गोराहरुको रंगभेदबादी शासन र शोषणबाट काला जातिलाई मुक्त गर्ने बहुसंख्यक काला जाति बसोबास गर्ने दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति  तथा महान् नेता नेल्सन मण्डेलाले रंगभेदका बिरुद्धको  आन्दोलनमा लाग्दा निरन्तर २७ वर्ष काराबासको सजाय भोगेका थिए । स्वतन्त्र दक्षिण अफ्रिकाको राष्ट्रपति हुँदा मण्डेला  ७१ बर्ष पुगिसकेका थिए । त्यस्ता जनप्रिय प्रथम काला राष्ट्रपति मण्डेला केवल एक कार्यकाल मात्र राष्ट्रपतिका पदमा आसीन रहे । उनमा सत्तामोहको कुनै सोचसम्म आएको कतै देखिएन । उनको राजनीतिक यात्रा र जीवनबाट आज पनि धेरै प्रेरणास्पद कुराहरु सिक्न र सिकाउन सकिन्छ ।

मण्डेलाले स्वतन्त्रता संग्रामका आफुले बिताएका ती दिनहरु सम्झदै लेखका छन् –‘‘ती दिनहरुमा.. कम्युनिष्टहरुप्रति मेरो पुरानो आक्रोश मत्थर हुँदै गैरहेको थियो ।  कम्युनिस्ट पार्टीको महासचिव तथा अफ्रिकी नेशनल काँग्रेसका महासमिति सदस्य मोसिस कोताने रातबिरात मेरो घरमा आउने जाने गरिरहन्थे । हाम्रा बीचमा बिहान नहुदासम्म(अर्थात् रातभरी जसो) बहस चलिरहन्थ्यो ।  कोताने ट्रान्स्वालको किसान परिवारमा जन्मेका ब्यक्ति थिए ।  उनी विचारमा एकदमै प्रष्ट थिए ।  उनी मलाई भन्ने गर्थे, – नेल्सन ! आखिर हामी बिरुद्ध लाग्नुपर्ने कुन कारण छ तिमीसँग ? हामी सबै एउटै दुश्मनका विरुद्ध लडिरहेका छौ ।

हामी अफ्रिकी नेशनल कांग्रेसमाथि कुनै प्रभुत्व कायम गर्न खोजिरहेका छैनौ ।  हामी अफ्रिकी राष्ट्रवादकै पक्षमा काम गरिरहेका छौ’ । म उनका यस प्रकारका तर्कहरुको कुनै गतिलो जवाफ दिन सक्दिनथें ।’’  मण्डेला अगाडि लेख्छन्–‘‘कोताने, इस्माइल मिर तथा रुथ फस्र्टसंगको मित्रता र उनीहरुको बलिदानको कारण (कम्युनिष्ट) पार्टी विरुद्धका आफ्ना पूर्वाग्रहहरूलाई न्यायोचित ठान्न पनि असमर्थ थिए । उता अर्कोतिर, अफ्रिकी राष्ट्रिय कांग्रेस भित्रका डाक्टर दादुलगायतका थुप्रै नेताहरुलाई पनि म निकै समर्पित व्यक्ति मान्थे ! यस्ता व्यक्तिहरुलाई अविश्वास गर्ने प्रश्न नै उठ्दैनथ्यो ।’’

मलाई मार्क्सवादी दर्शनको कुनै ज्ञान थिएन।  आफ्नो यही अल्पज्ञानको कारण साथीहरुको बिचमा मार्क्सवादबारे राजनीतिक छलफल हुँदा राम्ररी कुरा नबुझेर म ट्वाल्ल पर्नुपर्थ्यो ।  त्यसपछि नै हो मैले आफुमाथी आइलागेको यस्तो अफ्ठ्यारो परिस्थिति बदल्न संकल्प गरेको ।

मैले मार्क्स, एंगेल्स, लेनिन स्टालिन, माओत्सेतुङलगायत अन्य व्यक्तिहरुद्वारा लिखित मार्क्सवादको इतिहास र दर्शनको अध्ययन गर्न थाले ।  यी पुस्तकहरु रिठ्ठो नबिराईकन एकाएक पढ्ने समय मसंग नभए तापनि उनीहरुले कल्पना गरेको वर्गविहीन समाज अफ्रिकी चिन्तन अनुरुपनै छ भन्ने विचारद्वारा म प्रेरित थिए ।  म माक्र्सको अत्यन्त साधारण तर अत्यन्त उदार भनाइद्वारा ज्यादै प्रभावित भए ।  ‘प्रत्येकबाट क्षमता अनुसारको काम लिने र प्रत्येकलाई आवश्यकता अनुसार दिने’ माक्र्सवादको सुनौलो वाक्य मलाई साच्चै आदर्श र अनुकरणीय लाग्यो ।   मार्क्सवादी दर्शनको अध्ययनबाट मलाई दुइटा फाइदा भयो । एक, मैले जाती दमनको घृणित रुप प्रष्टसँग ठम्याउन सके भने दोस्रो कुरा, मैले यस्तो दमन सदाको लागि समाप्त गर्ने उपयोगी हतियार पनि प्राप्त गरें।

मार्क्सवादी साहित्यको अध्ययनले गर्दा मैले गोरा र कालाहरुक बिचमा रहेको असमानता राम्ररी चिने ।  त्यससँगसँगै म हाम्रो संघर्षलाई विजयमा पु¥याउन काला र गोरा बिचको साम्प्रदायिक भेदभाव सदाको लागि त्यागी दिनु पर्छ भन्ने निष्कर्षमा पुगें ।  म के कुरा निर्धक्कसँग भन्न सक्छु भने म सधै नै वैज्ञानिक आधार तर्फ आकृष्ट हुँदै आएको छु । म प्रयोगको कसौटीमा खरो उत्रने तथ्यलाई मात्र प्रमाणिक मान्छु ।  मार्क्सवादको आर्थिक विश्लेषण दक्षिण अफ्रिकाको सन्दर्भमा मलाई एकदम सही लाग्यो । किनभने पूजीपति तथा मालिकहरूले अफ्रिकी मजदुरहरूले जान अञ्जान गरेको गल्तीको सजाय स्वरूप मनोमानी ढंगले पैसा कटाएर तलव दिन्थे ।  यसरी उनीहरूले अरूको रगत र पसिना चुस्थे ।

मार्क्सवादको उल्लेखित क्रान्तिकारी वाणी कुनै स्वतान्त्रता सेनानीको लागि संगीत जस्तै आकर्षक छ ।  त्यस्तै गरेर ‘इतिहास संघर्षकै माध्यमद्वारा अघि बढ्छ र परिवर्तन क्रान्तिद्वारा मात्र सम्भव छ’ भन्ने विचार पनि उत्तिकै प्रिय लाग्छ।  मार्क्सवादको अध्ययन गरिरहँदा मलाई राजनीतिक क्षेत्रका महत्वपूर्ण समस्याहरू बुझ्न विस्तृत कुराहरु प्राप्त भए ।  जोकोही राजनीतिमा यस्तो जानकारी आवश्यक छ । माक्र्सवादले राष्ट्रिय स्वतन्त्रको आन्दोलनलाई एउटा गम्भीर मुद्दा बनाएको थियो ।  सोभियत संघले त थुप्रै औपनिवेशिकजनताको राष्ट्रिय संघर्षलाई विशेष सहयोग गरेको थियो ।  यो पनि एउटा कारण थियो, जसले गर्दा कम्युनिष्ट बारे मेरो विचार बदल्न सहयोग पुगेको थियो।  यिनै कारणले गर्दा अफ्रिकी नेसनल कांग्रेसले मार्क्सवादीहरुसँग सहकार्य गर्ने जो नीति लिएको थियो, मैले त्यसको समर्थन गरें ।

एकपटक कुनै एकजना मित्रले मलाई अफ्रिकी राष्ट्रवादी विचारधारालाई मार्क्सवादी भौतिक दर्शनसँग मिलाएर कसरी काम चल्छ र भन्ने प्रश्न गरे ।  मैले उनलाई भनेको थिएँ कि मार्क्सवाद र अफ्रिकी राष्ट्रवाद परस्पर विरोधी कुरा होइनन् ।  म सबैभन्दा पहिला एकजना अफ्रिकी राष्ट्रवादी थिएँ, जो मुठ्ठीभर व्यक्तिको शासनबाट मुक्ति चाहन्थ्यो ।  तर, त्यतिबेला दक्षिण अफ्रीका र अफ्रिकी महाद्विप यति विशाल दुनियाँको एउटा अंग बनेको थियो ।

हाम्रो समस्या थोरबहुत विशिष्ट र भिन्न थियो तर अनौठो र अरुबाट अछूतो भने थिएन ।  म मानवीय पूर्वाग्रह र अन्ध–देशभक्ति तथा उग्रराष्ट्रवाद समाप्त गर्न आवश्यक कुनै पनि बाटो अँगाल्न तयार थिएँ ।

(स्वतन्त्रताको लामो यात्रा(लङ्ग वाक टु फ्रिडम)बाट अनुदित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार