
यो बडो अनौठो हो । गणतन्त्रमाथि खतरा छ भनिरहेका बेला म आफैं विस्मृत भएको छु । मेरा केही प्रश्न छन्, दुईतिहाइको संविधान बनेको छ । भनिएको के छ भने यो दुईतिहाइको संविधान समग्र विश्व ब्रह्माण्डमा उत्कृष्ट छ । दुईतिहाइको सरकार छ । यो संविधानअन्तर्गत सरकार छ ।
त्यही सरकारको प्रभावमा रहेका सातवटा प्रदेशमध्ये ६ वटा त त्यसकै मातहतमा छन् । राज्य संयन्त्र, राज्य संरचनाका सबै संरचना सरकारकै मातहत छन् । राज्यको कानुन, सेना, प्रहरी, बन्दुक, कोष सबै सरकारको नियन्त्रणमा छ । अब भन्नुहोस्, गणतन्त्रमाथि खतरा कसबाट छ ?
शासकहरूको अकर्मण्यता । तिनको अलोकप्रियता । तिनले गरेको स्वेच्छाचार । देशभर भएका अन्यायहरूलाई न्याय नदिएको । बजारभाउ नियन्त्रण नगरेको । सामान्य जनताको सुरक्षा, सुविस्ता गर्न नसकेका कारण तिन (शासक) को मनमा अलोकप्रियताको भय उत्पन्न भएको छ । त्यही भयको आशंका हो यो ‘गणतन्त्रमाथि खतरा’ भनेको ।
गणतन्त्र खतरामा छ भने नेकपा (नेपाल कम्युनिस्ट पार्टी) डब्बलबाट छ । कि नेपाली कांग्रेसबाटै छ । अन्तबाट म खतरा देख्दिनँ ।
जस्तो तपाईं राजाको कुरा गर्नुहोला, नेपालको राजतन्त्र भनेको इतिहासको मसानघाटमा गाढेको मूर्दा हो । मसानघाटमा मूर्दा गाढिसकेपछि त्यसको नलिखुट्टो फुकेर प्राणको विष्टा हुँदैन । बाँकी वैकल्पिक शक्तिको रूपमा आउन लागेका केही बबुराहरू थिए, तिनीहरू आत्मविज्ञापन गर्दागर्दै खिइएर साना हुन लागेको देख्छु ।
मधेसी दुई नम्बरको नागरिक छन् । जनजाति संविधानभित्र उपेक्षित छन् । दलितका आफ्नै दुःख छन् । महिलाका आफ्नै दुःख छन् । त्यसैले यी झिनामसिनाहरूबाट गणतन्त्रलाई खतरा छैन । यदि खतरा छ भने सबैभन्दा ठूलो खतरा अहिलेको नेकपा डब्बलको नेतृत्वबाट छ ।
‘सबैभन्दा विस्मयकारी कुरा त अहिले भन्ने गरिएको, ‘गणतन्त्रमाथि खतरा छ’ नै हो । गणतन्त्रमाथि खतरा उत्पन्न गर्नेहरूलाई बघिनीजस्तो जाइलाग्ने जो भनिएको छ ।
गणतन्त्रमाथि खतरा छ भन्ने बहानामा, लोकतन्त्रमाथि खतरा छ भन्ने बहानामा हाम्रा अधिकार र संविधानको दायरालाई संकुचित बनाउने धेरै ठूलो खतरा छ ।
सबैभन्दा आपत्तिजनक कुरा त के छ भने जे–जे कुरालाई उपेक्षा गरिनुपर्थ्यो, त्यही कुरालाई भुतजस्तो बनाएर, बाघजस्तो बनाएर, उछालेर जनता तर्साउने काम गरिएको छ । त्यसैले जे भनिएको छ, त्यो वास्तविकता होइन । जे भनिएको छ, त्यो अन्तरको भय नै हो भन्ने मलाई लाग्छ ।
सत्ताधारीहरूले गणतन्त्रमाथि खतरा छ भन्दा दुई कुराकाे संकेत गरेका छन् । एउटा राजावादीहरू, अर्को नेत्रविक्रम चन्द (विप्लव) बाट । अनि बीचमा रवि लामिछाने, सानो ज्ञानेन्द्र पनि आएका छन् । गणतन्त्रमाथि खतराका यी चारवटा कोण देखाइएका छन् ।
नेपाली कांग्रेसभित्रैबाट पनि ठूलो त होइन, स–सानो खतरा देखेको छु । कांग्रेसभित्र एक किसिमको विचलन र गणतन्त्रलाई कमजोर पार्ने केही कुराहरू देखेको छु ।
राजावादीहरू दुई थरी छन् । एक थरी हक्की राजावादी छन् । अर्को थरी लजालु राजावादी छन् । हक्की राजावादीहरू सिधै राजा चाहियो भन्छन् । लजालु राजावादीहरू हिन्दु राष्ट्र चाहियो भन्छन् ।
विश्वप्रकाशजीको महासचिव शशांक कोइराला बीपीपुत्र हुनुहुन्छ । उहाँले हिन्दु राष्ट्र चाहियो भनिरहनुभएको छ । उहाँ लजालु भएको हुनाले राजतन्त्र चाहियो भन्न सक्नुभएको छैन । तर, तपाईंले हिन्दु राष्ट्र भनिसकेपछि त्यो प्राप्त भएपछि तपाईंको अर्को दाबी त राजा नै हो नि ।
नेपाली कांग्रेस मित्र कोइरालाले लजालु भएर भनिरहनुभएको छ । तर, त्यहाँभित्रका धेरै मान्छेको मनभित्र यो कुरा छ तर भन्न सकिरहेका छैनन् । यी लजालु मात्रै होइनन्, कायर पनि छन् ।
नेपाली कांग्रेसभित्रको यो प्रवृत्तिले गणतन्त्र खान्छ । यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । किनभने नेपाली कांग्रेस नेपालको आदि प्रजातन्त्र पार्टी हो । नागरिक अधिकारको कुरा गर्ने पहिलो पार्टी हो ।
बीपी कोइराला धर्मनिरपेक्ष थिए । उनकै पुत्रले हिन्दु राज्य चाहियो भन्नुहुँदैछ । यो भन्ने त कमल थापा नै छ नि भाइ ! कमल थापाले गर्ने काम आदि प्रजातन्त्र पार्टीका संस्थापक बीपीपुत्र शशांकले किन गर्नुपर्याे ?
मैले एकचोटि ट्वीटमा ठट्टा गरें– ‘यदि शशांकले यो कुरा (हिन्दु राष्ट्र) भनिरहने हो भने शशांक गुट कमल थापामा गएर मिले भयो । अथवा कमल थापालाई शशांक गुटमा भित्र्याए पनि भयो ।’
कांग्रेस अन्तरविरोधग्रस्त पार्टी हो । कांग्रेसलाई म त गुटहरूको संग्रह भन्थें, तर विद्वान् नेता प्रदिप गिरीले नै कांग्रेसलाई गिरोहको संग्रह भने । गिरोह भनेको आपराधिक र भिजिलान्तेको समूह हो ।
मैले एक जिन्दगीमा ७ वटा राजा फटाएँ । व्यवस्थाको संख्याका हिसाबले म धेरै लामो जिन्दगी बाँचे । पञ्चायतमा पढें र पढाएँ । पञ्चायतमा देशै एउटा सिङ्गो कारागार थियो । त्यही समयमा म माक्र्सवाद र चीनबाट प्रभावित भए । मेरो जिन्दगीभरिको लडाइँ, (साहित्य, राजनीतिमा, विचार, कला, हिमाल, पहाड तराईमा) लोकतान्त्रिक गणतन्त्रका लागि ।
तपाईंहरूका धेरैका जस्तै मेरा पनि सपना थिए । गणतन्त्र भनेको गणहरूको शासन हो । गणले लोकतान्त्रिक विधिबाट नेताको चयन गर्छ । चयन गर्ने र चयन हुने दुवै एकअर्काप्रति उत्तरदायी हुन्छन् ।
अहिले प्राविधिक दृष्टिबाट नेपालमा गणतन्त्र छ । संविधानले विधिवत रूपमा स्थापित गरेको छ र घोषित गरेको छ । तर, व्यवहारमा त डेढ तन्त्र छ । खड्गप्रसाद ओली एक, पुष्पकमल दाहाल आधा । यी दुईको योगफल डेढ । त्यसैले यो डेढतन्त्र हो, लोकतन्त्र होइन ।
मलाई सबैभन्दा विस्मय लाग्ने कुरा के हो भने गणतन्त्रको कुरा जसले उठायो, गणतन्त्रको मुद्दालाई निस्तेज पार्ने बाटोमा पनि त्यही लागेपछि मलाई दुःख लागेको छ, अरूप्रति होइन, आफैंले आफैंप्रति खेद छ । कहिलेकाहीँ विषाद लाग्छ ।
आफैंप्रति निराश भएका संग्रौलालाई बस्नेतले संविधानतर्फ डोर्याए । थोरबहुत अपूर्णतासहितको संविधान हामीले स्वीकारेका हौं भन्दै बस्नेतले संविधानका उज्ज्वल पक्ष पनि छन् भने । तर, संग्रौलाले भने संविधानका अपूर्णता र असन्तुष्टितर्फ नै बढी जोड दिँदै भन्न थाले–
ओली र पुष्पकमल सत्तासिन भइसकेपछि उहाँहरूले प्राथमिकताका साथ गर्नुपर्ने कुरा थियो संविधान संशोधन । संविधानप्रति सबैका असन्तुष्टि थिए । मधेसी, दलित, जनजाति संविधान निर्माणमा बाहिर थिए । तर, संविधान अहिलेसम्म संशोधन भएन ।
असन्तुष्टि सम्बोधन नभएको हुँदा नेपाली समाजमा पहिला जेजस्तो विभाजन थियो, त्यो अहिले पनि कायमै छ ।
हामीहरू धेरैलाई थाहा छ । पञ्चायतमा एउटी नानीमैया दाहाल भन्ने थिइन् । उनले धेरै पढेकी पनि थिइनन् । उनको कुनै राजनीतिक पृष्ठभूमि पनि थिएन । तर, उनी पञ्चायतमा चुनावमा उठिन् ।
चुनावमा उठेपछि नानीमैयाको वरिपरि संसार ओइरियो । सारा मान्छे चकित भए । नानीमैया पनि जथाभावी बोल्थिन् र भन्थिन्, ‘म चुनाव जित्छु, मैले जितेपछि सूर्यबहादुर थापालाई फरिया उचालेर देखाइदिन्छु ।’
यो पञ्चायतप्रतिको अरूचि, असन्तुष्टि, चरम वितृष्णाको अभिव्यक्ति थियो । पञ्चायतप्रति नागरिकको मनमा जो औडाह उत्पन्न भएको थियो, जो वितृष्णा थियो, जो आगो थियो, त्यही ओकलिएको थियो ।
अहिले रवि लामिछानेको वरिपरि उन्मादी पागलपनका साथ मान्छेको सागर ओर्लिएको छ । त्यो अलिकति रवि लामिछानेको लोप्रियता पनि हो । अनि बढी सामान्य मान्छेको सत्ता र सुरक्षा निकाय, न्यायिक निकायप्रतिको अविश्वास पनि हो ।
संस्थाले संस्थागत काम गरेन भने । विधि विधिसम्मत ढंगले चलेन भने । नेतृत्व विधिसम्मत भएन भने उसका सम्पूर्ण काम विधिअन्तर्गत भएनन् भने अराजकता व्याप्त हुन्छ । भएका संस्था र संस्था चलाउने अलोकप्रिय भएको समयमा, संस्था र नेतृत्वप्रति विश्वास टुटेको समयमा जनता सडकमा आएका हुन् ।
मैले अनुमान गरेको थिएँ, यदि हाम्रो प्रतिपक्ष योभन्दा अलि बढी सशक्त भएको भए गुठी मुद्दामा यो सरकार ढल्थ्यो ।
गुठी मुद्दामा नगए पनि रवि लामिछानेको वरिपरि जे–जति मान्छे आएका थिए, त्यसलाई आफ्नो उचित नीतिअन्तर्गत नेपाली कांग्रेसले आह्वान गर्न सकेको भए, त्यसको माध्यमबाट आन्दोलन विस्तार गर्न सकेको भए खड्गप्रसादको राज जान्थ्यो ।
त्यसैले अहिले यो सत्ता अत्यन्त स्वेच्छाचारी हुनमा नेपाली कांग्रेसको दुर्बलता, त्यसको निस्तेजपना, त्यसको अकर्मण्यता र हस्तक्षेपको कमी पनि रहेका छन् । प्रतिपक्ष यो भन्दा अलिकति मात्रै बलियो भएको भए यसरी मनपरी गरिने थिएन ।
ओलीराजमा हाम्रा बोल्ने, लेख्ने अधिकार हरण गर्नका निम्ति अनेक किसिमका विधेयक ल्याइएका छन् ।
साहित्यकार खगेन्द्र संग्रौलाले इलाम साहित्य महोत्सवको अन्तिम दिन असोज ४ गते बोलेका भाषणको छोटो अंश ।







