
कम्युनिस्ट पार्टी ‘सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्व’को आधारमा चल्ने संगठन हो । पार्टी, संगठन र आन्दोलनलाई गतिदिनको निम्ति सक्षम र सुयोग्य नेतृत्वको एउटा टिम आवस्यकता पर्दछ । लेनिनका अनुसार कम्युनिस्ट पार्टी नेताहरुको पार्टी हो । क्रान्तिकारी संगठनमा एकाध होईन नेताहरुको विशाल टिम हुनुपर्दछ । संगठनमा नेताहरुको त्यो विशाल टिम भित्र एकजना मुख्य नेतृत्व हुन्छ र त्यो मुख्य नेतृत्वको वरिपरी पिरामिड शैलीमा अन्य विशेष नेतृत्वहरू रहन्छ ।
सक्षम र सुयोग्य मुख्य नेतृत्व आकस्मिक पैदा हुनेकुरा होईन र यो कसैको चाहनाले हुनेकुरा पनि होईन । वर्गसंघर्षको भट्टीबाट त्यसप्रकारको नेतृत्वको जन्म हुनेगर्दछ । र त्यहि वर्गसंघर्षको भट्टी भित्र नै कैयौ नेताहरु खरानी हुने र नया नेता जन्मने प्रक्रिया चलिरहन्छ । आन्दोलनको आवस्यकतामा आफ्ना गतिलाई अगाडी बढाउन सक्ने नेताहरुले आफुलाई परिस्कृत गर्दै अगाडी बढ्दै संघर्षको नेतृत्व गर्दछन त्यसको बिपरित आन्दोलनको आवस्यकतामा आफ्नो गतिलाई आगाडी बढाउन नसक्ने नेताहरु वर्गसंघर्षको भट्टीमा खरानी हुन्छन । विश्वभरको क्रान्तिकारी आन्दोलनमा जस्तै नेपालको क्रान्तिकारी आन्दोलनमा पनि त्यस्ता धेरै उदाहरणहरु छन ।
केशरजंग रायमाझीदेखि प्रचण्ड-बाबुरामसम्मको उत्थान र पतनको ईतिहास हेर्दा हामीले त्यहीकुरा देख्दछौ । कुनैदिन उनीहरुले आन्दोलनको नेतृत्व गरे तर उनीहरुले आन्दोलनको आवस्यकतामा आफुलाई बदल्न सकेनन, उल्टो आन्दोलनलाई नै आफ्नो अनुकुलतामा बदल्न खोजे त्यसकारण तिनीहरु खरानी भए । नेतृत्व गाडीको ड्राईभर हो, पानि जहाजको क्याप्टेन हो र हवाई जहाजको पालइट हो । अर्थात ऊ संगठनको मुख्य प्रश्न हो । उसमा पर्याप्त अनुभव,कला ,ज्ञान , सिप र क्षमता को गठजोड हुनुपर्दछ । गतिशिलता र दुरदर्शिता नेतृत्वको मुख्य गुण हुन् । नेतृत्व गतिशील भएन भने ‘गोरु अगाडी गाढा पछाडी’ झैँ आन्दोलन अगाडी नेतृव पछाडी हुन्छ र आन्दोलन दुर्घटनामा गएर टुंगिन्छ । नेतृत्वमा दुरदर्शिता अर्थात अन्य आन्दोलनकारीले भन्दा टाढासम्म देख्ने क्षमता भएन भने पनि आन्दोलन अर्को दुर्घटनामा फस्दछ । साथै ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने तथा अकर्मन्यता तोड्ने विशेष गुण नेतृत्वमा हुनुपर्दछ ।
‘क्रान्तिकारीनेतृत्व’वारे लेनिन भन्नुहुन्छ- ‘सर्वहारा दृस्टीकोणवाट लैस व्यक्ति जसको युद्धमा नेतृत्व आफ्नो हातमा जान्छ, जो अत्यधिक जोडदार रुपमा लड्छ ,जसले शत्रुमाथि लड्ने अवसर गुमाउदैन ,जसको काम सधैभरि कुरासित मिल्दो हुन्छ,जसले हरप्रकारको अर्धमार्गी नीतिहरुको आलोचना गर्दछ त्यहि नै जनतान्त्रिक शक्तिहरुको बैचारिक नेता बन्दछ’ हरेक चिजको जन्म आबस्यकताको कारण हुन्छ । नेता हरुको जन्म पनि आन्दोलनको आवस्यकता मा हुनेगर्दछ । अबस्य , आन्दोलनमा व्यक्तिको भूमिका निर्णायक हुदैन तर महत्वपूर्ण चाही हुन्छ । आन्दोलनमा सवभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति नै त्यो आन्दोलनको नेता हुन्छ, र आन्दोलनको निम्ति उ सबभन्दा महत्वपूर्ण व्यक्ति हुन्छ ।
कार्ल मार्क्सले मार्क्सवाद मार्फत सर्वहारा वर्गको मुक्तिको हतियार निर्माण गर्नुभयो । कार्ल मार्क्सले यो काम नगरेको हुन्थे भने पनि कसैले गर्दथ्यो । तर कैयौ बर्ष सायद सर्वहारावर्गले त्यो चिजलाई कुर्नुपर्ने हुन्थ्यो । त्यसकारण मार्क्सवादको जन्ममा कार्लमार्क्सको महत्वपूर्ण भूमिका रह्यो र कार्लमार्क्स महत्वपूर्ण व्यक्ति हुनुभयो । रुसमा लेनिन नभएको भएपनि कुनैदिन क्रान्ति अबस्य हुन्थ्यो तर १९१७ को अक्टोवर क्रान्ति चाही हुने थिएन । अक्टोबर क्रान्ति सम्पन्न गर्न लेनिनको महत्वपूर्ण योगदान रह्यो त्यसकारण लेनिन महान भए । माओ बिनानै चीनमा नयाँ जनवादी क्रान्ति त्याहाको आवस्यकतामा अबस्य हुन्थ्यो तर १९४९ मै सायद असम्भव थियो । १९४९ मा दृघकालिन जनयुद्धको कार्यदिशा मार्फत माओले चिन वाट जापानी साम्राज्यवादलाई धपाउनु भयो साथै सामन्तवादको पहरेदार चाङ् काई सेकलाई सत्ताच्युत गर्नुभयो । र चिनमा अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक अवस्था समाप्त भयो नयाँ जनवादको स्थापना भयो , त्यसकारण माओ महान हुनुभयो । विज्ञानको नियमहरु सास्वत हुन्छन ,ति नियमहरुलाई तोड मोड गर्न मिल्दैन । तर ति नियमहरुले निर्देशित गरेका चिजहरु अवस्यमभावी हुदाहुदैपनि स्वत प्राप्त हुदैनन । ति चिजहरुलाई प्राप्त गर्नको निम्ति सचेत पहलको आवस्यकता हुन्छ ।
आदिम साम्यवादलाई निषेध गरेर दास युग आयो, दास युगलाई निषेध गरेर सामन्तवाद आयो , सामन्तवादलाई निषेध गरेर पुजिवाद आयो, पुजिवाद्लाई निषेध गरेर समाजवाद आउछ र समाजवादलाई निषेध गरेर बैज्ञानिक साम्यवाद अबस्य आउछ यो समाज बिकासको बैज्ञानिक नियम हो । तर यो नियम हो भनेर हेरेर ,कुरेर आउनेवाला छैन । पानि शुन्य डिग्रीमा बरफ बन्छ , सय डिग्रीमा बाफ बन्छ तर हेरेर बसेर केहिपनि बन्दैन ,पानि पानि नै रहन्छ । पानीलाई बाफ बनाउनको निम्ति सय डिग्रीको ताप दिनुपर्दछ, बरफ बनाउनको निम्ति शुन्य डिग्रीको चिसो दिनुपर्दछ । दास युग त्यत्तिकै आएको थिएन कबिला समुदायहरु बिचको संघर्ष र ठुलो रक्तपात पश्चात दासयुग आएको थियो । दास मालिक बिचको संघर्ष र दासहरुको ठुला ठुला बलिदानको कारण दास ब्यबस्थाको अन्त्य संगै सामन्तवादको जन्म भयो । किसानहरु र सामन्तहरु बिचको संघर्ष र किसानहरुको बलिदानको कारण सामन्तवादको अन्त्य र पूजीवादको जन्म भएको हो । त्यस्तै पूजीवादको अन्त्य र समाजवादको स्थापनाको निम्ति सर्वहारा वर्ग र पुजीपति वर्ग बीच भयानक संघर्ष हुन्छ, सर्वहारा बर्गको उच्च बलिदान हुन्छ त्यसपछि मात्र पुँजीवादको अन्त्य हुन्छ र समाजवादको स्थापना हुन्छ ।
सर्वहारावर्गको त्यसप्रकारको संघर्ष र बलिदानहरू त्यत्तिकै हुदैनन त्यसको निम्ति क्रान्तिकारी सिद्दान्त, क्रान्तिकारी संगठन र क्रान्तिकारी नेतृत्वको आवस्यकता हुन्छ । संगठन र आन्दोलनमा नेताको महत्ववारे लेनिन भन्नुहुन्छ, ‘आन्दोलनको संगठन र नेतृत्व गर्नसक्ने आफ्ना राजनैतिक नेताहरु पैदा नगरिकन कुनैपनि बर्गले सत्ता हासिल गरेको छैन’ बर्षादको मौशममा च्याउ उम्रे झैँ अनुकुल परिस्थितिमा नेता बनेर देखिने नेता कैयौ हुनसक्दछन । तर प्रतिकुल परिस्थितिमा पनि सतिसाल झैँ थिङ्ग उभिने, अनेक हावाहुरीको झोक्का र ज्वार भाटाका छालहरूसंग जुध्दै देश,काल,परिस्थिति अनुसार आफुलाई परिस्कृत गर्दै निरन्तर क्रान्तिको नेतृत्व गरिरहने नेता थोरै हुन्छ्न । ति थोरै मध्य पनि योगदान ,क्षमता,क्रियाशीलताको आधारमा केहि नेताहरु अत्यन्तै आदर्श नेतृत्व हुन्छ्न । उनीहरु व्यक्ति होईन देश,जनता र क्रान्तिका निम्ति अत्यन्तै महत्वपूर्ण संस्था हुन्छन, आदर्श नेतृत्व हुन्छन । ति आदर्श नेतृत्वको सैद्दान्तिक,राजनैतिक ,बैचारिक तथा भौतिक रक्षा गर्नु क्रान्तिको अपरिहार्य काम हो । संसारका ठुलाठुला क्रान्तिहरु विभिन्न कारणले प्रतिक्रान्तिमा बद्लियकाछ्न ।
कुनै क्रान्ति नेतृत्वको बिचलन,पलायन र गद्दारीको कारण प्रतिक्रान्तिमा बद्लियकाछन , कुनै क्रान्ति नेतृत्वको शहादतले त कुनै क्रान्ति नेतृत्वको गिरफ्तारीले गर्दा प्रतिक्रान्तिमा परिणत भएकाछन । हामीले देखेका छौ कमरेड चारु मजुमदारको गिरफ्तारी र शहादत पश्चात नक्शलवारी आन्दोलनले ठुलो नोक्शानी व्यहोर्नुप(यो ।कमरेड गोन्जालोको गिरफ्तारी पश्चात पेरुको क्रान्तिले गम्भीर ढक्का खायो, कमरेड चेको शहादत पश्चात बोलिभियाको क्रान्ति बर्बादीमा परिणत भयो । दुनियाभरका प्रतिक्रियावादीहरुले क्रान्तिकारी आन्दोलनलाई दबाउनको निम्ति क्रान्तिकारी पार्टी र त्यसको मुख्य नेतृत्व माथि हमाला गरिरहेका हुन्छन ।
क्रान्तिकारी नेतृत्वलाई उनीहरुले बैचारिक राजनैतिक मात्र होईन भौतिक रुपले नै समाप्त पार्ने प्रयत्न गरिरहेका हुन्छन । त्यसकारण नेतृत्वलाई बलियो बनाउने र जोगाई राख्ने काममा पार्टी संगठन र त्यसका सदस्यहरु सधै सचेत रहनुपर्दछ । निस्चय नै नेतृत्वलाई बलियो बनाउने र जोगाई राख्ने काम बैचारिक,राजनैतिक तथा भौतिक सबै प्रकारले हुनु आवस्यक छ । क्रान्तिकारी नेतृत्वलाई सधै साथ् दिनु, सहयोग गर्नु र रक्षा गर्नु क्रान्तिकारीहरुको कर्तब्य हो । नेतृत्वलाई साथ दिने, सहयोग गर्ने र उसको रक्षागर्ने सवालमा यो काम मेरो होईन भनेर कुनैपनि कमरेडमा उदासिनता देखिनु राम्रो होईन, यो गलत प्रवृति हो १ सिद्धान्त, पार्टी,क्रान्ति र नेतृत्वको रक्षा गर्नु सबै क्रान्तिकारीहरुको कर्तव्य हो । क्रान्तिकारी नेतृत्वलाई कमजोर पार्ने र आन्दोलनलाई नोक्शानी पुयाउने गलत तत्वहरुको क्रान्तिकारीहरुले सधै प्रतिरोध गर्नुपर्दछ । नेतृत्वको महत्ववारे स्टालिन थप्नुहुन्छ ू पार्टीको नेतृत्व बिना सर्वहाराबर्गको अधिनायकत्व असम्भव छ प्रतिक्रियावादका दलाल तथा अवसरवादीहरुले क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्नको निम्ति क्रान्तिकारी नेतृत्व माथि बैचारिक हमला गर्दछन । रुसमा मार्तोभ,प्लेखानोभहरुले लेनिन माथि बैचारिक हमला गरेका थिए,चिनमा लिउ ।
तेङ्ग र लिन प्याओहरुले माओमाथि बैचारिक हमला गरेका थिए । सोभियत समाजवादको बद्नाम गर्नको निम्ति विश्व प्रतिक्रियावादका दलालहरु खुरुस्चोभ,ब्रेजनेभ ,गोर्वाचोभहरुले स्टालिनको निधन पस्चात पनि उहा माथि निरन्तर प्रहार गरिरहे । ति दलालहरुका बिरुद्ध रुसी , चिनिया तथा संसारभरका क्रान्तिकारीहरुले निर्मम संघर्ष गरेर उनीहरुलाई नांगेझार पारेका थिए । यो कुरा नेपालको क्रान्तिकारी आन्दोलन र त्यसको नेतृत्वको सन्दर्भमा पनि सत्य हो । प्रतिक्रियावादी र अवसरवादी कोणबाट नेपालको क्रान्तिकारी नेतृत्वकाबिरुद्ध हिजो पनि चौतर्फी हमला भएको कुरा जगजाहेर नै छ । आजपनि निरन्तर घेराबन्दी र हमलाहरु भैरहेकाछन र भोलि पनि भैरहनेछन । त्यसप्रकारको घेराबन्दी र हमलाहरुको प्रतिरोधगर्नु र दुनियाभरका प्रतिक्रियावादीहरु र तिनका दलालहरुको सपनामाथि धावा बोल्नु नेपाली क्रान्तिकारीहरुको आजको कर्तब्य हो ।
किनकी नेतृत्वको रक्षा गर्नु भनेको पार्टी क्रान्ति र सिद्धान्तको पनि रक्षा गर्नु हो । अवश्य नेतृत्वको रक्षा गर्नु भनेको नेताको भौतिक शरीरको मात्र रक्षा होईन उसको सैद्धान्तिक,वैचारिक,राजनैतिकका साथै व्यवहारिक विचलनबाट पनि रक्षा गर्नु हो । जसका निम्ति कार्यकर्ताले निरन्तर सचेत बनाई राख्ने र खवरदारी गरिरहने गर्नुपर्दछ ।







