
लामो समयदेखि मानवजातिले प्रतीक्षा गर्दै आएको उत्कृष्ट समाज व्यवस्था ‘समाजवाद/साम्यवाद’ अब साकार बन्दै छ । कम्युनिष्ट आन्दोलनभित्रसमेत समाजवाद/साम्यवादलाई सुदूरभविष्यको विषय भनिदै आएको थियो । तर अब यो बहस अर्थहिन बनेको छ । किनभने यसको लागि आवश्यक भौतिक पूर्वाधार अब तयार भइसकेको छ । जडशुत्रको चस्मा लगाएर उदाइरहेको समाजवादी व्यस्थालाई नदेख्ने या नचिन्ने अक्षम्य गल्ती अब कम्युनिष्टहरुले गर्न मिल्दैन ।
विगतमा समाजवाद बहसको विषय मात्र थियो, तर अब यो भौतिक रुपमै उदय भइरहेको देख्न सकिन्छ । कम्युनिष्ट पार्टीहरुले समाजवादलाई बहसमै सीमित गर्न मिल्दैन, बरु कस्तो समाजवाद निर्माण गर्ने ? नेपालमा समाजवाद कस्तो र कसरी ? शुरु कहाँबाट र केबाट गर्ने ? ध्यान यता केन्द्रीत हुनुर्दछ । तर यी सबै कामका लागि चाहिने आइडिया अब माक्र्सवादमा वा माक्र्सको पुँजीमा मात्र खोजेर भेटिंदैन, त्यसका लागि विज्ञान–प्रविधिले कसरी काम गरिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । किनभने विगतको पुँजीवादले श्रमिकको अतिरिक्त श्रम शोषण गरेर पुँजीको संकलन गर्दथ्यो तर अहिलेको पुँजीवाद विज्ञान–प्रविधिको जगमा उभिएको छ । यसलाई अतिरिक्त पुँजीको लागि अब श्रमिकको श्रम शोषण गर्नु पर्दैन, त्यसका लागि अत्याधुनिक स्वचालन मेसिनहरुको उपयोग तीव्र रुपमा बढिरहेको छ । विस्तारै उद्योगहरुबाट मानव श्रम विस्तापित हुँदै गएको छ । त्यसको स्थापन आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालित मेसिनहरु र रोबोटले लिइरहेको छ । चिन्ताको विषय के छ भने, रोजगारीबाट श्रमिकहरु विस्थापित हुने प्रक्रिया व्यापक बन्दैछ र बेरोजगारी ठूलो समस्या बन्दै गएको छ ।
पुँजीपतिहरुले विज्ञान–प्रविधिको उपयोग गरेर उद्योगबाट श्रमिकहरु निकालिरहेको घटनासँग समाजवादको गहन सम्बन्ध छ । पुँजीपतिहरुले प्रविधिको प्रयोग गरेर प्रचुर र थोरैभन्दा थोरै लागतमा वस्तुहरुको उत्पादन गर्नुको अर्थ हो धेरैभन्दा धेरै बिक्री गर्नु र बढीभन्दा बढी नाफा कमाउनु । यदि यहीँ निर समुदायहरु मिलेर समुदायलाई आवश्यक पर्ने वस्तुहरु तथा सेवाहरुको सामुहिक रुपमा विज्ञान–प्रविधिको उपयोग गरेर उत्पादन गर्ने हो भने के हुन्छ ? कल्पना गरौं, यो काम विश्वभरका समुदायहरुले सामुहिक रुपमा गर्न थाल्ने हो भने के हुन्छ ? हामी सहजै अनुमान गर्न सक्छौं कि लगभग शून्य लागतमा प्रचुर उत्पादन सम्भव छ । साथै यसरी उत्पादन गरिएका वस्तुहरु र सेवाहरु लगभग निःशुल्क अथवा थोरै मूल्यमा समुदायले प्राप्त गर्नसक्नेछन् । यसले विश्वका हरेक समुदाय आत्मनिर्भरता तर्फ अग्रसर हुनेछ, एउटा समुदायले अर्को समुदायसँग आफूहरुले उत्पादन गरेका फरक वस्तुहरु शेयर गर्न सक्नेछन् । यसो भयो भने नाफामा आधारित पुँजीवादी बजार विघटन हुनेछ । तर यो कल्पनाको विषय मात्रै होइन, यस्तो यथार्थमा देखिन थालेको छ ।

विश्वप्रसिद्ध अर्थशास्त्री तथा समाजशास्त्री जेरेमि रेफ्किनले यस सम्बन्धमा आफ्नो पुस्तक जिरो मार्जिनल कष्ट सोसाइटी सुस्पष्ट रुपमा व्याख्या गरेका छन् । उनले लेखेका छन्–
यदि वाष्प इन्जिनले मानव जातिलाई मुक्त गरेर पुँजीवादी बजारमा भौतिक स्वार्थ खोज्न लगायो भने वस्तुहरुको इन्टरनेटले मानव जातिलाई बजार अर्थतन्त्रबाट मुक्त गरेर सहयोगी समुदायमा अभौतिक साझा हित खोज्न लगाउँदछ । लगभग शून्य सीमान्त लागत समाजमा हाम्रा आधारभूत भौतिक आवश्यकताहरुमध्ये अधिकांश करिब निःशुल्क पूरा हुनेछन् । इन्टेलिजेन्ट टेक्नोलोजीले त्यो अर्थतन्त्रमा अधिकांश भारी काम गर्नेछ, जुन दुर्लभताभन्दा प्रचुरतामा केन्द्रित हुनेछ । अबको आधा शताब्दीपछि हाम्रा भावी सन्ताहरु बजारमा बृहत रोजगारीको युगलाई त्यसैगरी हेर्नेछन्, जसरी हामी विगतका दास व्यवस्था र भूदास व्यवस्थालाई हेर्दछौं । मानव जातिको मूल्यलाई पूर्ण रुपमा उसको वस्तु तथा सेवामा प्राप्त लाभ र भौतिक सम्पत्तिद्वारा मापन गरिन्छ भन्ने विचार नै आदिम, अझ बर्बर देखिने छ र त्यसलाई अत्यन्तै स्वचालित संसारमा बस्ने हाम्रा बंशको लागि भयानक मानवीय क्षति मानिनेछ, जहाँ अधिकांश जीवन सहयोगी समाजमा रहनेछ ।
जेरेमीको यो तर्क उदीयमान विश्वको चित्रण हो । अहिले विश्वभर ठूलो संख्यामा शिक्षित र दक्ष श्रम रोजगारभन्दा बाहिर छन् र विस्तारै उनीहरु प्रविधिको प्रयोग गरेर स्वरोजगार बन्दैछन् । रोजगारीको खोजीमा हिडेर थाकिसकेका युवाहरु अब आफ्ना लागि आवश्यक वस्तुहरु आफै उत्पादन गर्न लागिरहेका छन् । यो क्रम बढ्दो छ । समायोगी समाजको उदयलाई हेरेर के भन्न सकिन्छ भने केही दशकमै नाफाका लागि पुँजीपतिहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरु किन्ने ग्राहकहरु घट्दै लगभग शून्य हुनेछ, किनभने समुदायले आफ्नो लागि चाहिने वस्तुहरु आफै उत्पादन गर्नेछन् । त्यो पनि थोरै लागतमा तर प्रचुर । अब अभावहरु प्रचुरताबाट विस्थापित हुनेछन् । लनलाइन, स्वचालित मेशिन र आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग गरेर समुदायहरुले लगभग शून्य सीमान्त लागतमा वस्तुहरु उत्पादन गरेर र लगभग निःशुल्क उपलब्ध गराएर शोषणको अन्त्य गर्दैछन् । यसरी पुँजीपतिहरुको शोषणबाट समाज मुक्त हुनेछ । यी सबै कुराहरु आंसिक रुपमा यथार्थमा रुपान्तरण भइरहेका छन् । लाखौं-करोडौं युवाहरु यो कार्यमा सहभागी भइरहेका छन् ।
हामी केही दशक पछाडि फर्केर हेरौं । प्रदेशबाट पठाएको पत्र आइपुग्न महिनौं लाग्थ्यो । त्यो पत्रमा लेखिएको समाचार यतिधेरै बासी हुन्थ्यो कि त्यसबेलासम्म अरु थुप्रै घटनाहरु घटिसकेका हुन्थे, तर पनि हामीलाई केही महिना अघिको पत्रमा आएको सन्देश निकै ताजा लाग्थ्यो । तर अहिले समय बदलिएको छ । केही सेकेन्डमा संसारको जुनसुकै कुनामा भएका आफन्तसँग हामी प्रत्यक्ष कुराकानी गर्न सक्छौं, भिडियोमा गतिविधि हेर्न सक्दछौं । यो सबै गर्न लगभग निःशुल्क सम्भव भएको छ । त्यसैगरी केही दशक अघि कुनै फिल्म हेर्ने कुरा निकै कठिन र महंगो थियो, तर अब त्यो इन्टरनेटमा निःशुल्क प्राप्त गर्न सकिन्छ र त्यो पनि प्रचुरमात्रामा । त्यतिमात्रै होइन, इन्टरनेटमा भएका कुनै पनि सूचना, पुस्तक, भिडियो इत्यादि अर्बौ युजरहरुले एकै समयमा हेर्न सक्दछन् र शेयर गर्न सक्दछन् ।
यतिवेला विश्वभरी लकडाउनको अवस्था छ । यो समयमा सम्पूर्ण जस्तो छलफल, भेलाहरु जूम मिटिङमा भइरहेका छन् । जूम मिटिङ एउटा एप हो । यो एपमा हजारौं, लाखौं माइल टाढा दूरीमा रहेरका सयौं मानिसहरु जोडिन सक्दछन् र आफ्ना संस्थाका बारेमा, राजनीतिक पार्टीका बारेमा या कुनै विषयमा प्रत्यक्ष सम्वाद÷बहस गर्न सक्दछन् । इन्टरनेट र अनलाइन प्रविधिले संसारभरका मानिसहरुलाई एउटै भर्चुअल जोनमा ल्याइदिएको छ । हामी असीमित आवश्यकता र सीमित स्रोत साधनको युगबाट सीतिम आवश्यकता असीमित वस्तु तथा सेवाहरुको युगमा प्रवेस गरिरहेका छौं । धेरै मूल्य तिरेर वस्तु तथा सेवाहरु प्राप्त गर्नु पर्ने युगबाट हामी लगभग निःशुल्क वस्तु तथा सेवाहरु प्राप्त गर्न सकिने युगमा प्रवेस गरिरहेका छौं ।
उत्पादनको क्षेत्रबाट मानव श्रम विस्थापित हुँदै गएको छ र त्यसको स्थान विज्ञान–प्रविधिले लिइरहेकोे छ । हामी देखिरेहका छौं विगतमा हजारौं मजदुरहरुले महिनौं र वर्षौ लगाएर गर्ने काम अहिले प्रविधिले असाधारण रुपमा थोरै समयमै मानव श्रमलेभन्दा कुशलतापूर्वक सम्पन्न गरिरहेको छ । थ्रीडी प्रिन्टिङहरुले प्राय सबै वस्तुहरु प्रिन्ट गरिरहेका छन् । मूर्तिलगायतका कलात्मक क्षेत्रका सबै उत्पादनहरु थ्रीडी प्रिन्टिङले थोरै लागतमा थोरै समयमा प्रिन्ट गर्न सम्भव भएको छ । थ्रीडी प्रिन्टिङ मेसिनले अहिले मानिसका लागि आवासहरुसमेत प्रिन्ट गरिरहेको छ । र उत्पादनहरुलाई लगभग शून्यको नजिक लगिरहेको छ ।
इँटा र ढुंगाबाट बनेका पसलहरुबाट ग्राहकहरु तीव्र रुपमा अनलाइन पसलतर्फ आकर्षित भइरहेका छन् । वर्तमान युगका इन्टरनेटहरु सूचनाहरुमा मात्र उत्पादन गरिरहेका छैनन्, बरु वस्तुहरु पनि उत्पादन र डेलिभरी गरिरहेका छन् । वस्तुहरुको इन्टरनेटले सारा सेवाहरु ग्राहकको दैलोमा पुर्याउन शुरु गरिसकेको छ र यो क्रम निकै द्रूत गतिमा बढिरहेको छ । साथै यसले नाफामुखी ठूला उद्योगहरुको स्थान ग्रहन गरिरहेका छन् ।
आउँदो केही दशकभित्र विशाल महाद्वीपीय र विश्वव्यापी नेटवर्कका उपभोक्ताहरूले हरित ऊर्जाका साथै भौतिक वस्तुहरू र सेवाहरू उत्पादन गर्ने, साझा बनाउने र शून्य सीमान्त लागतमा अनलाइन भर्चुअल कक्षा कोठामा शिक्षा लिने गरी अर्थतन्त्रलाई लगभग निःशुल्क वस्तुहरु र सेवाहरु उपलब्ध हुने युगमा पुर्याउनेछन् ।
अनलाइन विश्वविद्यालयहरुले शिक्षालाई व्यापक र लगभग निःशुल्क बनाउँदै लगेको छ । विश्भरिका मानिसहरु हजारौं माइलको दूरीमा रहेर पनि एकसाथ अनलाइन कक्षाहरुमा सिकिरहेका र अनुभवहरु आपसमा शेयर गरिरहेका छन् र यो शिक्षा लगभग निःशुल्क छ । यति मात्रै होइन, अनलाइन विश्वविद्यालय र कलेजको शिक्षा बन्द कक्षाकोठाको पढाइभन्दा उत्कृष्ट छ । विस्तारै परम्परागत बन्द कक्षाकोठामा सञ्चालित स्कुल, कलेज र विश्वविद्यालयहरुका शिक्षाको स्थापन भर्चुअल अनलाइन स्कुल र विश्वविद्यालयले लिइरहेको छ । अनलाइन कक्षाको प्रभाव कति छ भन्ने कुरा अहिले यो लक डाउनको समयले पनि हामीले केही मात्रामा अनुभव गरिरहेका छौं । हामी अहिले नै सूचना र भिडियोहरु अनलाइनमा निःशुल्क प्राप्प गरिरहेका छौं ।
उत्पादन सम्बन्धमा आएको परिवर्तनले सामाजिक सम्बन्धहरुमा व्यापक फेरबदल आएको छ । सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले विश्वबाट हुलाक सेवा विस्थापित भएको छ र सूचना सेवा लगभग निःशुल्क बनेको छ र त्यो हरेकको हात हातमा पुगेको छ ।
समाजवादको उदय
समाजवादका मुख्य तीन शर्तहरु थिए– निजी स्वामित्वको अन्त्य, मानवीय आवश्यकता पूरा गर्ने साधनहरुको प्रचुरता र समानता । वर्तमान विज्ञान–प्रविधिले समाजवादको यी तिनै शर्त सर्त पुरा गर्न सम्भव बनाइदिएको छ । महान सोभियतसंघ ढल्नुका थुप्रै कारणहरुमध्ये यी तीन सर्तहरु तत्कालिन मानव श्रमबाट पुरा हुन नसक्नु पनि थियो । सामाजिक र सामूहिक श्रमबाट समाजवादका ती सर्तहरु पुरा गर्न सकिन्छ भन्ने माक्र्सवादको धारणा थियो । तर, व्यवहारत त्यो सर्त मानव श्रमले पुरा गर्न सकेन । सोभियतसंघ ढल्यो । संसारभरका पुँजीवादीहरुले त्यसको उपलक्ष्यमा ठूलो भोज गरे । तर समाजवाद फेरि आफ्नो भौतिक परिस्थितिको मजबुतिसहित उदाएको छ । यसको मुख्य भूमिकामा विज्ञान–प्रविधि रहेको छ ।
समाजवादको पहिलो शर्त हो– निजी स्वामित्वको अन्त्य । निजी स्वमित्वको प्रारम्भ मावन श्रम थियो । आदिम युगमा निजी स्वामित्वका वस्तुहरु थिएनन् । प्रकृतिमा जे भेटिन्छ त्यहि सामूहिक रुपमा संकलन गर्ने र बाँडेर खाने गरिन्थ्यो । त्यतिवेला सजिलो के थियो भने एउटा समूह एउटा परिवार हुन्थ्यो । परिवार र समाजको भेद थिएन । वितरणमा समानता थियो । त्यो व्यवस्थालाई आदिम साम्यवाद पनि भनियो । जब मानिस प्रकृतिमाथिको निर्भरताबाट आफै उत्पादन गर्ने कृर्षी युगमा आयो तब निजी स्वामित्वको जन्म भयो । उत्पादनमा मानव श्रमको प्रयोगसँगै निजीस्वमित्वको सुरुवात भएको पाइन्छ । त्यसकारण समाजवादको निजी स्वामित्व अन्त्य गर्ने सर्त पुरा गर्न उत्पादनको क्षेत्रबाट मानव श्रमको विस्थापन हुन जरुरी थियो । सोभियत समाजवादको समयमा उत्पादनबाट मानव श्रम विस्थापित गर्न सकिने भौतिक परिस्थितिको निर्माण भएको थिएन । तर वर्तमान युगमा उत्पादनको क्षेत्रबाट मानव श्रम लगभग विस्थापन भएको छ त्यसको स्थान रोबोट, स्वचालन यन्त्र र आर्टिफिसियल इन्टेलिजेन्ट र थ्रीडी प्रिन्टिङ मेसिनले लिएको छ ।
विज्ञान–प्रविधिको असाधारण क्षमताका कारण वस्तुहरुमाथिको निजी स्वामित्वलाई संकुचित बनाउँदै लगेको छ । धेरैजसो वस्तु तथा सेवाहरु निजी स्वामित्वबाट अलग बनिरहेका छन् । उदाहरणका लागि इन्टरनेट र अनलाइनमा भएका वस्तुहरु लगभग साझा स्वामित्वमा बदलिएका छन् । हामी निजीकरण गर्न नमिल्ने या गर्न नपर्ने युगतर्फ प्रवेश गरिरहेका छौं । यसले समाजवादलाई सम्भव बनाइदिएको छ ।
समाजवादको दोस्रो शर्त मानवीय आवश्यकता पूरा गर्ने साधानहरुको प्रचुरता हो । विज्ञान–प्रविधिको असीमित तथा विशाल क्षमताबाट यो शर्त पूरा भइरहेको छ । तपाई अहिले इन्टरनेटमा बस्नुभयो भने त्यहाँ पाइने भेराइटिहरुको तुलनामा तपाईका आवश्यकता सारै थोरै भएका छन् । इन्टरनेटमा भएका चिजहरु हामीले उपयोग गरेर नसक्ने अवस्था छ । हामी आवश्यकता र छनोट गरेर इन्टरनेटमा उपलब्ध सामग्रीहरुको उपयोग गछौं । फेरि ती यति व्यपक छन् कि एउटै समयमा एउटै आइटम पृथ्वीका अरवौं मानिसहरुले उपयोग गर्न सक्दछन् ।
यदि औधोगिक क्षेत्रमा स्वचालन र आर्टिफिसियल इन्टेलिजेन्ट प्रविधिको प्रयोगदर कायम वा बृद्धि हुँदै गयो भने विश्लेषकहरूका अनुसार सन् २०४० सम्म कारखानाको रोजगार केही लाख मात्र हुने सम्भावना छ । त्यसबाट विश्वमा वृहत कारखाना श्रमको अन्त्य हुनेछ । रोबोट निर्माण गर्न, उत्पादन प्रवाह प्रबन्धको लागि नयाँ सफ्टवेयर एप्लिकेशन सिर्जना गर्न र प्रोग्रामहरू र प्रणालीहरू मर्मत र अपग्रेड गर्न आवश्यक पर्ने केही मानव श्रमको स्थान पनि आर्टिफिसियल इन्टेलिजेन्टले लिन थालिसकेको छ, किनभने यो आफै पुनः प्रोग्राम गर्न सक्षम हुँदैछ । प्रारम्भिक लागतबाहेक वस्तुको थप इकाईहरूको स्वचालित उत्पादनको सीमान्त श्रम लागत प्रतिदिन शून्यको नजिक हुँदै गइरहेको छ । यसरी शून्य लागतमा प्रचुर उत्पादन सम्भव हुन्छ भने निजी स्वामित्व र शोषणको सवाल किन रहन्छ ? वास्तवमै हामी अभावको युगबाट प्रचरताको युगतर्फ प्रवेश गरिरहेका छौं ।
त्यसैगरी समाजवादको तेस्रो शर्त समानता हो । श्रम–विभाजनको परिणामस्वरुप उदय भएको वर्गहरुको कारण मानिसहरुको बीचमा असमानताको शुरुवात भएको थियो । आज विज्ञान–प्रविधिले सबै कार्यहरुलाई सरल र समान बनाइदिएर मानिसहरुको बीचमा समानता हुने भौतिक परिवेसको सृजना गरिदिएको छ । हिजो पुरुषले काम गरेबापतको ज्याला र महिलाले कम गरेबापतको ज्यालामा असमानता थियो । त्यसको मुख्य कारण शारिरीक श्रम थियो । तर अहिले कुनै अफिसमा चाहिने श्रमिकको ज्याला उसको स्किलमा भर पर्छ, पुरुष र महिलामा हैन् । अहिले पारिश्रमीक काम गर्ने क्षमताका आधारमा हुन्छ । अब पुरुषले गर्न सक्ने काम महिलाले पनि उत्तिकै गर्न सक्छ । जस्तै एउटा हवाइजहाजको पाइलट महिला या पुरुष जो भए पनि त्यसले बोक्ने मान्छेको संख्या उतिनै हुन्छ । तर अब योभन्दा अघि बढेर प्रविधिले मानिसले गर्ने स्किलको काम पनि रोबोट र स्वाचालन यन्त्रहरुले गर्न थालिसकेको छ । यसले मानवलाई पूर्व स्वतन्त्र हुन सम्भव बनाउँदै छ ।
पुँजीवादी व्यवस्था हामीले सोचेजस्तो कमजोर छैन। यो आफ्नो अस्थित्वका लागि विश्वव्यापी रुपमा एकीकृत बनेको छ, आणविक हतियारसहित विश्वसामु खडा छ । अब यसलाई ध्वंस गरेर यसको खारानीमा नयाँ व्यस्था स्थापना गर्न सम्भव छैन । यदि त्यो गर्ने नै हो भने मानव सभ्यता नै खरानी बन्नसक्दछ । त्यसकारण निजी स्वामित्वका लागि प्रविधिको भरपुर प्रयोग गरेर बाँचिरहेको पुँजीवादी व्यवस्थालाई त्यसको समानान्तरमा विज्ञान–प्रविधिकै जगमा सामुदायिक स्वामित्वमा आधारित व्यवस्था खडा गरेर मात्र विस्थापन गर्न सम्भव छ ।







