूमध्ये अधिकांशको मानसिक अवस्था खराब छ । कसैलाई लुटिने र बेचिने डर छ, कसैलाई हृदयाघात हुने डरले सताएको छ ।
त्यस्ता दिन र साताहरू पनि थिए, जब अमेरिकी सुरक्षा अधिकारीले शरण खोज्ने कसैलाई पनि स्विकारेनन्, जसले प्रतीक्षामा बसेकाहरूलाई निराश मात्रै बनाएको थियो । आफ्नो पालो आइसकेको अवस्थामा पनि कतिपय परिवारले अन्य परिवारलाई पालो हस्तान्तरण गर्नुपर्ने हुन्छ, जस्तो गर्भवती महिला भएको खण्डमा सुरक्षा अधिकारीले उनीहरूलाई पालो दिन आग्रह गर्थे । यस क्षेत्रमा बसेका आप्रवासी त्रसित छन् । उनीहरूमध्ये अधिकांशको मानसिक अवस्था खराब छ । कसैलाई लुटिने र बेचिने डर छ, कसैलाई हृदयाघात हुने डरले सताएको छ । कतिपयलाई लागुऔषधका कारोबारीले निरन्तर धम्की दिने गरेका छन् । धेरै परिवारसँग साथमा भएको पैसा सकिइसकेको छ । शरणार्थी प्रक्रियाको मापदण्डअनुसार यो अति कमजोरलाई सुरक्षा दिएर हिंसाबाट जोगाउन तयार गरिएको हो । यदि मार्टिनेज र उनकी छोरीलाई सीमाक्षेत्र आउनेबित्तिकै शरणार्थीको आवेदन दिने व्यवस्था मिलाइएको भए (यो उनीहरूको कानुनी अधिकार पनि हो) उनीहरू अझै जीवित हुने थिए ।
(ड्राइभर स्वतन्त्र पत्रकार हुन्) सिएनएन डटकमबाट







