बुर्जुवा नेकपाभित्रका केही बुज्रुकहरु भन्दैछन, -“प्रचण्ड-माधवले क्रान्ति गर्छन भने मात्र मदन भण्डारीको औचित्य सकिन्छ।”

यसको गुह्यार्थ बहुदलीय जनवाद (जबज) को पुनर्स्थापना-पुष्टिका साथसाथै प्रचण्ड बिलयबाट बन्न पुगेको बुर्जुवा नेकपाले भनेको “जनताको जनवाद”लाई “बहुदलीय जनवाद” नाममा फर्काउने स्वभाविक प्रयास हो। स्वभाविक यसर्थले कि संसदवादलाई रणनीति र कार्यनीति दुवै मानीसकेपछि त्यो वस्तुत: बहुदलीय जनवाद नै हुन्छ। नाम फेर्नुले जनतालाई मूर्ख तुल्याउने षडयन्त्र बाहेक अरु काम गर्दैन। र, “प्रचण्ड-माधवले क्रान्ति गरे मात्र मदन भण्डारीको औचित्य सकिन्छ” भन्नुको तात्पर्य मदन भण्डारी क्रान्तिकारी थिएनन् र उनको जबज विचार क्रान्तिकारी होइन, भन्ने तथ्य स्वयं स्पष्ट गर्छ। अत: बहुदलीय जनवाद होस् कि जनताको जनवाद, ती दुवै वस्तुत: क्रान्ति बिरोधी बुर्जुवा संसदवाद हुन।

एमाले गुटका संसदवादीहरु मदन भण्डारीलाई जबजको प्रणेता मान्दछन र जबजलाई सार्वभौम विचार बताउने दुस्शाहस पनि गर्दछन। यसवारे केही छलफल गरौं-

सन १९१७ को समाजवादी क्रान्ति तयारीका निमित्त लेनिनको बोल्सेभिक पार्टीले ब्यवस्थित ढंगले संसदीय निर्वाचन उपयोग गर्यो। जर्मन वामपन्थीहरुसंगको बहसमा लेनिनले भनेका छन-“संसद भङ्ग गर्ने तागत आर्जन नगरिएसम्म सर्वहारावर्गले त्यसको (संसदको) उपयोग गर्नुपर्छ।” यसरी लेनिनको पार्टीले संसद उपयोगको कार्यनीति लिएको थियो र तागत आर्जन गरे लगत्तै त्यहाँको संसद अर्थात दूमा भङ्ग गरेर हठात अक्टोबर क्रान्ति सम्पन्न गर्यो। त्यस अघि दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रीय कब्जा गरेर बसेका कार्ल काउत्स्की रणनीतिक रुपमै संसदवादी थिए र ती बिरुद्द लेनिनले “सर्वहारा क्रान्ति र गद्दार काउत्स्की” पुस्तक नै लेख्नु पर्यो। अत: स्पष्ट हुन्छ, सर्वहारा क्रान्तिको तयारीका निमित्त वस्तुगत स्थितिका आधारमा अनिवार्य, तर कार्यानीतिक रुपमा संसद उपयोग लेनिनवादको अभिन्न आयाम बन्न पुग्यो।

छिमेकी भारतमा आफुलाई कम्युनिस्ट बताउनेहरुले संसदवादी रणनीतिमा पटक-पटक राज्य सरकार बनाए। पश्चिम बंगाल, केरला र त्रीपुरामध्ये, जहाँ करिब दस करोड जनसंख्या थियो, बंगालमा तिनले ३० बर्ष सरकार चलाए। सम्बत ०१५ मा नेपालको प्रथम संसदीय निर्वाचनमा भाग लिएर तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले चार स्थान हासिल गरेको थियो।कार्यनीतिक दृष्टिले र रणनीतिक दृष्टिले संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीको सहभागिताका यस्ता दर्जनौं उदाहरण छन भने संसदवादको इतिहासमा मदन भण्डारी कसरी प्रणेता हुन सक्छन? बरु जबज र मदन भण्डारीका प्रणेता त गद्दार काउत्स्की र भारतीय संसदवादी कम्युनिस्टहरु पो बन्न पुगेका छैनन् र? अर्थात जबज काउत्स्कीको विचारको निरन्तरता र मदन भण्डारी अनुयायी प्रमाणित भएनन् र? अवश्य प्रमाणित छन्। अत: जबज अथवा संसदवादी रणनीति र कार्यनीतिको जनताको जनवाद समेत वैचारिक-राजनीतिक सारतत्वमा अभिजातवर्गीय (बुर्जुवा) जनवाद हो न कि श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तको।

सामन्तवाद र फासिवाद बिरुद्द राजनीतिक स्वतन्त्रताको अभिब्यक्ति बाहेक “जनवाद” पदावली आफैमा सर्वहारा क्रान्तिकारी भईहाल्दैन। हाल खस-नेपालीमा प्रयोग गरिने जनवाद, जनतन्त्र, प्रजातन्त्र, लोकतन्त्र सबैको अंग्रेजी अनुवाद “डेमोक्रेसी” हुन्छ। बेलायतको सम्बैधानिक राजतन्त्रात्मक डेमोक्रेसीलाई नेपाली कांग्रेसले यहाँ “प्रजातन्त्र” अर्थ्यायो, जसले राजासहित प्रजाको शासन भन्न खोज्यो। त्यस बिरुद्द सोभियत संघ तथा चीन हुँदै नेपालमा “जनवाद” र “जनतन्त्र” जस्ता जनतालाई केन्द्रमा राख्ने पदावली निर्माण भए। महान जनयुद्वको उत्कर्शस्वरुप नेपालमा “लोकतन्त्र” पदावली प्रयोग गरियो। शब्द सारतत्व उहीँ भए पनि जनवादी गणतन्त्रमा कांग्रेस-एमाले जस्ता संसदवादीहरु उठ्न नसक्नुको परिणाम माओवादी पार्टीले लोकतान्त्रीक गणतन्त्रको पदावली प्रस्तावित गर्यो। भारोपेली भाषा परिवारमा “लोक” को अर्थ जनता हुने गरेको आधारमा यहाँ १९ दिने संयुक्त जनआन्दोलन हुँदै लोकतान्त्रीक गणतन्त्र घोषणा गरियो, जुन वस्तुत: जनवादी गणतन्त्र समेत हो।

रमाईलो कुरा हो कि जातब्यवस्था प्रदत्त दक्षिण एसियाको नेपाली राजनीतिमा सिद्वान्तका नामहरु पनि त्यत्तिकै विविध छन। अन्यथा ऐतिहासिक वर्ग चरित्रको दृष्टिले अंग्रेजीको डेमोक्रेसी नितान्त दुई प्रकारको छ, त्यो हो पुरानो र नयाँ। पुरानो डेमोक्रेसीको अर्थ सर्वहारा मजदुर-किसान बिरुद्द पुजीपतिवर्गको राज्यसत्ता हो भने नयाँ डेमोक्रेसीको अर्थ सामन्तवाद बिरुद्द सर्वहारावर्गको राज्यसत्ता। रुस एकातिर स्वाधीन साम्राज्यवादी तथा तुलनात्मक औध्योगिक विकास भएको मुलुक हुनाले त्यहाँ सिधै सर्वहारा मजदुरवर्गको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव रह्यो भने चीन एकातिर पराधीन तथा औध्योगिक विकास नभएको मुलुक हुनाले समाजवादको सट्टा बैदेशिक आक्रमण र स्थानीय सामन्तवाद बिरुद्द राष्ट्रीय स्वाधीनता, किसान-मजदुर एकताको जनवाद र जनजीविकासहितको डेमोक्रेसी माग गरियो, जुन स्वत: नयाँ हुन पुग्यो। । स्मरणीय छ कि पुरानो डेमोक्रेसीमा पुजीपतिवर्ग-सामन्त गठबन्धनको नेतृत्व हुन्थ्यो भने नयाँ डेमोक्रेसीमा मजदुर-किसान एकतामा आधारित सर्वहारावर्गको नेतृत्व। अत: वर्गीय नेतृत्वको अन्तर बाहेक जनवाद अर्थात जनतन्त्र अर्थात लोकतन्त्रमा मौलिक भिन्नता थिएन।

परन्तु, नेपालमा चाहिँ केटाकेटीको भाँडाकुटी खेल झैं “जन” पदावलीबाट मुख्यत: कांग्रेसीजन भागदौड गर्ने अनौठो समश्या रहँदै आएको छ। कारण त्यही हो, जसले गर्दा प्रजातन्त्र भन्नासाथ कांग्रेस भईहाल्ने र जनवाद वा जनतन्त्र भन्नासाथ कम्युनिस्ट भईहाल्ने भाँडाकुटी मनोविज्ञान थोपरियो। परिणाम, कांग्रेसको बहुदलीय प्रजातन्त्रलाई “बहुदलीय जनवाद” भन्दिनासाथ कम्युनिस्ट भईहाल्यो, किनकि त्यो “जनवाद” हो! छलछाम र षडयन्त्रको संशोधनवादी कार्यशैलीबाट यहीँनिर मदन भण्डारीले जनसाधारण नेपालीको वैचारिक-राजानीतिक अनभिज्ञताको अवाञ्छित लाभ उठाए। जबकि, बहुदलीय प्रजातन्त्र वा बहुदलीय जनवाद दुवै पदावलीको अंग्रेजी अनुवाद एउटै हुन्छ-“मल्टी पार्टी डेमोक्रेसी।” तर, यहाँ एउटै हो भन्नु हुँदैन, किनकि एमाले गुटले बोलेपछि त्यो कम्युनिस्ट भईहाल्यो!

अर्को, मदन भण्डारीद्वारा प्रस्तावित तथा एमालेको पाँचौं महाधिवेशनद्वारा पारित बहुदलीय जनवादवारे राजनीतिक प्रतिवेदनमा वर्गसंघर्षको “व” तथा फौजी कार्यदिशाको “फ” सम्म उल्लेख छैन। त्यस अगावै त्यस गुटको चौथो महाधिवेशनले माओ विचारधारा हटाईसकेको थियो। तब एमाले गुट कसरी कम्युनिस्ट हुन्छ? नाममा बाहेक काग्रेस भन्दा त्यो कसरी फरक हुन्छ? निश्कर्षमा मदन भण्डारी एक जना देशभक्त अवश्य थिए, तर कम्युनिस्ट होइनन्। मदन भण्डारीलाई कम्युनिस्ट देख्ने दृष्टिकोण मार्क्स, लेनिन, माओलाई वर्ग शत्रु एवं मिलेराँ, काउत्स्की, ट्राटस्की र ख्रूश्चेवलाई पथप्रदर्शक गुरु मान्ने खुलेआम बुर्जुवा संशोधन्वादी दृष्टिकोण मात्र हो। कम्युनिस्ट खोलमा अभिजातवर्गीय वैचारिक-राजनीतिक नेतृत्व हाबी गराउने प्रतिकृयावादी उद्देश्यले गञ्जागोल सिर्जना गरेर जनसाधारणमा भिन्नता छुट्याउनै नसक्ने गरी संशोधनवादीद्वारा थोपरिएको यही भ्रम र षडयन्त्रका कारण नेपाली कम्युनिस्ट आन्दोलन अभिजातवर्गीय दलाल पुजीवादको शिकार बन्न अभिशप्त छ।

जहाँसम्म प्रचण्ड बिलयपछि “जनताको जनवाद” भनेका छन, त्यसले भनेको जनता को हो? त्यस गुटको नाङ्गो चरित्रले नै त्यसले भनेको “जनता” बैदेशिक लुटेराहरु र नेपाल्स्थित चोरडाँकाहरु होइनन्? अत: खड्ग ओली र प्रचण्डको वैचारिक-राजनीतिक दिशा “सबै जनताको पार्टी” भन्दै सोभियत समाजवाद बिघटन गर्ने घोर प्रतिक्रान्तिकारी ख्रूश्चेव हुँदै वर्गसंघर्ष र बल प्रयोगको सिद्वान्तका शत्रु गद्दार काउत्स्कीको दिशा हो, भन्ने कुरामा पटक्कै भ्रम रहनु हुँदैन। जब कम्युनिस्ट पार्टीको झण्डा बोकेर कसैले महान सर्वहारा साँस्कृतिक क्रान्तिको सिद्वान्त परित्याग गर्दछ, त्यो कसरी कम्युनिस्ट अर्थात साम्यवादी हुन्छ? किमार्थ हुँदैन। मात्र, साम्यवादी रुझान भएको नेपाली समाजलाई छल्न र ठग्न अभिजातवर्गीय ओली-प्रचण्डहरु नामधारी कम्युनिस्ट बनेका छन। तिनले भनेको जनता त्यही हो, जसले “बुर्जुवा” अर्थात “पुजीपति” वर्गको प्रतिनिधित्व गर्दछन्। त्यसर्थमा त्यस गुटलाई बुर्जुवा अर्थात अभिजातवर्गीय कम्युनिस्ट भन्नू नै युक्तिसंगत हुन्छ।

एक मार्क्सवादी विश्लेषक भन्दै थिए-“हामी नेपालीहरु भूतकालमा बाँचेका छौं, वर्तमानमा होइन।” नेपाली समाजको राजनीतिक, आर्थिक, साँस्कृतिक क्षेत्रमा गुणात्मक आन्दोलनवारे समग्रमा हेर्दा उक्त विश्लेषण सही ठहर्छ। आफुलाई खाँट्टी नेपाली बताउनेको खासगरी आन्तरिक राष्ट्रीयतावारे दृष्टिकोण, नागरिकता, भाषा, न्याय प्रशासन, सुरक्षा, शिक्षा, स्वास्थ्य, लैङ्गिक, उध्योग ब्यापार, विज्ञान तथा प्रविधि र सम्पति सम्बन्ध आदिवारे सोंच विचारहरु मूलत: भूतकालीन विचारधारामा आधारित छन। तब अग्रगामी आन्दोलनहरु सफलातामा पुग्न सकेका छैनन्, तब क्रान्तिहरु यहाँ प्रतिक्रान्तिमा बदलिने गरेका छन।

दिक र कालको नियममा भूतकाल, वर्तमानकाल तथा भविश्यकालका तीन परिस्थितिको अवधारणा स्थापित भए। वैज्ञानिक दृष्टिकोण हो कि मालेमावाद भविश्यमुखी हुन्छ भने पुजीवाद अतीतमुखी। अतीतमुखी विचारधारामा पुजीवाद मात्र होइन, सामन्तवाद र अझ जनावर प्रब्रत्ति निहित रहन्छ। यसरी कम्युनिस्ट पार्टी भनेपछि सर्वहारा क्रान्तिकारी हुनु पर्नेमा ती बुर्जुवा प्रतिक्रान्तिकारी बनेर लुट मच्चाउँछन्। तिनका लुटमारको कारक गणतन्त्र बताउँदै अर्को प्रतिगमनकारी रक्तपात मुछिएको राजतन्त्र फर्काउने नारा दिन्छन्। चाहिने कुरामा सीमित, तर नचाहिने कुरामा नेपाली समाजका अगुवाहरु बृहत्तर विश्वब्यापीकरण रुचाउँछन्। परिणाम कम्युनिस्ट खोलमा संसदवाद, लोकतन्त्रको खोलमा नव-पुजीवाद, वस्तुत: दलाल पुजीवाद थोपर्न अभ्यस्त छन्।

भनिन्छ, बाह्र बर्षमा दायाँ वा बायाँपट्टि नदी फर्कन्छ। यो सत्य हो भने नेपाली समाजले भूतकालीन इतिहासबाट सही र गलतको, वैज्ञानिक र अवैज्ञानिक तथ्यको परख गर्न अग्रसर हुनैपर्छ। भूतकालीन इतिहासको सही र वैज्ञानिक धर्तीमा खडा भएर मात्र वर्तमानको वस्तुगत अभिब्यक्ति सम्भव हुनेछ। वर्तमानको वस्तुगत अभिब्यक्तिबाट मात्र न्यायोचित भविश्यकाल अपेक्षा गर्न सकिन्छ। यसै उद्देश्यले यहाँ साम्राज्यवाद तथा विस्तारवाद, संशोधनवाद र अर्थ-राजनीतिमा दलाल पुजीवाद तथा सत्तासंरचनामा गोर्खाली अन्धराष्ट्रवादको भण्डाफोर आव्हान गरिएको हो।

किनकि, नेपालमा दलाल तथा नोकरशाही पुजीवादका रुपमा प्रकट हुने नव-पुजीवाद र कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी अवसरवाद भूतकालीन विचारधारा हो, जसको चिहानमा नै वैज्ञानिक सारतत्वको समाजवादी गणतन्त्र नेपाल सुनिश्चित गर्न सकिन्छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार