यो वर्ष संसारका सबैभन्दा समृद्ध मानिएका तीन सहरमा ठूलो विरोध प्रदर्शन भए । सन् २०१८ नोभेम्बरयता पेरिसले शृंखलाबद्ध प्रदर्शन र दंगाको सामना गरिरहेको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले इन्धनमा लगाइएको कर वृद्धि गरेपछि प्रदर्शन सुरु भएको थियो । त्यस्तै, हङकङमा मार्च महिनामा सुरु भएको उथलपुथल अझै अन्त्य भएको छैन । सहरकी प्रमुख कार्यकारी क्यारी ल्यामले मूल भूमी चीनसँग सुपुर्दर्गी सहज गराउने कानुनको प्रस्ताव गरेपछि प्रदर्शन सुरु भएको थियो । हामीले चर्चा गर्न लागेको तेस्रो सहर चिलीको स्यान्टियागो हो, जहाँ यसै महिनाबाट गम्भीर खालको प्रदर्शन हुँदै छ । राष्ट्रपति सेब्यास्टिसियन पिनेराले मेट्रो रेलको शुल्कमा वृद्धि गरेपछि त्यहाँ हिंसात्मक दंगा सुरु भएको हो ।

यी तीनै सहरका प्रदर्शनपछाडि आ–आफ्नै स्थानीय तत्वको भूमिका नभएका होइनन् । तर, वृहत्तर रूपमा हेर्दा, यी प्रदर्शनमा सहरवासीको मनमा उब्जिएको गहिरो अन्यायको भावना र न्यून सामाजिक गतिशीलताले ठूलो भूमिका खेलेको देखिन्छ । परम्परागत प्रतिव्यक्ति आयलाई मात्र ख्याल गर्ने हो भने यी तीन सहर आर्थिक विकासका उदारणीय दृष्टान्त हुन् । हङकङको प्रतिव्यक्ति आय ४० हजार डलरवरपरि छ । पेरिसको त्योभन्दा पनि बढी ६० हजार डलरभन्दा बढी छ । उता, ल्याटिन अमेरिकाको सबैभन्दा समृद्ध सहरमध्ये एक स्यान्टियागोको प्रतिव्यक्ति आय १८ हजार डलर छ । आर्थिक सबलताको अर्को सूचकांक वल्र्ड इकोनोमिक फोरमको विश्व प्रतिस्पर्धात्मक रिपोर्ट–२०१९ मा हङकङ तेस्रो, फ्रान्स १५औँ र चिली ३३औँ स्थानमा छ । यस मापनका आधारमा चिली ल्याटिन अमेरिकामा सबैभन्दा सबल देखिन्छ ।

अर्थतन्त्रका परम्परागत मापदण्डका आधारमा यी सहर निकै समृद्ध र प्रतिस्पर्धी रहे पनि त्यहाँका बासिन्दा जीवनका अन्य पक्षमा असन्तुष्ट छन् । सन् २०१९ को ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’मा त्यसको झलक पाइन्छ । रिपोर्टमा हङकङ, फ्रान्स र चिलीका नागरिकले आफ्नो जीवनमा प्रगति महसुस नगरेको पाइएको छ । प्रत्येक वर्ष, ‘ग्यालप पोल’ले विश्वभरका मानिसलाई ‘तपाईं आफ्नो जीवनका छनोटलाई लिएर कति खुसी वा दुःखी हुनुहुन्छ’ भन्ने प्रश्न सोध्ने गर्छ । हङकङ प्रतिव्यक्ति आयमा विश्वको ९औँ स्थानमा रहेपछि त्यहाँका नागरिक आफ्नो व्यक्तिगत जीवनका छनोटलाई लिएर सन्तुष्टि भए/नभएको भन्नेमा ६६औँ स्थानमा छन् । फ्रान्सको हकमा पनि यस्तै भिन्नता देखिन्छ । प्रतिव्यक्ति आयका आधारमा फ्रान्स विश्वको २५औँ स्थानमा भए पनि छनोटको स्वतन्त्रतालाई लिएर जनताको सन्तुष्टिका आधारमा भने ६९औँ स्थानमा छ । त्यस्तै, चिली पनि त्योभन्दा फरक छैन । प्रतिव्यक्ति आयका आधारमा विश्वको ४८औँ स्थानमा रहेका चिलीका नागरिक आफ्नो जीवनलाई लिएर सन्तुष्टिका आधारमा गरिएको वर्गीकरणमा ९८औँ स्थानमा छन् ।

विरोधाभासपूर्ण रूपमा हङकङलाई हेरिटेज फाउन्डेसन र सिमोन फ्रेसर युनिभर्सिटीले विश्वमै सबैभन्दा बढी आर्थिक स्वतन्त्रता भएको देशका रूपमा गणना गरेका छन् । जबकि हङकङका नागरिक आफ्नो जीवनको छनोटलाई लिएर निराश छन् । तीनै देशमा, सम्पन्न परिवारमा नजन्मिएका सहरी युवा आवास र राम्रो जागिर पाइने सम्भावनालाई लिएर नकारात्मक छन् । औसत पारिश्रमिक र घरबार मूल्यको अनुपात हेर्ने हो भने हङकङको अवस्था विश्वमै सबैभन्दा खराब देखिन्छ । त्यस्तै, उच्च आय भएको देशको संगठन ओइसिडीका सदस्य राष्ट्रमध्ये चिलीमा सबैभन्दा उच्च आय असमानता देखिन्छ । फ्रान्समा आमपरिवारमा जन्मिएकाभन्दा कुलीन परिवारका सन्तानले जीवनकालमा कैयौँ अतिरिक्त सुविधा पाउँछन् । आवासको अत्यन्त उच्च मूल्यका कारण अधिकांश मानिस सहरको केन्द्रमा रहने व्यावसायिक क्षेत्रबाट टाढा धकेलिन्छन् । यसले रोजगारीमा आउजाउ गर्नका लागि ती निजी सवारी अथवा सार्वजनिक यातायातमा निर्भर हुनुपर्छ । यस्तोमा धेरै सर्वसाधरण यातायात मूल्यलाई लिएर संवेदनशील रहन्छन् । पेरिस र स्यान्टियागोको प्रदर्शनले त्यही संकेत गर्छ ।

सामाजिक गतिशीलताको संकट र असमानता सामना गर्ने राष्ट्र हङकङ, फ्रान्स र चिली मात्र होइनन् । अमेरिकाले अभूतपूर्व रूपमा असमानताको सामना गरिरहेको छ । यसले एकातर्फ सरकारप्रतिको सार्वजनिक विश्वासमा ह्रास ल्याइरहेको छ भने अर्कोतर्फ आत्महत्या तथा आमगोलीबारीजस्ता सामाजिक निराशामा वृद्धि ल्याइरहेको छ । वर्तमान राजनीति र अर्थतन्त्रमा अघि बढिरहने हो भने अमेरिकाले थप सामाजिक विस्फोटको सामना गर्नेछ । माथिका समस्यालाई पन्छाउने हो भने तीन सहरको घटनाबाट पाठ सिक्नुपर्छ । सार्वजनिक संवेदनासँग सम्बन्ध गुमाएका त्यहाँका सरकार सानाजस्ता लाग्ने कदमले पनि ठूलो सामाजिक विस्फोट गराउला भनेर अनुमान गर्न असफल भए । हङकङमा सुपुर्दर्गी विधेयकले यति लामो विरोध सुरु गरायो भने फ्रान्सले इन्धन कर र चिलीले मेट्रो शुल्कमा वृद्धि गर्दा विरोध भइरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा, परम्परागत आर्थिक मापन विधिले सर्वसाधारणको संवेदनाको सही मूल्यांकन गर्न सक्दैन । प्रतिव्यक्ति आयले अर्थतन्त्रको औसत आयको मापन गर्छ, तर त्यसले आयको वितरणबारे केही बताउँदैन । त्यस्तै, देशको समानता, वित्तीय सबलता र समग्र जीवनस्तरलाई प्रभावित पार्ने अन्य पक्षलाई आमसर्वसाधारणले कसरी लिइरहेका छन् भन्ने कुरा पनि तिनले व्याख्या गर्दैनन् ।

वर्ल्ड  इकोनोमिक फोरमको विश्वव्यापी प्रतिस्पर्धात्मक सूचकांक हेरिटेज फाउन्डेसनको आर्थिक स्वतन्त्रताको सूचकांक सिमोन फ्रेसर विश्वविद्यालयको विश्वको आर्थिक स्वतन्त्रताजस्ता जति पनि चर्चित वर्गीकरण छन्, तिनले पनि जनताको न्याय, जीवनका छनोटको स्वतन्त्रता, सरकारको इमानदारीजस्ता विषयप्रतिको जनताका मनोगत धारणाबारे केही उल्लेख गर्दैन । यस्तो संवेदनाबारे बुझ्न, जनतालाई तिनको जीवनप्रतिको सन्तुष्टि, व्यक्तिगत स्वतन्त्रताको अनुभूति, सरकार र अन्य देशवासीप्रतिको विश्वास सम्बन्धमा सीधै प्रश्न गर्नुपर्छ । सामाजिक जीवनका विभिन्न पक्षलाई वृहत्तर रूपमा प्रभावित बनाउने यी आयाम सामाजिक उथलपुथलको सम्भावनाका वास्तविक ऐना हुन् । सन् २०१५ मा विश्वभरका सरकारले अंगीकार गरेका दिगो विकासका ७ लक्ष्यको उद्देश्य कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयजस्ता परम्परागत सूचकभन्दा अघि बढ्ने भन्ने छ । तिनले समाजिक समता, विश्वास र वातावरणीय दिगोपनजस्ता समृद्धिका मूल्यांकनलाई समेट्न खोजेको छ । उदारणका लागि दिगो विकास लक्ष्यको उद्देश्यको बुँदा १० ले एकातर्फ आय समानतालाई जोड दिएको छ भने बुँदा ३ ले सुखलाई पनि जोड दिएको छ ।

आफ्ना नागरिकको नाडी छाम्ने, सामाजिक निराशा र अविश्वासको स्रोतमाथि ध्यान दिनु प्रत्येक समाजको कर्तव्य हुन आउँछ । समानता र वातावरणीय दिगोपनविनाको आर्थिक विकासले सुख होइन, विद्रोह निम्त्याउँछ । त्यसलाई रोक्ने हो भने भविष्यमा हामीले सार्वजनिक सेवामा धेरै प्रबन्ध थप्नुपर्छ । धनीबाट गरिबतर्फ आयको पुनर्वितरण गराउने प्रणाली बसाउनुपर्छ र वातारणीय दिगोपन हासिल गर्न थप लगानी बढाउनुपर्नेछ । खर्च धान्नका लागि इन्धन सहुलियत अन्त्य गर्नु, मेट्रो शुल्क बढाउनुजस्ता कार्य नराम्रा होइनन् । तर, अत्यन्त कम सामाजिक विश्वास, उच्च असमानता र अन्यायको भावना फैलिएको समयमा यी कदम विद्रोहको कारण भइदिन्छन् ।

जेफ्री डी. स्याक्स कोलम्बिया विश्वविद्यालयका दिगो विकासका प्राध्यापक हुन् ।

प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार