एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दा सकेसम्म कार्यदिशा जीवन्त र वैज्ञानिक बनोस् र वस्तुस्थिति मिल्दो होस् भन्नाका खातिर निम्न पाटापक्षहरूमा भरपूर ध्यान पु¥याइएको छ :

(१) एकीकृत जनक्रान्ति जनयुद्ध र जनविद्रोहको विरोधी वा विकल्प होइन, बरु यसको विकास हो ।
(२) यसमा विश्वका सफल क्रान्तिका साथै जनयुद्ध र जनविद्रोहका सार्वभौम पक्षहरू पनि अन्तरनिहित छन् ।
(३) यसभित्र समग्र युद्ध र सामान्य युद्ध नियमहरू पनि अन्तरनिहित छन् ।
(४) यो कार्यदिशा निर्माण गरिरहँदा क्रान्तिकारी युद्ध रणनीति, क्रान्तिकारी युद्ध सिद्धान्त, क्रान्तिकारी युद्ध नियमहरूलाई पनि ध्यान दिइएको छ ।
(५) यसमा नेपालको भौगोलिक तथा सामरिक अवस्थालाई पनि ध्यान दिइएको छ ।
(६) यसको निर्माण गर्दा नेपालका समस्त जनता, क्रान्तिकारी जनता, उत्पीडित जनसमुदाय र समग्र नेपाली समाजलाई पनि ध्यान दिइएको छ ।
(७) यसमा नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सैन्य, प्रविधिसम्मको अवस्थालाई पनि ध्यान दिइएको छ ।
(८) हाम्रा दुई छिमेकी देशहरू चीन र भारतको रणनीति, अवस्था र विशेषतालाई पनि ध्यान दिइएको छ ।
(९) समग्र अन्तर्राष्ट्रिय परिस्थिति, आजको साम्राज्यवादका विशेषताहरूलाई पनि ध्यान दिइएको छ ।
(१०) यसमा समग्र विश्वकम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षहरूलाई पनि समुचित ध्यान दिइएको छ ।
(११) यो कार्यदिशा निर्माण गर्दा अहिलेसम्मका नेताहरूको सफलता र असफलता, मूल नेतृत्वको विचलन, आत्मसमर्पण, गद्दारी, पलायन, दलालीकरण, भ्रष्टीकरण आदिलाई केलाउने प्रयास गरिएको छ ।
(१२) यसमा अहिलेसम्मको नेपालको इतिहास, ऐतिहासिक घटनाक्रमहरू र इतिहासका विशेषविशेष पात्रहरूलाई पनि ध्यान दिइएको छ ।
(१३) यसमा नेपालको नयाँ वर्गविश्लेषण, जनताको आर्थिक अवस्था, राज्यको अर्थप्रणाली, क्रान्तिकारी अर्थप्रणाली आदिलाई पनि ध्यान दिइएको छ ।
(१४) यसमा सङ्गठन, सङ्घर्षका संवाहक तत्व, नेपाली क्रान्तिका आधारभूत शक्ति, सहायक शक्ति र समर्थक शक्तिलाई पनि पर्याप्त ध्यान दिइएको छ ।
(१५) यसमा नेपाली क्रान्तिका सम्भावित दुर्घटना, आकस्मिक घटना, नेपालको राजनीतिमा निरन्तर चल्दै आएको षड्यन्त्र, कूटनीति, हस्तक्षेप, परनिर्भरता आदिका बारेमा पनि ध्यान दिइएको छ ।
(१६) यो लामो समयदेखिको सफल र असफल घटनाक्रम र क्रान्तिहरू विशेषतः १० वर्षको महान् जनयुद्धको असफलतापछि गरिएको समीक्षा, मूल्याङ्कन र शिक्षाबाट निकालिएको संश्लेषण र निष्कर्ष हो ।
(१७) यसमा समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधहरू मुख्यतः क्रान्तिकारीहरूको आन्तरिक अन्तरविरोधहहरूमा ध्यान दिइएको छ ।
(१८) यसमा सकेसम्म कमभन्दा कम क्षतिमा क्रान्ति कसरी पूरा गर्ने भन्ने पक्षमा पनि ध्यान दिइएको छ ।
(१९) हरेक क्रान्तिको सफलता र असफलताको कारक तत्व उसको आन्तरिक पक्ष नै हो र जनयुद्धको असफलता र नेतृत्वको विचलनको मुख्य कारण पनि आन्तरिक पक्ष नै हो भन्ने यसको निष्कर्ष रहेको छ ।
(२०) उपरोक्त सबै पक्षहरूको निचोडमा अबको अधुरो क्रान्ति पूरा गर्ने क्रान्तिको कार्यदिशा जनयुद्ध वा जनविद्रोह नभएर यसको विकसित रूप एकीकृत जनक्रान्ति हुनेछ भन्ने निष्कर्षका साथ एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरिएको छ ।

४. एकीकृत सैन्य कार्यदिशा

यही नयाँ कार्यदिशा ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ को आलोकमा नेपालमा गरिने क्रान्तिको सैन्य कार्यदिशा नै ‘एकीकृत सैन्य कार्यदिशा’ हुनेछ भनेर डेढ वर्षअगाडि सम्पन्न जनमुक्ति सेनाको दोस्रो राष्ट्रिय भेलाको विधान तथा प्रतिवेदनले स्पष्ट गरेको छ ।

यसअनुसार नेपालमा अब (१) गाउँ र सहर जोडेर लड्नुपर्ने, (२) किसान र मजदुर वर्गसँगै मध्यम वर्ग (नयाँ श्रमिक वर्ग लाई जोड्नुपर्ने, (३) युद्धको मुख्य निशाना दलाल पँुजीवाद हुने र यसका विरुद्ध राष्ट्रिय पुँजीपति वर्ग, देशभक्त–राष्ट्रवादी शक्तिहरूसँग सहकार्य र संयुक्त मोर्चा बनाउँदै राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपका विरुद्ध गोलबन्द गर्ने, (४) प्रधान दुस्मनका विरुद्ध सम्पूर्ण मित्र शक्तिहरूलाई मोर्चाबद्ध गरी दुस्मनलाई सानो घेरामा पारेर आक्रमण गर्ने, (५) राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरूको परिचालन गर्ने, (६) प्रविधिको विकास तथा तालिम प्रशिक्षणमा जोड दिने, (७) संसारभरका क्रान्तिकारी र आमयुद्धका सार्वभौम पक्षलाई पनि आत्मसात गर्दै नेपाली मौलिकताका युद्ध नियमहरूमा जोड दिने, (८) दस वर्षको जनयुद्धको जनमुक्ति सेनाका सबल र दुर्बल पाटा–पक्षहरू केलाउँदै त्यसमा विकास गर्नेलगायत पक्षहरूको जगमा एकीकृत सैन्य कार्यदिशा बनाइएको छ ।

यसले आम युद्ध, विश्वभरिका क्रान्तिकारी युद्धहरू र विगतको दस वर्षको जनयुद्धलाई सन्दर्भ सामग्रीका रूपमा लिँदै यसका सार्वभौम पक्षलाई नेपाली मौलिकता र विशेषतासँग जोडेर मात्र अबको सैन्य र राजनीतिक चुनौतीहरूको सामना गर्न सकिन्छ भन्ने निष्कर्ष नै एकीकृत सैन्य कार्यदिशा हो । यो प्रचण्डको असफलता, सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा र अध्ययनको बीचबाट विकसित कार्यदिशा पनि हो ।

५. निष्कर्ष

जहाँ मौलिक विशेषतासहित क्रान्तिहरू भएका छन् त्यहाँ क्रान्ति सफल भएका छन् । जहाँ नक्कल गर्न खोजिएको छ त्यहाँ क्रान्तिहरू यान्त्रिक भौतिकवादको सिकार भएका छन् । नेपाली क्रान्ति पनि यसको सिकार हुँदै आएको छ ।

यति बेला एकातिर सत्ताधारी वर्गले पनि एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशाबारे चासो गरिरहेको सन्दर्भ र अर्कोतिर कतिपय पार्टीबाहिरका र विशेषतः हिजो जनयुद्ध लडेको शक्ति, जनमुक्ति सेनाका साथीहरू र हाम्रो आन्तरिक पङ्क्तिले समेत यसबारेमा जिज्ञासाहरू प्रकट गरिरहेको र स्पष्टताको माग गरिरहेको सन्दर्भमा यो प्रश्न अति महत्वपूर्ण र संवेदनशील पनि बनेको अवस्था छ । हाम्रो पार्टी नेकपाले पार्टी पुनर्गठनपछि प्रथम राष्ट्रिय सम्मेलनलगत्तै काठमाडाैँ र भक्तपुरमा सम्पन्न दुईदिने कार्यशालाबाट हाम्रो पार्टीको सैन्य रणनीति र सिद्धान्त स्पष्ट गरेको छ । यसका साथै २०७२ असोजमा सम्पन्न जनमुक्ति सेनाको दोस्रो राष्ट्रिय भेलामा एकीकृत सैन्य रणनीति र कार्यनीतिलाई अझ स्पष्ट गरेको छ ।

यो कुरामा कुनै द्विविधा छैन– नेपालमा सशस्त्र क्रान्ति सम्भव छ । त्यसैले हाम्रो पार्टीको प्रथम राष्ट्रिय सम्मेलन, पहिलो सैन्य कार्यशाला, जनमुक्ति सेनाको दोस्रो राष्ट्रिय भेला र आठौँ महाधिवेशनले एकीकृत जनक्रान्तिको सैन्य रणनीतिबारे स्पष्ट गरेको छ– नेपालमा अब एउटा अन्तिम क्रान्ति बाँकी छ । त्यो एकीकृत जनक्रान्तिबाट सम्पन्न हुनेछ । यो क्रान्ति (१) यो सशस्त्र हुनेछ (२) जनमुक्ति सेना (जनसेना) अनिवार्य हुनेछ । (३) आम पार्टीपङ्क्ति नै सैन्यीकृत हुनेछ । (४) यसको प्रमुख निशाना दलाल पुँजीवाद र यसका संवाहकहरू हुनेछन् । (५) यसले राष्ट्रवादी/देशभक्तहरू, जनवादी वामपन्थी शक्तिहरू र असली लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नेछ । (७) यसले गाउँ र सहरलाई जोड्नेछ । (८) यसले किसान, मजदुर र मध्यम वर्ग (नयाँ श्रमिक वर्ग लाई साथ लिएर लड्नेछ । (९) वैज्ञानिक समाजवादी व्यवस्था स्थापना यसको मुख्य लक्ष्य हुनेछ । (१०) दुवै छिमेकी मित्र राष्ट्रसंँग देश र जनताको हितमा सहकार्य र हस्तक्षेपमा आलोचना र विरोधको नीति लिनेछ ।

यो नै मूलभूत रूपमा एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा हो । यसले शान्तिपूर्ण सङ्क्रमण र दलाल संसदीय व्यवस्था तथा भ्रष्टाचारयुक्त राजनीतिक व्यवस्थाको पूर्ण अन्त्य गर्दै देशलाई पूर्ण भ्रष्टाचारमुक्त, उत्पीडनमुक्त, बाह्य हस्तक्षेपमुक्त, पूर्ण स्वाधीन र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यलाई आफ्नो आदर्श बनाएको छ । यही नै एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशाको घोषित लक्ष्य हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार