
नोभेम्बरको पहिलो सातालाई विश्व इतिहासमा श्रमिक वर्गको पहिलो राज्य स्थापनाका निम्ति विशेष रूपमा स्मरण गरिन्छ । अक्टोबर क्रान्तिका नामबाट परिचित सोभियत रुसमा श्रमिकले गरेको यस सफल क्रान्तिको एक सय दुई वर्ष बिते पनि यसले वैचारिक रूपमा विश्वलाई प्रभावित र प्रेरित गर्न छाडेको छैन । नेपालमा पनि कम्युनिस्टले यो दिवस धुमधामसँग मनाउने गरेका थिए । तर, यसपटक अहिलेसम्म सामसुम नै देखिएको छ । यद्यपि अहिले त सरकारमा पनि कम्युनिस्ट ब्यानरधारीहरू नै छन् ।
सन् १९१७ को नोभेम्बर ७ का दिन लेनिनको नेतृत्वमा सोभियत क्रान्ति सम्पन्न भएको थियो । रुसी जनताले प्रयोग गर्ने जुलियन क्यालेन्डरअनुसार यो दिन २५ अक्टोबरमा पर्ने भएकाले यसलाई अक्टोबर क्रान्ति भनिएको हो । विश्व इतिहासमा भएका अन्य क्रान्तिभन्दा सोभियत क्रान्ति कुन अर्थमा भिन्न थियो भने मानव इतिहासमै पहिलोपटक मजदुर र किसानको सत्ता निर्माण भएको थियो ।
हुन त अहिले सोभियत संघ इतिहासको पानामा सीमित छ, तर यसको स्थापनाका बखत गुञ्जिएको युगान्तकारी स्वर, उद्देश्य र स्वप्नले अहिले पनि शासक वर्गीय चेतनालाई तरंगित गरिरहेको छ । र, निरन्तर मन्दीको सिकार संकटग्रस्त विश्व पुँजीवादी अर्थतन्त्रको विकल्पका रूपमा समाजवादलाई उभ्याएको छ । यस समाजवादी अर्थराजनीतिक व्यवस्था र संस्कृतिको व्यावहारिक खाका लेनिनको नेतृत्वमा सोभियत कम्युनिस्टले नै प्रस्तुत गरेका थिए ।

लेखक
सोभियत क्रान्ति विश्वमा यस्तो महान् परिघटना थियो, जसले विश्वको राजनीतिक प्याराडाइम नै परिवर्तित गरिदियो । यसले पारम्परिक शासक वर्ग अर्थात् सम्पन्न र अभिजात्य वर्ग मात्र शासन गर्न योग्य हुन्छन् भन्ने मिथलाई भंग गरिदियो । यसले जनता र शासकलाई समान हैसियतमा उभ्यायो । अक्टोबर क्रान्तिले अवलम्बन गरेको वर्गसंघर्ष र सर्वहारा अधिनायकत्वको माक्र्सवादी अवधारणाबाट प्रेरित समाजवादको विश्वव्यापी अनुगुँज तथा यसका निम्ति संघर्ष वर्तमान विश्वमा पनि जारी छ ।
७ नोभेम्बरका दिन सोभियतहरूले तत्कालीन यथास्थितिवादी अस्थायी सरकारको तख्ता पल्टाएर सत्ता कब्जा गरेपछि प्रकाशित आदेशमा भनिएको थियो– … जुन ध्येयका निम्ति जनता संघर्ष गरिरहेका थिए, जनवादी शान्ति सन्धिको अविलम्ब प्रस्तावना, भूमिमाथि जमिनदारको स्वामित्व उन्मूलन, उत्पादनमाथि मजदुरको नियन्त्रण, सोभियत सरकार स्थापना, यो ध्येय दृढतापूर्वक प्राप्त गरिसकिएको छ ।
यस क्रान्तिबाट निःसृत जनसन्देशको प्रभाव कतिसम्म थियो भने समाजका तल्ला वर्गले यसलाई अन्तरमनबाटै आफ्नो सम्झेका थिए । र, अर्कातर्फ क्रान्तिका नेताहरूले जनता र राज्यसत्ताबीचको यस आत्मीय एकात्मकतालाई व्यवहारमा प्रदर्शित गर्न कुनै कसर छाडेका थिएनन् । भनिन्छ, सोभियतसत्ता स्थापित भएपछि सबैभन्दा पहिलो भुक्तानी एउटा बुढो गरिब किसानको घोडाको मूल्य थियो । पहिलो विश्वयुद्धका वेला जारशासकले राम्रो मूल्य दिने आश्वासन दिएर ती बुढाको घोडा लिएर गएका थिए । विश्वयुद्ध सकिए पनि उनले त्यसको मोल पाएका थिएनन् ।
सोभियत सत्ता स्थापित भएको भोलिपल्ट कसैले उनलाई लेनिनकहाँ पठाए । लेनिनले उनको दुखेसो सुनेर उनलाई आर्थिक व्यवस्थापन हेर्ने कोन्निलोभकहाँ चिठी लेखेर पठाए । कोन्निलोभले उनका कुरा सुनेर अहिले राज्यकोष पूर्णतः क्रान्तिकारीको कब्जामा नआइसकेकाले केही दिनभित्र घोडाको मूल्य तिरिने आश्वासन दिए । भयो पनि यस्तै, सोभियत राज्यकोषबाट पहिलो आर्थिक भुक्तानी तिनै बुढाको घोडाको मूल्य नै थियो ।
सोभियत सत्ता तथा समाजवादबारे क्रान्तिकारी नेतृत्व, जनाधारित राजनीतिक संस्कृति तथा जनात्मीयता नै थियो, जसलाई देखेर एकजना अमेरिकी पत्रकार र लेखक लिंकन स्टेफेनले लेखे— मैले भविष्य देखेको छु, र यसले काम गर्छ । स्टेफेनले सोभियत संघको जनताको सहयोगका निम्ति त्यतिवेला अमेरिकामा खाद्य संकलन अभियान चलाएका थिए । उनले उपर्युक्त शब्दावली सोभियत संघ र समाजवादका निम्ति पटक–पटक दोहो-याउने गर्थे ।
तर, त्यो महान् सोभियत संघ आफ्नै विचलन, गद्दारी र अन्तरविरोधका कारण अतीत भइसकेको छ । मानव समुदायको एउटा संघर्षको इतिहास, जसले श्रमिक वर्गले पनि शासन गर्न सक्छन् र समग्र मानवजातिको हितमा दृढतापूर्वक राजनीतिक व्यवस्था चलाउन सक्छन् भन्ने उदाहरण इतिहास भइसकेको छ । कैयौँले यसलाई मार्क्सवाद र समाजवादको पतन भने । तर, सन् २०१८ मा कार्लमाक्र्सको जन्मदिनमा अमेरिकी न्युयोर्क टाइम्सले लेख्यो– हैप्पी बर्थ डे माक्र्स, यु वेयर राइट । र, त्यसै दिन ब्रिटेनको सडकमा वर्तमान पुँजीवादबारे जसरी नारा लाग्दै थियो— ‘इट इज नट फल्ट विद इन सिस्टम, द सिस्टम इटसेल्फ फल्ट’ । त्यसले सोभियत क्रान्ति र समाजवादको युगान्तकारी सार्थकता सिद्ध गर्छ ।
सोभियत क्रान्ति स्वस्फूर्त थिएन । जस्तो कि लेनिनले क्रान्तिलाई विज्ञान, कला र संस्कृतिका रूपमा व्याख्या गरेका छन्, यो सुविचारित, कलात्मक र योजनाबद्ध थियो । सोभियत क्रान्तिको सैद्धान्तिक खाका भनिने र अप्रिल थिसिसको नामबाट प्रसिद्ध क्रान्तिको प्रस्ताव (७ अप्रिल १९१७) मा लेनिनले लेखे– रुसमा वर्तमान परिस्थितिको विशिष्ट लक्षण यो हो कि देश क्रान्तिको पहिलो चरणबाट, जसले सर्वहाराको अपर्याप्त वर्गचेतना र संगठनका कारण सत्ता पुँजीपति वर्गको हातमा सुम्पिदियो, दोस्रो चरणमा प्रवेश गरिरहेको छ, जसले सत्ता निश्चित रूपमा सर्वहारा र किसानको हातमा सुम्पिनुपर्छ ।
समाजको सबैभन्दा तल्लो र उत्पीडित वर्गप्रति समाजवाद र अक्टोबर क्रान्तिको यही प्रतिबद्धता नै हो कि एक सय दुई वर्ष बितिसक्दा पनि र एउटा समाजवादी देशका रूपमा इतिहास भइसकेको ३० वर्ष बितिसक्दा पनि सोभियत अक्टोबर क्रान्तिले विश्वभरिका कम्युनिस्टका निम्ति वैचारिक उत्सवको अनुभूति गराउँछ र हरेक वर्ष पुँजीवादी मिडिया र बौद्धिक जगत्बीच पनि विमर्शको विषय बन्ने गर्छ । यस दिन विश्वभरिका कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक, व्यावहारिक, रणनीतिक र कार्यनीतिक रूपमा आन्तरिक र बाह्य समीक्षा गर्ने गरिएको पनि पाइन्छ । यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनको सामान्य समीक्षा गर्नु सान्दर्भिक नै हुने देखिन्छ ।
विश्व कम्युनिस्ट आन्दोलन विगतमा चीन र रुसका गरी दुई खेमामा विभाजित थियो । चिनियाँ खेमा पक्षधरहरू माओत्से तुङको नयाँ जनवादी क्रान्तिको कार्यदिशाबाट प्रभावित थिए भने, रुसी खेमाकाहरू क्रान्तिको शान्तिपूर्ण संक्रमण र पुँजीवादी देशसँग शान्तिपूर्ण सहअस्तित्वको पुँजीवादउन्मुख संशोधनवादी निकोलाई खु्रस्चेवको राजनीतिक विचार र दिशाका पक्षधर थिए । तर, इतिहासको चक्र यसरी घुम्यो कि सन् १९७८ मा चीनमा माओको मृत्युपछि देङ सियाओ पिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको एउटा हिस्साले माओको नयाँ जनवादी कार्यदिशालाई पुरानो भनेर अस्वीकृत ग-यो र चिनियाँ विशिष्टतासहितको समाजवाद भनेर बजार समाजवादको नाममा पुँजीवादी उत्पादन सम्बन्धलाई प्रश्रय दिन थाल्यो । माओको सैद्धान्तिक नेतृत्वभन्दा पनि राष्ट्रिय मुक्तिदाताको रूपमा देवत्वकरण गरियो । अर्कातिर सन् १९९०/९१ मा खुलापन र पुनर्निर्माणको घोडा चढेर सोभियत संघ ७० वर्षको आयुमा विघटित भयो ।
विश्व कम्युनिस्ट आन्दोलनमा आएका यी सबै उतार–चढावको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पर्नु स्वाभाविक नै थियो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै रुसी र चिनियाँ खेमाको विभाजन रह्यो । यद्यपि नेपाली कम्युनिस्ट आन्दोलनमा चिनियाँ प्रभाव सर्वाधिक रह्यो । चीनमा देङपन्थीहरू सत्तामा आएपछि नेपाली कम्युनिस्ट आन्दोलन प्रभावित हुनु स्वाभाविक नै थियो ।
सोभियत संघको विघटनापछि विश्व कम्युनिस्ट आन्दोलनलाई मर्मान्तक धक्का पुग्यो । चिनियाँहरू आफ्नै गति र नीतिमा विकसित भइरहेका थिए भने विश्व राजनीति र अर्थतन्त्रमा साम्राज्यवादी अमेरिका एकल हाबी रह्यो । अहिले नेपाली कम्युनिस्ट पार्टीहरूको स्थिति हेर्ने हो भने यहाँ खेमागत अस्तित्व ध्वस्त भइसकेको छ ।
सबैको ब्यानर साझा भइसकेको छ र रुसी ख्रुस्चेबी खेमाका विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा (संयुक्त) होस् अथवा देङ स्कुलनजिकको नेकपा (माले) बाट विकसित एमाले अथवा माओवादी स्कुलबाट विकसित जनयुद्धकारीहरूको ठूलो हिस्सा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकै ठाउँमा सम्मिलित छन् । त्यस्तै माओवादीको एउटा हिस्सा किरणको नेतृत्वमा नयाँजनवादी कार्यदिशालाई अस्वीकार नगरे पनि जनविद्रोहका कुरा गर्दै छ भने अर्को हिस्सा विप्लवको नेतृत्वमा रहेको नेकपाले माओवादलाई ऐतिहासिक प्रेरक परिघटना भने पनि त्यसभन्दा भिन्न एकीकृत जनक्रान्तिको लक्ष्य लिएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन माओवादी जनयुद्धका रूपमा एउटा चरममा पुगेर पतन भएको हो । यस्तोमा श्रमजीवी वर्ग र उत्पीडित समुदायमा एउटा हतासा छ र कम्युनिस्ट पार्टीहरू आ–आफ्नो समझदारीअनुरूप अस्तित्व रक्षाका निम्ति संघर्षरत छन् ।
यहाँ ध्यानयोग्य के छ भने माओवाद अथवा माओ विचारधाराले आफूलाई अक्टोबर क्रान्तिको आधारभूत अवधारणा वर्गसंघर्ष, सर्वहारा वर्गीय पक्षधरता र सर्वहारा अधिनायकत्वबाट विकसित भएको सगर्व घोषणा गर्छ । अन्य कम्युनिस्ट विचारले अक्टोबर क्रान्तिप्रति सम्मान व्यक्त गरे पनि यसको केन्द्रीय अवधारणाबाट आफूलाई अलग प्रस्तुत गर्छ । यद्यपि समाजवाद भन्न छुटाउँदैन ।
यस्तो स्थितिमा कुनै पनि पार्टी कम्युनिस्ट विचारधाराअनुकूल छ कि छैन, त्यसको न्यूनतम कसी अक्टोबर क्रान्ति र अप्रिल थेसिसमा अन्तर्भूत विचार हुने कुरालाई इन्कार गर्न सकिँदैन । र त्यो हो— वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, बहुसंख्यक मजदुर र किसान तथा उत्पीडित समुदायप्रतिको पक्षधरता, पुँजीवादी चरित्रको भूमिमाथि राष्ट्रिय नियन्त्रण र भूमिहीन गरिबमा वितरणको नीतिको दिशा । वर्तमानमा संविधानभित्रका होस् वा बाहिरका, शान्तिपूर्ण र वैध कम्युनिस्ट पार्टी होस् अथवा हतियारबद्ध क्रान्तिका आग्रही, यी आधारभूत कसीमा कोही पनि टिक्दैनन् ।
सत्ताधारी कम्युनिस्ट पार्टीको पब्लिक–प्राइभेट–पार्टनरसिपको समाजवादोन्मुख भनिएको नीति यथार्थमा प्राइभेट नीति नै हो भन्नेमा कुनै शंका छैन । तर, संविधानबाहिरका कम्युनिस्ट पार्टीहरूमा समेत अहिले राष्ट्रियता (जातीयमुक्ति) र नवउपनिवेशवादविरोधी (भारतीय विस्तारवाद) विषयहरूले प्रमुखता पाएको छ भने जनता भनिने श्रमजीवी मजदुर र किसान वर्गका निम्ति कुनै आन्दोलन छैन । राष्ट्रियता र नवउपनिवेशवादविरोधी विषय पनि हुनुपर्छ, तर यस्तो चरित्रको आन्दोलन त गैरकम्युनिस्ट राजनीतिक शक्तिले पनि गर्छन् ।
कम्युनिस्ट आन्दोलनका आधारभूत मजदुर र किसानसँग सम्बद्ध आन्दोलनको उपेक्षा र दोयम, तेयमको स्थितिलाई कसरी कम्युनिस्ट आन्दोलन भन्ने ? सोभियत विद्रोह यसै अर्थमा विश्वका अन्य क्रान्तिभन्दा भिन्न थियो र यसैकारण यसले विश्वका सर्वहारा, मजदुर, किसान र उत्पीडित समुदायलाई आफूतिर आकर्षित ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलन माओवादी जनयुद्धका रूपमा एउटा चरममा पुगेर पतन भएको हो ।
यस्तोमा श्रमजीवी वर्ग र उत्पीडित समुदायमा एउटा हतासा छ र कम्युनिस्ट पार्टीहरू आ–आफ्नो समझदारीअनुरूप अस्तित्व रक्षाका निम्ति संघर्षरत छन् । अमूर्त सैद्धान्तिकता र राष्ट्रियता तथा सांस्कृतिकताका जतिसुकै भावनात्मक संघर्ष चलाए पनि श्रमजीवी जनताले त्यसमा आफ्नो भूमिका नभेट्टाएसम्म यसले सही दिशा र उठान लिन सक्दैन । र यो नै भइरहेको छैन ।
नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले एउटा वैचारिक अन्योल र श्रमिकवर्गीय उदासीनता देखिन्छ । यस्तो स्थितिमा अक्टोबर क्रान्तिको सन्देश र निहितार्थहरू सार्थक र सान्दर्भिक छन् । वस्तुतः मानवीयताका आधारभूत सिद्धान्त स्वतन्त्रता, समानता र भ्रातृत्व रहेसम्म माक्र्सको समयमा भएको पेरिस कम्युन र लेनिनको समयमा भएको सोभियत अक्टोबर क्रान्ति हमेसा सान्दर्भिक र प्रेरक रहिरहनेछन् ।







