मार्क्सवादका आधारभूत सिद्दान्तलाई स्वीकार गर्नेहरुलाई नै कम्युनिस्ट भनिन्छ ! जनवादी केन्द्रीयता ,सशस्त्र संघर्षको अनिवार्यता , वर्गसंघर्षको निरन्तरता र सर्वहारावर्गको (जनताको जनवादी) अधिनायकत्व यी चार चिजहरु मार्क्सवादका मुख्य चार अंगहरु ( हात खुट्टा,आँखा ,कान) हुन् ! यी चार चिजलाई अस्वीकार गर्नेहरु कम्युनिस्ट हुनै सक्दैनन् !

चार मध्य एकमात्रलाई अलग गर्दा मार्क्सवाद अपूर्ण ,अपाङ्ग हुन्छ ! अपाङ्ग र अपूर्ण मार्क्सवादको प्रयोग असम्भव र आत्माघाती हुन्छ ! वर्नस्ताईन , काउत्स्की , ख्रुस्चोव,गोर्वाचोव ,तेङ्ग हुदैँ मदन भण्डारी र केपी – पीके सम्मका संसारभरका संशोधनवादी र नव प्रतिक्रियावादीहरु संग क्रान्तिकारीहरुको मुख्य मतभेदका बिषय भनेकै यी चार चिज हुन ! क्रान्तिकारीहरु यसलाई मृत्युपर्यन्त दह्रो ढंगले समात्छन ! सबैखाले संशोधनवादीहरु र प्रतिक्रियावादीहरु मार्क्सवादका यी चार आधारभूत सिद्दान्तलाई अस्विकार गर्दछन परित्याग गर्दछन ! नेपालमा दशबर्षे जनयुद्धको थालनी प्रक्रियामा आन्तरिक र बाह्य भिषण बैचारिक संघर्षहरु भए !

आन्तरिक बैचारिक संघर्षको राप र ताप बाट पार्टी भित्रको क्रान्तिकारीधार वर्गसंघर्षको उच्चतम बिन्दु जनयुद्धमा प्रवेश ग-यो ! त्यो तुफानी अन्तर संघर्षको ज्वारभाटाले पार्टी भित्रकै दक्षिणपन्थी धारलाई पार्टीको घेरा बाहिर फ्याकिदियो ! बाहिर फ्याकिएको त्यो दक्षिणपन्थी धार जनयुद्धको अवधिभर ढुलमुल ,अस्थिर र अवसरवादी प्रकारको भूमिकामा रह्यो ! क्रान्तिकारी कित्तामै रहेतापनि सांगठनिकरुपमा जनयुद्धको पहललिने क्रान्तिकारी पार्टी भन्दा पहिल्यै देखि बाहिर रहेका बिभिन्न समुहहरुमा जनयुद्धको थालनीले हलचल पैदा गरिदियो ! जनयुद्धको समर्थन र बिरोधमा ति समुहहरु चिरा चिरा पर्न थाले ! विभिन्न समुहमा रहेका क्रान्तिकारीहरु सामुहिक तथा व्यक्तिगत रुपमा धमाधम जनयुद्धमा लामबद्ध भए ! अर्कोतिर ति समुहहरु भित्रका दक्षिणपन्थिहरु क्रान्तिकारी गतिबिधिका बिरुद्ध प्रतिक्रियावादीहरुको फड्के किनाराका साक्षि बने !

देश र जनताको मुक्तिका निम्ति लडीयको जनयुद्धमा नेपाल आमाका सबभन्दा असल हजारौ छोराछोरीहरुले बलिदान दिए ! कैयौ बेपत्ता भए ! कैयौ अंगभंग भए ! देशभर जनसत्ता स्थापना भए ,जनअदालत गठन भए ! देशको ठुलो हिस्सा क्रान्तिकारीहरुको मुक्त क्षेत्र बन्यो ! छोटै समयमा जनयुद्ध केवल जनयुद्ध मात्र रहेन त्यो त् महान जनयुद्ध बन्यो ! प्रतिक्रियावादीहरु आमने सामने लड्न सकेनन उनीहरुले छलछाम,षड्यन्त्र र तिकडमहरु गर्न थाले ! जनयुद्धको लिडरसीपको टिमलाई उनीहरुले आपनो पक्षमा आउन सक्ने र आउन नसक्ने गरि दुइ कित्तामा हुनसक्ने विश्लेषण गरे ! आफ्नो पक्षमा आउनसक्ने सम्भावना भएकालाई प्रलोभनको जालमा फसाउने ! र आफ्नो पक्षमा आउन नसक्नेलाई दमन गरेर सिध्याउने योजना बनाए ! देशी,बिदेशी प्रतिक्रियावादीहरुको त्यही योजना अनुरुप प्रचण्ड-बाबुराम प्रलोभनमा फसे ,किरण-गौरवहरु भारतीय जेल परे !

जनयुद्धको मुख्य लिडरसीप प्रचण्ड प्रतिक्रियावादी षड्यन्त्रको शिकार बनेर प्रलोभनको जालमा फसे पश्चात महान जनयुद्धले गम्भीर धक्का खायो ! दुनियाँभरका गद्दारहरुले गरेजस्तै क्रान्तिको बाटो बदल्ने, शान्तिपूर्ण संक्रमण गर्ने, शहर भित्रै पसेर शहर कब्जा गर्ने , प्रतिक्रियावादी सत्ता भित्र छिरेर त्यसलाई परिवर्तन गर्ने आदि ईत्यादि विभिन्न बहानामा प्रचण्ड-बाबुरामले क्रान्तिप्रति गद्दारी गरे ! यसरी महान जनयुद्ध प्रति , महान क्रान्ति प्रति गद्दारी भयो ! एउटा महान अभियानको अन्त्य भयो ! महान जनयुद्धको अस्वभाविक अवसान पश्चात क्रान्तिकारी नेता कार्यकर्ताहरुको एउटा ठुलो हिस्सामा बिचलन ,निराशा र पलायनको भाव देखियो ! यो खासमा फौजी क्षेत्रमा बढी देखा प-यो ! राजनैतिक क्षेत्रमा पनि त्यसको पर्याप्त असरहरु देखिएता पनि फौजी क्षेत्रमा भन्दा केहि कम नै देखियो !

राजनैतिक क्षेत्रमा रहेका नेता कार्यकर्ताहरु मध्य कतिपयले अत्यन्तै प्रतिकुल परिस्थितिमा पनि आफ्नो आस्था र निस्थालाई कतै बन्धकी राखेर हिडेको देखिदैन ! उनीहरु भोकै,नाङ्गै भएपनि आस्था बचाएर हिडेको देखिन्छ ! कतिपयले चाही बिचार,द्रिस्तिकोणको सवालमा पूर्णतया आफ्नो आस्था बिपरित नै भएपनि, फरक धारको नै भएपनि राजनैतिक संगठनमा नै आफुलाई सेटल गरेको देखिन्छ ! अर्थात उनीहरुपनि सारमा राजनैतिक मैदान देखि भागेको देखिदैन ! तर फौजी क्षेत्रमा रहेका लगभग धेरै जसो नेता,कार्यकर्ताहरु जनयुद्धको अनावस्यक र अस्वभाविक बिसर्जन पश्चात अत्यन्त्यै हतास र निराश भएको देखिन्छ ! यी मध्य धेरैले राजनैतिक जीवन देखि अलग भएर अन्य पेशा,ब्याबसाय अंगालेको तथा बिदेशी गल्लीहरुमा भौतारिएको देखिन्छ ! यहासम्मकी कतिपयले त फौजी क्षेत्रमा सिकेका आफ्ना ज्ञान,सीप र क्षमतालाई गलत ढंगले , गलत नियतले दुरुपयोग गरेको पनि देखिन्छ ! गद्दारहरुको गद्दारीको कारण नेपाली क्रान्तिले धक्का खाएपश्चात क्रान्तिका गद्दारहरु र क्रान्तिकारीहरु बीच पार्टीभित्रनै फेरि पेचिला अन्तरसंघर्षहरु भए ! त्यो अन्तरसंघर्षको क्रममा नै क्रान्ति भित्र क्रान्तिका निम्ति पार्टी भित्र पार्टी बन्दै अन्तत : महान जनयुद्धको जगमा टेकेर नया क्रान्तिको निम्ति,नया संघर्षको निम्ति नयाँ अभियानको निम्ति नयाँ पार्टी बन्यो ! हो, पार्टी बन्न सक्छ यो मुख्य कुरा होईन !

मुख्य कुरा त क्रान्तिकारी पार्टी कसरी बनाउने भन्ने हो ! महान माओ भन्नुहुन्छ : ‘ क्रान्ति कुनै भोजभतेर होईन ‘ अबस्य : क्रान्ति सामान्य कुरा होईन ! यो असामान्य काम सम्पन्न गर्नका निम्ति सामान्य पार्टीले पुग्दैन ! त्यसको निम्ति क्रान्तिकारी पार्टीनै चाहिन्छ ! क्रान्तिकारी पार्टी निर्माणको निम्ति क्रान्तिकारी सिद्दान्त, बिचार, दृष्टिकोणका साथै क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी कार्यशैली अत्याबस्यक पर्दछ ! महान जनयुद्धको दुखद अवसान संगै महान जनयुद्धको पवित्र चिहान बाट खतरनाक मनोरोगका बिषालु किटाणुहरुको जन्म भयो ! ति बिषालु किटाणुहरुको आक्रमणको कारण क्रान्तिकारी आन्दोलनको एउटा कुनामा खतरनाक मनोरोगका लक्षणहरु देखा परे ! खतरनाक मनोरोगका बिषालु किटाणु संक्रमित मनोरोगी ब्यबहारबाट क्रान्तिकारी पार्टी निर्माणमा डिस्टर्भ हुदै आईरहेकोछ ! क्रान्तिकारी सिद्दान्त ,बिचार , द्रिस्तिकोण अपनाउने सवालमा जस्तै क्रान्तिकारी कार्यदिशा निर्माणगर्ने र क्रान्तिकारी कार्यशैली अवलम्बन गर्ने सवालमा पनि मनोरोगीहरुले सधै बाधा उत्पन्न गर्दछन ! महान जनयुद्धको खरो समर्थक बनेर रुपमा अति क्रान्तिकारी देखिने ति मनोरोगीहरु सारमा क्रान्तिकारी पार्टी निर्माणको बिरोधी हुन !

चाहे एकता र धुर्वीकरणको प्रक्रियामा होस्, चाहे बिचारको बहसमा,चाहे जिम्मेवारी विभाजनमा होस्, चाहे मर्यादाक्रमको सवालमा, चाहे बरिस्ठता क्रमको सवालमा होस, चाहे सरुवा-बढुवाको सवालमा या अन्य हरेक ठाउमा प्रत्यक्ष/अप्रत्यक्ष ढंगले महान जनयुद्ध जोड्नु, जनयुद्ध लडेका/नलडेका बीच लक्षमण रेखा कोर्नु उक्त मनोरोगको मुख्य लक्षण हो ! चाहे सफल होस् चाहे असफल त्यो खतरनाक मनोरोगले आफ्नो लक्षण देखाईरह्नु उसको नियमित काम हो ! महान जनयुद्ध साच्ची नै महान थियो तर महान जनयुद्धको चिहानबाट जन्मेको बिषालु किटाणुद्वारा संक्रमित मनोरोग अत्यन्तै खतरनाक र डरलाग्दो छ ! यो खतरनाक मनोरोग समग्र क्रान्तिकारी आन्दोलनको बिरोधी हो ! कमीकमजोरी हरेक ठाउमा हुनसक्छन त्यसको आलोचना/आत्मालोचना आ-आफ्ना ठाउमा हुन्छन ! तर महान जनयुद्धका त्याग,बलिदान र योगदानको उच्च मुल्यांकन नगर्ने सायद क्रान्तिकारी हुनै सक्दैन !

इतिहासमा कसैले जनयुद्ध लड्यो त्यो अत्यन्तै सम्मानको विषय हो त्यसको कदर हरेक क्रान्तिकारीले गर्ने पर्दछ ! तर नेता,कार्यकर्ताको समग्र मुल्याङ्कनको सवालमा विगतमा जनयुद्ध लड्नु नै मुख्य कुरा हुन सक्दैन ! विगतमा जनयुद्ध लडेको विषय बर्तमानमा सम्बन्धित पात्रको मुल्याङ्कनको एउटा पाटो अबस्य बन्न सक्छ, बन्नुपर्दछ ! मुल्याङ्कनको सवालमा विगतमा जनयुद्ध लडेका र बर्तमानमा क्रान्ति प्रति उत्तिकै लगाव र झुकाव भएका ,सक्षम र क्रियाशील कमरेडको निम्ति बिगतको सबल ईतिहास ‘ सुन मा सुगन्ध ‘ चाही अबस्य हुनसक्छ ! तर निर्णायक पाटो कदापि बन्न सक्दैन ! किनकी सबभन्दा महत्वपूर्ण र निर्णायक कुरा बर्तमान हो ! बिगत एउटा थियो , भबिस्य अर्को होला त्यो आ-आफ्नो ठाउमा छ तर वास्तवमा बर्तमानमा को कहा छ ? के गर्दै छ ? त्यो नै मुख्य कुरा हो ! बिगतमा प्रचण्ड-बाबुरामले जनयुद्धको नेतृत्व गरे अब प्रश्न गरौ : हिजो जनयुद्धको नेतृत्व गरे कै कारण के अबको क्रान्तिको नेतृत्व पनि उनीहरुले नै गर्न सक्छन ? बिगतमा पासाङ्ग ,प्रभाकर ,अनन्त ,बलदेव जनमुक्ति सेनाका कमान्डर बने ! इतिहासको एउटा पानामा उनीहरु सम्मानित पात्र बने ! तर हिजो उनीहरु जनमुक्ति सेनाको कमान्डर बनेकै कारण के अबको जनक्रान्तिमा पनि कमान्डर बन्न सक्छन ?

पार्टी एकताकाबारे बहस गर्दा, धुर्वीकरणका कुरा गर्दा जनयुद्धलाई मात्र आधार बनाईयो भने हाम्रो एकता र धुर्वीकरणका हातहरु निश्चय पनि प्रचण्ड-बाबुरामका हातहरुसंग जोडिन पुग्छन ! के प्रचण्ड-बाबुरामसंगको एकताले क्रान्तिलाई फाईदा पुग्ला ? हिजो कसैले जनयुद्ध लड्यो उ आज पार्टीको नेता मानिन्छ ! तर वर्तमानमा उ क्रियाशील छैन ,सक्षम छैन र क्रान्तिप्रति उसको कुनै समर्पण छैन, लगाव छैन,झुकाव छैन ! के हिजो जनयुद्ध लडेकै कारण क्रियाशीलता ,क्षमता र समर्पण नभयपनि उसलाई नै नेतृत्वमा राख्नै पर्ने ? उसलाई नै नेता मान्नै पर्ने ? पार्टीमा बिचारको बहस भयो त्यो क्रममा ‘ कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर ‘ गर्दै त्यो बिचारको बहस भित्र जनयुद्ध लडेको र नलडेको भन्ने गोबर हालियो भने त्यो बहस कहाँ पुग्ला ? पार्टीमा सरुवा,बढुवा र घटुवा नियमित प्रक्रिया हुन् त्यो नियमित प्रक्रिया भित्रपनि त्यो मनोरोगको बिषालु किटाणु पस्यो र आफ्नो लक्षण देखायो भने उक्त प्रक्रियाको परिणाम के होला ? बिगतमा कसैले जनयुद्ध लड्ने अवसर पाएन ! तर बर्तमानमा उ क्रान्ति प्रति समर्पित छ, क्रियाशील छ क्षमतावान छ र आगामी क्रान्तिको कमान्डर बन्न उ लाएक छ ! के बिगतमा जनयुद्ध नलड़ेकै कारण उसलाई हरेक ठाउमा निषेध गर्ने ?

के बिगतमा जनयुद्ध नलड्नेहरु सबै अबको क्रान्तिका निम्ति सधै अयोग्य बने ? के बिगतमा जनयुद्ध लड्नेहरु सबै अबको क्रान्तिका निम्ति पनि योग्य नै छन त ? के नेपाली क्रान्तिको अबको कार्यभार पुरा गर्ने अधिकार हिजो जनयुद्ध लड्नेलाई मात्र छ ? कुनै व्यक्ति या समुह तत्कालिन महान जनयुद्धको रथ चढ्न सकेन उ छुत्यो ! तर नेपाली क्रान्तिलाइ सम्पन्न गर्नको निम्ति आज एकीकरण र धुर्वीकरणको निम्ति उ तयार छ ! के बिगतमा महान जनयुद्धको रथ नचढे कै कारण उ एकीकरण र धुर्वीकरणको निम्ति अयोग्य बन्यो ? के नेपाली क्रान्तिको बाकि कार्यभार पुरा गर्न हिजो जनयुद्ध लड्नेहरु मात्र पर्याप्त छन ? अबको क्रान्तिको निम्ति क्रान्तिकारी संगठन र आन्दोलनमा के नयाँ एकजना पनि थप्नु /थपिनु आवस्यक छैन ? तथापि : रोग अन्तत रोग नै हो त्यो जोकोहीलाई पनि लाग्न सक्दछ ! रोगलागीसके पश्चात त्यसको उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपायको खोजि गर्नु उत्तम हो ! यसको बावजुद रोग लागिसके पछि रोगलाई सामन्य सुधार गर्ने भन्दापनि त्यसलाई निर्मुल पार्न पहिलो प्रयास हुनुपर्दछ ! कुनैपनि रोग लाग्नु भनेको बिरामी हुनु हो ! बिरामी हुने कसैको इच्छा होइन !

हरेक बिरामीले आफ्नो सिघ्र स्वास्थ्य लाभको चाहना गर्दछ ! बिरामीलाई उपचारको निम्ति मद्दत गर्नु र उसलाई रोगमुक्त बनाउन सहयोग गर्नु सबैको कर्तब्य हो ! ‘ रोगीलाई घिर्ना होईन उपचार गर ‘ को नीति अनुरुप महान जनयुद्धको अस्वभाविक अवसान पश्चात पैदा भएको खतरनाक मनोरोगको संक्रमणले ठलिएका साथी संगीहरुको उपचारमा खट्नु क्रान्तिकारीहरुको कर्तब्य हो !

किनकि त्यसप्रकारको खतरनाक मनोरोगको पीडित पात्रहरुको उचित उपचार गरेर रोगमुक्त मर्न सकिएन भने क्रान्तिले ठुलो नोक्शानी व्यहोर्नुपर्ने कुरामा दुईमत छैन !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार