संसदवाद पूँजीवादी विचारधारामा आधारित राजनीतिक प्रणाली हो । उन्नाइसौं शताब्दीसम्म पूँजीवादी बिचारधाराले सामान्तवादबिरुद्ध पूँजीवादी क्रान्तिको नेतृत्व गर्यो । पूँजीवाद साम्राज्यवादमा पतन हुन पुगेपछि यसले आफ्नो प्रगतिशील चरित्र गुमायो । र, पूँजीवादकै गर्भबाट पैदा भएको सर्वहारा बर्गले सर्वहारा क्रान्तिको अतिरिक्त पूँजीवादी क्रान्तिको समेत नेतृत्व लिनुपर्ने अबस्था आयो । बिसौं शताब्दीको बिश्वक्रान्तिको लहरमा सर्वहाराबर्गले यस प्रकारको भूमिका कुशलतापूर्बक निर्बाह गर्‍यो ।

सर्वहारा क्रान्तिको चुनौति र पूँजीवादमा अन्तर्निहित संकट झेल्दै आफूलाई जोगाउने क्रममा साम्राज्यवादले कतिपय नयाँ रणनीति बिकास गर्यो भने कतिपय वैज्ञानिक समाजवादी अर्थनीतिका मान्यताहरुलाई रक्षाकवचको रुपमा प्रयोग गर्यो । यसले सर्वहारा शिविरभित्र भ्रम सिर्जना गर्न, आन्दोलनलाई अन्यौलग्रस्त पार्न र बिघटनको अबस्थासम्म पुर्याउन धेरै हदसम्म बल पुर्यायो । सन् ८० को दशकबाट बिकसित हुँदै आएका साम्राज्यवादका नयाँ रणनीतिहरुले आज एक्काइसौं शताब्दीसम्म आइपुग्दा उसलाई नयाँ ठाउँमा पुर्याएका छन् । आजको बिकसित साम्राज्यवादको यो चरित्रलाई हामीले उत्तरसाम्राज्यवाद भनेका छौं ।

साम्राज्यवादको चरित्रमा आएको बदलावसंगै उसका लुट–खसोटका तरिका र औपनिबेशिकरणका स्वरुपहरु पनि फेरिएका छन । हिजो साम्राज्यवादले उत्पीडित राष्ट्रहरुमा प्रत्यक्ष हस्तक्षेप र शासन गथ्र्यो भने आज सम्बन्धित देशका पात्रहरुलाई दलालको रुपमा खडा गरेर उनीहरुमार्फत शासन गर्दछ । त्यसको निमित्त साम्राज्यवादले आफू अनुकूलकै राजनीतिक प्रणाली थोपर्ने, राजनीतिक दल निर्माण र परिचालन गर्ने र तिनै दलालहरुलाई सत्तामा पुर्याउने काम गर्दछ । हाम्रो सन्दर्भमा भारतीय साम्राज्यवादको यस प्रकारको भूमिका हामीले लामो समयदेखि ब्यहोर्दै आएका छौं । केही समययता यसमा अमेरिकी र यूरोपियन रुची र भूमिका समेत थपिएको छ । हामीले नेपालमा बिगत तीन दशकदेखि अभ्यास गर्दै आएको संसदीय प्रणालीको राष्ट्रघाती र जनबिरोधी चरित्र सवैले भोगेकै छौं । पछिल्लो दशकमा यो दलाल संसदवादमा पतन भइसकेको तथ्य जगजाहेर नै छ ।

लेखक समीर यात्री ।

आज दुनियाँभरी संसदीय राजनीतिक प्रणाली साम्राज्यवादी लुट खसोटको प्रमुख हतियार बनेको छ । पूँजीवादीहरु संसदवादलाई लोकतन्त्रको सर्वोत्तम गहना ठान्दछन । किनकि संसदवादले बेरोकटोक लुट खसोटलाई लोकतान्त्रिक अधिकार ठान्दछ र लुटिन बिबश निमुखाहरुले आफ्नो असक्षमताप्रति आत्मग्लानी गर्दै चुपचाप सहनुलाई लोकतान्त्रिक कर्तब्य सम्झन्छ । यसले आजको दुनियाँमा संसदवादी राजनीतिक प्रणाली सवैभन्दा बढी असफल, अफापसिद्ध र निकम्मा भएको कुरालाई नै पुष्टि गर्दछ । र, मानवजातिको सर्वाेत्तम सभ्यता वैज्ञानिक समजवादले मात्र हाम्रो भविश्य सुरक्षित गर्न सक्तछ भन्ने सच्चाईको महत्वलाई आज कयौंगुणा वढाइदिएको छ ।

माओवादी र संसदवादी शतिmहरुबीच भएको बाह्रबुँदे दिल्ली सहमति नै नेपालको माओवादी आन्दोलनलाई विघटन गर्ने र संसदवादी राजनीतिक प्रणालीलाई दलाल संसदवादमा पतन गराउने वैचारिक आधार हो । त्यस अगडिसम्म नेपालको संसदीय राजनीतिका दुइवटा केन्द्र थिए, एउटा नारायणहिटी दरबार र अर्काे दिल्ली दरबार । नारायणहिटी र दिल्ली बीच संघर्ष र सम्झौताको सम्वन्ध थियो । दिल्ली सहमतिको मार्गचित्रले नारायणहिटी केन्द्र भत्काएर दिल्लीलाई एकल केन्द्रका रुपमा स्थापित गरयो् । त्यसयता संसदवादीहरुको मक्कामदीना दिल्ली रहँदै आएको छ । र, राजतन्त्रात्मक संसदवादको ठाउँ दलाल संसदवादले लिएको छ । त्यससंगै अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थावाट मुलुक दलाल पूँजीवाद र नवऔपनिवेशिक अस्थामा प्रवेश गरेको छ ।

आज राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमिकतामाथिको खतरा कयौं गुणा बढेर जानु यही दलाल संसदवादकै उपज हो । संसदवादी दल र तिनका नेताहरु एकअर्कालाई उछीनापाछिन गर्दै निलर्जज्जतापूर्वक भारतीय शासकहरुको पाउमा घोप्टिनु पनि यही दलाल संसदवादकै परिणाम हो । मधेशवादको आवरणमा मधेशी साहुमहाजनहरुले दिल्लीको स्वार्थ बोकेर उट्पट्याङ् गर्दै आउनु, राष्ट्र, जनता र क्रान्तिप्रति गद्धारी गरेर साम्राज्यवादको नयाँ नोकरको रुपमा भर्ती भएको प्रचण्ड समूहले दलाल गणतन्त्रमाथि एकल हक दावी गर्दै बिलौना गर्नू, भारतीय संंस्थापनको रुचिभन्दा वाहिर रहेर सत्तामा जान नपाइने भो भन्ने बहसले पूर्वएमालेमा प्रवेश पाउनु र शेरबहादुरको भारत भक्तिको चर्काे उखर्माउलोले दलाल संसदवादको चरित्र चित्रण बडो सुन्दर ढंगले गरिसकेको छ ।

संसदवादले राजनीतिलाई फोहोरी खेलमा परिणत गरिदिएको छ । संसदवादीहरुद्वारा अल्छी, आवारा, धुर्त, गुण्डा, चतुर र गँजडीहरुको पेशा जस्तो वनाइएको राजनितीकै कारण आज देश र जनताले दुख पाएको तथ्य बुझन जरुरी छ । वास्तवमा राजनीति स्वयंसेवी कर्म हो । यसर्थ इमान, निष्ठा र आदर्शको मूल्यवोधविना यो सहि दिशामा अगाडि बढ्न सम्भव हुँदैन । इमान, निष्ठा र आदर्शले राजनीतिको गौरवपूर्ण विरासत कायम गर्दछ । र, त्यही विरासत पुस्ता हस्तान्तरण हुदैं राजनीतिक यात्रा निर्दिष्ट लक्ष्यको दिशामा अगाडि बढने हो ।

हामीकहांँ यो हुन नसक्नुको मुल कारण मूल्य विघटनको समस्या हो । मूल्य विघटन दलालीकरणको अर्काे आयाम हो । कांग्रेसमा मूल्य विघटनकै कारण गणेशमान र कृष्णप्रसाद भट्टराईहरु जीवनको उत्तरार्धमा वाक्क–दिक्क भएर राजनीतिक सन्यास लिन पुगे । मूल्य विघटनकै कारण झापा विद्रोहका योद्धाले बल्खु दरबारमा झुण्डिएर आत्महत्या गर्नु पर्यो । मूल्य विघटनकै कारण जनयुद्धका लाल जोडीहरु लाजिम्पाट दरबारको गेटबाट आँसु झार्दै लखेटिनु पर्यो । मूल्य विघटनकै कारण जनयुद्धको सुप्रिमो साम्राज्यवादको योजनामा दलाल गणतन्त्रको कार्यकारी प्रमुख बन्छ र जगतको आँखा छलेर विदेशी गुप्तचरलाई बालुवाटार भित्र्याउँछ तर जनयुद्धका योद्धाहरु पेरिसडाँडा पुगेर आफ्ना माग राख्दा लाठी वर्षाएर लखेटछ ।

पछिल्लो समय मूल्य बिघटन अझ हास्यास्पद रुपले प्रकट भएको छ । चुनावको लागि कांग्रेस–माके र एमाले–राप्रपा बीच भएको अश्लिल गठजोड होस वा एमाले–माकेको कथित बामगठबन्धनको नौटंकी होस, वा कम्युनिस्ट एकताको नाममा प्रचण्डहरुको एमालेकरण होस, यसले दलाल संसदवादी राजनीतिमा मूल्य बिघटनको हास्यास्पद अबस्थालाई नै पुष्टि गर्दछ । अझ भरतपुरमा देखा परेको प्रचण्डपुत्री रेणुको रोदनले त जग नै हँसाएको हो । भरतपुरमा मतगणनाकै क्रममा मतपत्र च्यात्नेसम्मको हर्कत हेर्दा यो दलाल संसदवादको सवैभन्दा भद्दा र बिकृत पात्रको रुपमा प्रचण्ड मण्डली देखियो ।

संसदवादीहरुको मूल्य बिघटन फासिवादी दमनको रुपमा समेत प्रकट भएको छ । संसदीय लोकतन्त्रको मान्यता अनुसार कुनै पनि चुनावको पक्ष वा बिपक्षमा जनताले आफ्नो मत जाहेर गर्न पाउने अधिकार सुरक्षित हुन्छ । त्यसैगरी राजनीतिक दलहरुले आफ्नो उदेश्य अनुरुप चुनावमा सहभागिता जनाउने वा अस्वीकार गर्ने स्वतन्त्रताको उपभोग गर्न पाउँछन । स्वतन्त्रतापूर्वक राजनीतिक गतिबिधि गर्न पाउछन, राज्यको गलत क्रियाकलापका बिरुद्ध आवाज उठाउन पाउँछन ।

तर, यहाँका संसदवादीहरु आफ्नै संसदीय मान्यताको समेत खिल्ली उडाउदै फरक मत र दृष्टिकोणमाथि फसिवादी रबैया अप्नाउछन । कानूनी राजको डंका पिटेर कहिल्यै नथाक्ने यी संसदवादी बुख्याँचाहरु आफ्नै नियम कानून, संबैधानिक मान्यताको धज्जी उडाउदै गैरकानूनी गिरफ्तारी, झुट्ठा मुद्दा, दमन र हत्याकाण्डसम्म मच्चाउने काम गरिरहेका छन । नयाँ जोगीको खरानी घसाई जस्तो यो डरलाग्दो मूल्य बिघटनमा यतिबेला प्रचण्ड मण्डलीले सवैलाई उछिनेको छ । यो मूल्य बिघटन आज दलाल सत्ता संस्कृतिको रुपमा संस्थागत हुन पुगेको छ ।

दलाल संसदवादी प्रणालीमा राजनीतिक निष्ठा, मूल्य र आदर्शको अपेक्षा गर्नु सर्वाधिक रुपले निरर्थक कुरा हो । किनकि दलालहरुको कुनै राजनीतिक निष्ठा र मूल्य हुँदैन । कुनै बैचारिक आस्था र आदर्श हुँदैन । सत्ताको लागि दलालहरु जुनसूकै हदसम्म गिर्न पनि तयार हुँन्छन । जहाँसूकै झुक्न पनि तयार हुँन्छन । किनकि उनीहरुको स्वत्व र स्वाभिमान मरिसकेको हुन्छ । दलाल संसदवादीहरुको राजनीतिक लीलाबाट पुष्टि भइसकेको तथ्य यही नै हो ।

यस अर्थमा राष्ट्र र जनताको भबिष्य दलाल संसदीय प्रणालीमा सुरक्षित हुन सम्भव छैन । तीन दशकको अभ्यासवाट नेपालमा असफल सिद्ध भइसकेको यो संसदवाद आज फेरी नयाँ रंगरोगनकासाथ नेपाली जनतामाथि बलजफ्ती थोपरिएको छ । राजतन्त्रात्मक संसदवादको बिकल्प दलाल संसदवाद कदापी हुन सक्तैन । यसको बिकल्प वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवादको बाटो संसदीय भुलभुलैया होइन, एकीकृत जनक्रान्तिको बाटो हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार