कम्युनिस्ट र गैरकम्युनिस्टबीच सैद्धान्तिक फरक छ । आफूले मान्ने गरेको सिद्धान्त र मान्यताकै कारण कोही मान्छे कम्युनिस्ट र कोही गैरकम्युनिस्ट हुने हुन् । अहिले चर्चामा रहेका उदारवाद, नव–उदारवाद र पपुलिज्म गैरकम्युनिष्ट सिद्धान्त हुन् ।

गैरकम्युनिस्टले आदर्श मान्ने गरेको सिद्धान्तको नाम उदारवाद भए पनि, यथार्थमा यो संकुचित छ । थोरै मान्छेहरूबीच मात्रै शक्ति अभ्यास गर्छ यो सिद्धान्तले । यही सिद्धान्तको विरोधमा अथवा यसको विकल्पको रूपमा कम्युनिस्ट आन्दोलन चलेको हो । उदारवाद र पुँजीवादको विरोधमा नै कम्युनिस्ट घोषणापत्र लेखिएको हो । कम्युनिस्ट घोषणापत्र नै कम्युनिस्टको मुख्य सिद्धान्त हो । संसारभरका कम्युनिस्टको सैद्धान्तिक आधार कम्युनिस्ट घोषणापत्र हो ।

यसैका आधारमा पहिलो चरणमा कम्युनिस्टले जनवाद, वा जनताको जनवाद भन्ने अभ्यास गरे । जनवाद भन्नु वा जनताको जनवाद भन्नु र डेमोक्रेसी उस्तै सुनिए पनि यी दुई शब्दबीच भिन्नता छ । जनवाद भन्नाले अलिक फराकिलो दायरामा अभ्यास गरिने सिद्धान्त हो । प्रजातन्त्र भनेको साँघुरो र सीमित दायरमा अभ्यास गरिने सैद्धान्तिक अवधारणा हो । त्यसैले धेरै मान्छेले प्रजातन्त्रलाई साँघुरो दायरा भनेका छन् ।

कम्युनिष्ट अवधारणामा जनवाद, समाजवाद र साम्यवाद गरी तीन तह हुन्छन् । यी तहको पहिलो तह अर्थात् जनवादलाई नेपालमा सुरुवातमा नौलो जनवादको नाम दिइएको थियो । जनवादभित्र पनि विभिन्न चरण हुन्छन् । समुदायमा विभिन्न जाती, धर्म र पेसाले मान्छे विभाजित हुन्छन् । आर्थिक अवस्थाका कारण मान्छे विभाजित हुन्छन् । यस्ता मान्छेहरूलाई एकै थलोमा ल्याउने । एकै आधारमा ल्याउने काम हो जनवादको ।

उदाहरणका लागि २०६२÷६३ को जनआन्दोलनमा कांग्रेस र कम्युनिस्ट एकै ठाउँमा आएर राजाविरुद्ध लड्नुपरेको थियो । जनवादले सहअस्तित्वलाई जोड दिन्छ । जस्तो, चीनमा अहिले पनि ८ वटा पार्टी छन् । तर, नेतृत्व भने कम्युनिस्ट पार्टीको छ । डोमिनेन्स कम्युनिस्ट पार्टीको छ । त्यसैले जनवादले सबैको सहअस्तित्व स्वीकार्दै कम्युनिस्ट पार्टीको नेतृत्व बनाउने प्रयास गर्छ ।

नेपालमा पनि पाँचौं महाधिवेशनमा आएर तत्कालीन एमाले पार्टीले जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्तलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनायो । यो सिद्धान्तले हामी कम्युनिस्ट भए पनि डेमोक्र्याट नै हो भनेर प्रमाणित गर्यो । डेमोक्र्याट हनु आपत्ति होइन । तर, जनवाद भनिसकेपछि कम्युनिष्ट पार्टीको लिडरशिप हुन्छ । सबै पार्टी र विचारलाई कम्युनिस्टले नेतृत्व गर्छन् । तर, नेपालमा सिद्धान्तले जनवाद भने पनि यथार्थमा जनवाद भने भएन ।

जनवादअनुसार कम्युनिस्ट पार्टीले नेतृत्व लिन सकेनन् । नेतृत्व लिन नसक्नुको मुख्य कारण जनताको बहुदलीय जनवाद (जबज)ले निर्वाचनलाई केन्द्रमा राख्नु नै हो । जबजमा जनवाद, कम्युनिस्टको डोमिनेन्सभन्दा बढी निर्वाचन हावी भयो । १४ वटा विशेषतासहित सार्वजनिक गरिएको जबज दस्तावेजमा जबज आफैंमा एउटा विशेषता हो भनिएको छ ।

निर्वाचनको शक्ति र त्यसको निर्णयलाई सर्वस्वीकार्य ठान्नु भनेको बेलायतको वेस्ट मिनिस्टर मोडल हो, अर्थात् हाम्रा कम्युनिस्ट पार्टीले वेस्ट मिनिस्टर मोडललाई स्वीकार गरे । निर्वाचनमा जसले जित्छ, त्यही सत्तामा आउने कुरा स्वीकारे । तर, जनवादले यो कुरा स्वीकार गर्दैन ।

संविधानको सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, खुल्ला समाज, पृथककीरण, मानवअधिकारजस्ता विषय जबजमा समेटिएका छन् । यी जम्मै विशेषता वा विषय बेलायती वेस्ट मिनिस्टर मोडलबाट सापटी लिइएका हुन् ।

जबजमा बहुमतको सरकार । अल्पमतको प्रतिपक्ष । विदेशी पुँजी र प्रविधि । सामन्तलाई क्षतिपूर्ति दिने कुरा लेखिएका छन् । यी सबै विशेषता वेस्ट मिनिस्टरबाट सापटी लिइएका हुन् । अर्थात् जबजले कम्युनिस्टको खोलमा पुँजीवादी संसदीय व्यवस्था अँगाल्यो । जबजका सबै विशेषता÷मर्मसँग पुँजीवादी संसदीय व्यवस्था हुबहु मिल्छ । पुँजीवादी संसदीय व्यवस्थाभन्दा फरक छैन जबज ।

त्यसैले जबज भन्ने दस्तावेज नौलो दस्तावेज होइन । कुनै भंयकर ठूलो दस्तावेज होइन । जबज भन्ने दस्तावेज लेख्ने मदन भण्डारी आफ्नो समयका पपुलर नेता थिए । मीठो भाषण गर्थे । हकी स्वभावका थिए । तर, उनले लेखेको यो सिद्धान्त भने कम्युनिस्ट सिद्धान्त होइन ।

भण्डारीले यो सिद्धान्त लेख्दा सोभियत युनियन भत्किएको थियो । संसारभर कम्युनिज्म डिफेन्सिभ भएको थियो । विश्वभरका कम्युनिस्ट रक्षात्मक अवस्थामा पुगेका थिए । संसाभर कम्युनिज्म कमजोर प्रतित भएको अवस्थामा मदन भण्डारीले पुँजीवादी संसदीय व्यवस्थालाई स्वीकार गरेका हुन् । उनले पुँजीवादसमक्ष आत्मसर्मपण गरेका हुन् ।

अहिले हामीले अपनाएको पद्धति नै वेस्ट मिनिस्टर मोडल हो । त्यही मोडलमा जान वा अपनाउन कुनै दस्तावेज वा सिद्धान्त चाहिँदैन ।

पार्टी चलाउन विचार चाहिन्छ । सिद्धान्त चाहिन्छ । दर्शन चाहिन्छ । नेपाली कम्युनिस्टहरूले जबजको नाममा कम्युनिस्ट सिद्धान्त चकनाचुर पारे । चुनावै लड्नु थियो, पुँजीवादी पद्धति नै अपनाउनु थियो भने कांग्रेसजस्तो पार्टी बनाए भइहाल्छ नि । किन कम्युनिस्ट पार्टी बनाउनुपर्यो । पुँजीवादी संदीय व्यवस्था नै मान्नु थियो भने माओवादीले हिजो किन युद्ध लडेको ?

पार्टी कस्तो हुने र उक्त पार्टीले देशलाई कता लग्ने भन्ने कुरा पार्टीको विचार, सिद्धान्तमा भर पर्छ । जबजले कम्युनिस्टलाई चुनाव लड्न पार्टी बनायो । पुँजीवादको पक्षपोषण गर्ने पार्टी बनायो । चुनाव लड्ने चक्करमा पार्टीलाई टिकट बेच्ने अखडा बनायो । परिवर्तन, संघर्ष र क्रान्तिमा भन्दा पहिलो ध्यान चुनाव र टिकटमा गयो पार्टीको । कम्युनिस्ट विचार, दर्शन र सिद्धान्तलाई लत्याउँदै पार्टी टिकट विक्री गर्ने संस्था बन्यो ।

बहुदलीय व्यवस्थाको नाममा चुनावमा जाँदा पार्टी दलाहरूको अखडा बन्न पुग्यो । जसको प्रतिफल पार्टी कमजोर बन्यो । पार्टीमा सिद्धान्त, विचार र बहसभन्दा पैसाले बढी स्थान पाउन थाल्यो । आज हाम्रा प्रधानमन्त्री विदेशबाट लगानी ल्याउने कुरा गर्छन् । यस्तो कुरा उनले जबजकै जगमा टेकेर बोलेका हुन् । तपाईं कल्पना गर्नुहोस्, कोही पनि मान्छे बाहिरबाट पैसा लगानी गर्न किन आउँछ ?

जवाफ सिधा छ नाफा कमाउन । र, तपाईंलाई थाहै छ, पुँजीपतिले नाफा कमाउन के के गर्छन् भन्ने । जबजमा व्यक्त गरिएका विकास, पुँजी निर्माणका सबै सोच पुँजीवादकै एक स्वरुप उदारवादमा आधारित हुन् । संकुचित दायराभित्र बुनिएको विकास र पुँजीको सोचले ग्रस्त छ जबज ।

विदेशी पुँजी, प्रविधि ल्याएर कसरी आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन्छ ? तर, जबज भन्ने दस्तावेजले विदेशी पुँजी र प्रविधिको वकालत गर्छ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यो दस्तावेज सहयोगी छैन ।

यतिका वर्षदेखि नेकपा एमाले (हाल नेकपा) ले जबजलाई आफ्नो सिद्धान्त मानेको छ । तर, खोई त स्वदेशमा रोजगारी सिर्जना गरेको ? खोई त आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेको ? स्थानीय अर्थतन्त्रभन्दा बहुराष्ट्रिय पुँजी र पुँजीपतिलाई प्राथमिकतामा राखेको छ जबजले । त्यसैले त हामी दिनानुदिन कमजोर हुँदै गइरहेका छौं ।

राष्ट्रिय पुँजी भनेको मान्छे पनि हुन् । रोजगार गर्न सक्ने जनशक्ति पनि हो । तर, जबजलाई आफ्नो सिद्धान्त मान्ने पार्टीले वैदेशिक रोजगार कम गर्न केही काम गरेको छ त ?

जबजले एमाले पार्टीका केही मान्छेलाई आर्थिक फाइदा पुर्यायो । पार्टीका मान्छेलाई विदेशी दलाल पुँजीपतिको संगतमा पुर्याउन यो दस्तावेजले सहयोग गर्यो । कम्युनिस्टको आवरणमा पुँजीपति र दलालको संगतमा लागेपछि एमाले पार्टीमाथि पुँजीपतिको हमला कम भयो । त्यसैले त एमाले पार्टीका धेरै मान्छे दलालको सिको गर्न थाले । दलालका मतियार बन्न थाले ।

अहिले जबज वा २१औं शताब्दिको जनवाद जे भने पनि यो पार्टी पुँजीवादतर्फ उहिल्यै गइसकेको हो । यिनीहरूले नेपाल र नेपालीलाई पुँजीवादी शोषणमा पुर्याउने बाटो रोजिसकेका छन् ।

जबज सामाजिक कल्याण र समाजवादी बाटोका लागि बनाइएको दस्तावेज नै होइन । यो त क्षमता नभएका, दलाल, पुँजीपतिको पक्षपोषण गर्न बनाइएको दस्तावेज हो । गरिब, कमजोर र सर्वहाराको शोषण गर्ने दस्तावेज हो जबज ।

मान्छेलाई आर्थिक, शारीरिक र मानसिक तवरमा शोषण गर्ने गर्छ पुँजीवादले । अहिले नेपालमा त्यही भइरहेको छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरा पनि पुँजीपतिको हातमा पुगेका छन् । आधारभूत कुरा पनि पुँजीपतिको हातमा सुम्पिनमा जबजको ठूलो योगदान छ ।

अहिले हामी संघीय प्रणालीमा गइसकेका छौं । जबज भन्ने केन्द्रिकृत दस्तावेज हो । यसले पार्टी र मुलुक दुवैलाई केन्द्रिकृत शैलीमा चलाउनुपर्छ भन्छ । आज आएर यो दस्तावेजले न संघीयतालाई फेसिलेट गर्छ न कम्युनिस्ट शैली र दर्शनलाई ।

कम्युनिस्ट दर्शन र सिद्धान्तलाई मान्ने हो भने जबजको काम छैन । नेपाली समाजलाई आत्मनिर्भर बनाउने हो भने पनि जबजको काम छैन । समग्रमा जबजको काम छैन ।

शिलापत्र अनलाइनसँगको कुराकानीको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार