साम्राज्यवादी शक्ति राष्ट्र संरा अमेरिकामा के कुनै दिन समाजवादी क्रान्ति होला ? पुँजीवादी व्यवस्थाको मुख्यालय त्यो देशमा के समाजवादी व्यवस्था स्थापना गर्न सम्भव छ ?

संरा अमेरिकामा समाजवादी व्यवस्था स्थापना भए त्यो समाजवाद कस्तो खालको व्यवस्था होला ? कतिलाई यस्ता प्रश्न समयको अनावश्यक बर्बादी पनि लाग्न सक्ला । तर, यो छलफल र बहस गर्न नसकिने विषय भने होइन । ल्याटिन अमेरिकामा झन्डै एक दसकअघि नै यी प्रश्नमाथि बहस आरम्भ भइसकेको थियो । सन् २००७ को नोभेम्बरमा ल्याटिन अमेरिकी देश भेनेजुयलामा आयोजित राष्ट्रिय पुस्तक मेलाअन्तर्गत आयोजित बहस कार्यक्रमको विषय थियो, ‘के संरा अमेरिकामा समाजवादी क्रान्ति सम्भव छ ?’

संरा अमेरिकाका विभिन्न वामपन्थी समूहका प्रतिनिधि र भेनेजुयलाकै बौद्धिक व्यक्तित्वको सहभागितामा भएको सो बहसका वक्ताहरूमध्ये कतिले संरा अमेरिकामा समाजवादी क्रान्ति सम्भवमात्र होइन, अपरिहार्य भएको तर्क गरे । कतिले समाजवादी क्रान्तिको सम्भावनालाई नकारे । सबैका आ–आफ्ना बुझाइ र तर्क थिए । पाँच दिन चलेको बहसको हरेक दिनको कार्यक्रममा १२५ देखि १५० जना स्रोताहरूको सहभागिता हुन्थ्यो ।

संरा अमेरिकी समाजवादी मजदुर पार्टीकी केन्द्रीय सदस्य मेरी–एलिस वाटर्स पनि काराकसमा भएको सो बहसमा सहभागी थिइन् । कार्यक्रम उनले प्रस्तुत गरेको कार्यपत्रबाट आरम्भ भएको थियो । उनले छलफलको क्रममा उठेका प्रश्नको प्रष्टीकरण पनि दिएकी थिइन् । काराकस बहसमा व्यक्त विभिन्न विचार र बहस अभिलेखीकरण गरी संसारभर पु¥याउन संरा अमेरिकाको पाथ फाइन्डर प्रकाशनले ‘के संरा अमेरिकामा समाजवादी क्रान्ति सम्भव छ ? कामदार जनताबीच आवश्यक बहस’ (Is socialist revolution in the US possible? A Necessary Debate Among Working People) नामको पुस्तक प्रकाशन ग¥यो ।

पुस्तकमा मेरी–एलिस वाटर्सद्वारा प्रस्तुत कार्यपत्रलाई नै मूल खण्ड बनाइएको छ । उनले आफ्नो मन्तव्यमा पुँजीवादी व्यवस्थाका सङ्कटकै कारण संरा अमेरिकामा समाजवादी व्यवस्था स्थापना हुने तर्क गरेकी छिन् । उनले संरा अमेरिकाका वामपन्थी वा क्रान्तिकारी शक्तिहरूमध्ये आफूले अल्पमतको मात्र प्रतिनिधित्व गरे पनि बिनासङ्कोच वा योग्यता आफूले संरा अमेरिकामा समाजवादी क्रान्ति सम्भव भएको देखेको बताइन् । उनले तत्कालीन परिस्थितिमा संरा अमेरिका स्वयम्ले भोगिरहेका आर्थिक विशृङ्खलता र सङ्कटका एकपछि अर्को उदाहरण प्रस्तुत गर्दै ती सङ्कट स्थायी र दिगो समाधान गर्ने सामथ्र्य पुँजीवादी व्यवस्थासँग नभएको तर्क गरेकी छिन् ।

उनले संरा अमेरिकी कामदार वर्गबीचको एकता दिनानुदिन बलियो बन्दै गएको आफ्नो कार्यपत्रमा उल्लेख गरेकी छिन् । विभिन्न देशबाट संरा अमेरिकामा बस्दै आएका आप्रवासी मजदुर (जोसँग संरा अमेरिकामा बस्न वा काम गर्ने वैधानिक अधिकार छैन) र अन्य मजदुरबीचको एकता आर्थिक सम्बन्धबाट उकासिएर सामाजिक तहमा पुगेको उनले उदाहरण दिएकी छिन् । कोही आप्रवासी मजदुरलाई सरकारले गिरफ्तार गरेको अवस्थामा अरू मजदुरहरू मिलेर उसको परिवार र केटाकेटीको हेरचाह गर्ने गरेका दृष्टान्तले त्यहाँका मजदुरहरूबीचको एकतामा आइरहेको गुणात्मक परिवर्तन बुझ्न सकिन्छ ।

वाटर्सले पुँजीवादका ‘जादुगरहरू’ पुँजीवादी सङ्कटलाई ‘व्यवस्थापन’ गरेर अझै पनि पुँजीवादी व्यवस्थाको प्राण जोगाउन सकिने सोचमा छन् तर पुँजीवादी सङ्कटको ‘व्यवस्थापन’ सम्भव नभएको बताएकी छिन् ।

संरा अमेरिकामा समाजवादी व्यवस्था स्थापना गर्न सम्भव नभएको भन्ने तर्कलाई विश्वास गर्न ‘साम्राज्यवादी देशहरू आपसमा र आर्थिकरूपमा अघि बढेका अर्ध उपनिवेशवादी देशहरूको द्वन्द्व कम भइरहेको कुरामा विश्वास गर्नुपर्ने’ उनको बुझाई छ । तर, वास्तविकता ठीकविपरीत छ । संसारका साम्राज्यवादी शक्तिबीचको अन्तरबिरोध आज दिनानुदिन पेचिलो बन्दै गएको छ । संरा अमेरिका र उसको मोर्चाका सदस्य देशहरूबीचको अन्तरबिरोध नै अभूतपूर्वरूपमा सघन बनेको छ ।

सन् १९७० दसकको मध्यबाट ओरालो लागेको पुँजीवादको नाफा दर अझ बढ्ने कुरामा विश्वास गरेमात्र संरा अमेरिका पुँजीवादी सङ्कटमा नफस्ने वाटर्सले आफ्नो विचार व्यक्त गरेकी छिन् । तर, संरा अमेरिकाले सन् २००८ देखि सघन पुँजीवादी सङ्कटको सामना गरिरहेको छ । विभिन्न देशमा रहेका संरा अमेरिकी सेना फिर्ता गर्ने, आप्रवासी मजदुरलाई प्रवेश निषेध गर्ने, चिनियाँ आयातमाथि अङ्कुश लगाउने जस्ता ट्रम्प सरकारका पछिल्ला निर्णय संरा अमेरिकाले भोगिरहेको सङ्कटकै परिणाम हुन् । संरा अमेरिकी उद्योग कलकारखाना क्रमशः बन्द हुँदै गएको अवस्थामा रोजगारीमा आएको ¥हासका कारण संरा अमेरिकी जनता नै बेरोजगार बनेका छन् । संसारभरबाट त्यत्ता गएका मानिसले आफ्नो क्षमता र प्रतिभाको भरमा काम पाउँदा अमेरिकी जनता बेरोजगार बस्नु परेको अवस्था छ । यस्तो अवस्थामा आफ्ना नागरिकलाई रोजगारीको अवसर बढाउन ट्रम्प सरकारले आप्रवासीहरूको प्रवेशमाथि रोक लगाएको हो । ।

विभिन्न देशको युद्धमा फस्दा संरा अमेरिकी अर्थतन्त्र अझ कमजोर बनेको छ । युद्धको कारण आन्तरिक अर्थतन्त्रमा ठूलो नोक्सान भएको र सामाजिक क्षेत्रमा लगानी न्यून हुँदै जाँदा बढ्दो जनदबाबको कारण ट्रम्प विदेशी अन्त्यहीन युद्धबाट भाग्न खोज्दै छ । विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लिने ट्रम्पको निर्णयका आधारमा साम्राज्यवादले चरित्र फेरेको निष्कर्ष गलत हो ।

संरा अमेरिकामा कामदार जनताको अवस्था दिनानुदिन खराब हुँदै जानुले मजदुर वर्गलाई सङ्गठित बन्न उत्साहित गरिरहेको छ । ऐतिहासिक मजदुर दिवस (मे दिवस) को अवसरमा आयोजना हुने प्रदर्शनमा मजदुरहरूको सहभागिता हरेक वर्ष बढिरहेको छ । त्यस्ता प्रदर्शनमा संरा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका आप्रवासी मजदुरहरूको पनि सहभागिता बढ्दै छ । यस्तो परिस्थितिमा आप्रवासी मजदुरहरूको हकको लागि लड्नु आजको संरा अमेरिकी मजदुर आन्दोलनको एउटा अभिन्न हिस्सा बनेको छ । आप्रवासी र निजी क्षेत्रमा मजदुरलाई सङ्गठित बनाउने चुनौती संरा अमेरिकी मजदुर सङ्गठनहरूसामु छ ।

संरा अमेरिकी मजदुरहरूले आफ्नो अवस्थाको तुलना नजिकैको समाजवादी देश क्युवाका मजदुरहरूसँग गर्न थालेका छन् । क्युवाली समाजवादप्रति संरा अमेरिकी मजदुरहरूको आकर्षण क्रमशः बढिरहेको छ । क्युवा र क्युवाली समाजवादप्रतिको आकर्षण समाजवादी आन्दोलनप्रतिको आकर्षण हो । वाटर्सले विभिन्न पत्रपत्रिकाका शीर्षकलाई प्रमाणको रूपमा पेश गर्दै संरा अमेरिकी पुँजीवाद कमजोर बन्दै गएको र समाजवादी सङ्घर्षको क्षितिज क्रमशः उघारिंदै गएको विचार आफ्नो कार्यपत्रमा प्रस्तुत गरेकी छिन् ।

छलफलमा सहभागी वामपन्थी लेखक अमेरी बाराका, संरा अमेरिकी पत्रकार क्रिस कार्लसन, संरा अमेरिकाको तेनिसीका सांस्कृतिक निर्देशक तुफारा वालरलगायतका वक्ताले कार्यक्रममा व्यक्त मन्तव्यलाई पुस्तकमा समावेश गरिएको छ । सोसलिस्ट वर्कर्स पत्रिका मजदुर संवाददाता ली सुस्तरले संरा अमेरिकाको इतिहास नै क्रान्तिको इतिहास भएको चर्चा गर्दै संरा अमेरिकाका विभिन्न क्रान्तिबारे आफ्नो धारणा राखे ।

गार्जियन पत्रिकाका पत्रकार रिचर्ड गटले सुस्तरको भनाइमा विमति राख्दै अमेरिकी स्वतन्त्रता आन्दोलनलाई क्रान्ति भन्न नमिल्ने तर्क गरे । अमेरिकी आदिवासी जनताको जग्गा खोस्न त्यो आन्दोलन भएको उनको विचार थियो । बेलायती नियन्त्रणमा रहेको जमिन खोस्न अमेरिकी स्वतन्त्रता आन्दोलन भएको थियो ।

समयको हिसाबमा पुस्तक झन्डै एक दसक पुरानो हो । तथापि आजको संरा अमेरिकी परिस्थितिसँग तुलना गर्दा त्यहाँ परिस्थितिमा कुनै फेरबदल भएको देखिन्न । बरु ट्रम्पको शासनकालमा संरा अमेरिकाको अवस्था अझ जर्जर बनेको छ ।

पुस्तकको बीच–बीचमा समावेश गरिएको सूचनामूलक तस्वीरले पाठकलाई पुस्तक पढ्न रुचिकर बनाएको छ । भेनेजुयलाको आजको परिस्थिति फरक छ । त्यहाँ तत्कालीन राष्ट्रपति ह्युगो चाभेजकै उत्तराधिकारी निकोलस माडुरोको सरकारले शासन चलाएको छ । तर, संरा अमेरिका, कोलम्बिया आदि समाजवादी विरोधी देशहरूले भेनेजुयलामा फैलाएको राजनीतिक अस्थिरताको विषको प्रभाव अझै कायम नै छ । पुँजीवादी व्यवस्थाको नाभी बनेको संरा अमेरिकामा समाजवादी क्रान्तिको सम्भावनाबारे छलफल गराएको रिसमा वाशिङ्टनले भेनेजुयलाको वामपन्थी सरकारलाई तहसनहस गर्न खोजेको हुनसक्छ । तथापि भेनेजुयाली जनतामा साम्राज्यवादविरोधी भावना बलियो रहेको कुरा वाशिङ्टनकै योजनामा भएको सत्ता परिवर्तनको खेलको असफलताबाट पुष्टि हुन्छ ।

काराकस बहस साम्राज्यवादविरोधी सङ्घर्षको एउटा सांस्कृतिक गतिविधि थियो । सो बहसले संरा अमेरिकाको विषम अवस्थाले त्यहाँ समाजवादको विजारोपण हुने विचारलाई मेरी–एसिल वाटर्सको पुस्तकले अझ टेवा पु¥याएको छ ।

नीरज, पुस्तकको नामः इज सोसिएलिस्ट रिभोलुसन इन द युएस पोसिबल ?
लेखकः मेरी–एलिस वाटर्स
प्रकाशकः पाथ फाइन्डर

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार