रोल्पाको राङ्कोटमा बसेको बुद्धिजीवीको सङ्गठनको बैठकमा पुष्पकमल ‘दाहाल’ प्रचण्डले सोही बैठकमा उपस्थित डा. बाबुराम भट्टराईतिर सङ्केत गर्दै यस्तो कथा भन्नुभएको थियो, “एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान् गुरुकहाँ लिएर गएछन् । गुरुकहाँ पुगेपछि ती अभिभावकले भनेछन् कि मेरो यो जेठो छोरोले तीन वर्षजति अर्का एक विद्वान्कहाँ बसेर पढिसकेको छ । यसलाई अलिअलि थपथाप बुद्धि र ज्ञान दिएर पारङ्गत गराइदिनुहोला अनि यो मेरो कान्छो छोरोलाई भने पुरै पारङ्गत बनाइदिनुहोला । यिनीहरू पारङ्गत हुन कति वर्ष लाग्ला गुरु !” अभिभावकको त्यस्तो कुरा सुनेपछि गुरुले भन्नुभएछ, “कान्छोलाई त म तीन वर्षमै पारङ्गत बनाउन सक्छु तर जेठोलाई त छ वर्ष लाग्छ ।” गुरुको कुरा सुनेर ती अभिभावक आश्चर्यचकित भएछन् र फेरि सोधेछन्, “किन यस्तो गुरु ?” गुरुले शालीन शैलीमा जबाफ दिनुभएछ, “जेठोलाई पुरानो कुडाकर्कट फ्याँक्न तीन वर्ष र नयाँ विचार दिन अर्को तीन वर्ष गरी छ वर्ष लाग्छ, तर कान्छोको दिमागमा कुनै कुडाकर्कट नभएकोले तीन वर्षमै पारङ्गत बनाउन सकिन्छ ।”

स्कुलिङ भनेको कुटाकर्कट सफा गर्ने प्रक्रिया पनि हो । स्कुलिङ भनेको विश्वदृष्टिकोण निर्माण गर्ने प्रश्न पनि हो । विश्वदृष्टिकोण भनेको प्रकृति, मानव–समाज र मानवीय चिन्तनको गतिको विकाससम्बन्धी दार्शनिक मान्यता हो । विश्वमा अधिभूतवाद अर्थात् भँडुवावाद, सार–सङ्ग्रहवाद र बहुलवाद सार बोकेको पुँजीवादी संशोधनवादी विश्वदृष्टिकोण एकातिर छ भने अर्कोतिर ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी कम्युनिस्ट पार्टीको सुसङ्गत अखण्ड विश्वदृष्टिकोण रहेको छ । आज यो माक्र्सवादी–लेनिनवादी–माओवादी विश्वदृष्टिकोणमा विकास भएको छ । यही मालेमावादी विश्वदृष्टिकोणद्वारा समृद्ध कम्युनिस्टले मात्र आफ्नो सही कार्यदिशाको निर्धारण गर्दछन् ।

स्कुलिङमा धेरैलाई गाँठो पर्ने विषय भनेकै दर्शन हो । दर्शनबारे प्रतिनिधिमूलक भनाइ हेरौँ ः “सामाजिक जीवन मूलतः व्यावहारिक छ, सारा रहस्य जसले सिद्धान्तलाई रहस्यवादको गलत बाटोमा भड्काइदिन्छन्, मानव–व्यवहारमा र यस व्यवहारको बोधमा आफ्नो बुद्धिसङ्गत समाधान पाउँछन्”, (माक्र्स फायरवाखमाथि निबन्ध ः १८४५, हिन्दी माक्र्स–एंगेल्स–लेनिन, द्वन्द्वात्मक भौतिकवाद, पृ. १) । “जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो र मुख्य दृष्टिकोण हुनुपर्छ । यसले अनिवार्य असङ्ख्य प्रध्यापकीय मनगढन्ते पाण्डित्याइँहरूलाई बढार्दै भौतिकवादमै पु¥याउनेछ”, (लेनिन भौतिकवाद र अनुभवजन्य आलोचनावाद ः अङ्ग्रेजी, पृ. ३०१) । “क्रान्तिकारी व्यवहारबाट अलग्गिएपछि सिद्धान्त उद्देश्यहीन बन्छ, त्यसरी नै क्रान्तिकारी सिद्धान्तबाट व्यवहारको बाटो उज्यालो नभएमा व्यवहारले अन्धाकारमा छामछाम–छुमछुम गर्नुपर्ने हुन्छ”, (स्टालिन, लेनिनवादका आधारहरू, १९२४, नेपाली) । “सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछ, त्यो उत्पादनमा लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग जस्ता तीन किसिमका सामाजिक व्यवहारबाट आउँछ”, (माओ, ग्रन्थ ९, सही विचार कहाँबाट आउँछ ? पृ. १, सन् १९६३) । “दर्शनशास्त्र पहाड र उपत्यकाबाट जन्मन्छ । … दर्शनशास्त्र विपत्ति र सङ्घर्षका बीचबाट जन्मन्छ । दर्शनशास्त्र एउटा प्रतिकूल परिस्थितिबाट आउँछ”, (माओ, हाङ चाओ सम्मेलनमा भाषण, सन् १९६३ ग्रन्थ ९, पृ. १६) ।

लेखक थपलिया

नेपालमा लामो समयसम्म ‘पुष्पलालको स्कुलिङ’ र ‘मोहनविक्रमको स्कुलिङ’ चर्चामा रह्यो । डबल नेकपालगायतका संशोधनवादी कम्युनिस्ट धारा पुष्पलाल स्कुलिङ र माओवादी धारा मोहनविक्रम स्कुलिङद्वार अनुप्राणित रहेको मानिन्छ । नेपाली वर्गसङ्र्षको विशेषताका आधारमा ‘माओवादी स्कुलिङ’ को निर्माण गर्न प्रचण्ड–किरणहरूका बिच छलफल हुँदै गर्दा प्रचण्ड–बाबुरामबाट सम्बन्ध–विच्छेद गर्नुपर्ने अभिभारा आइप¥यो । किरणको नेतृत्वमा नयाँ पार्टी बनेपछि पनि नयाँ स्कुलिङबारे छलफल चलिरहँदा फेरि अर्को सम्बन्ध–विच्छेदको परिघटना अगाडि आयो । मोहन वैद्य ‘किरण’ बाट पनि सम्बन्ध–विच्छेद गरेपछि नेपालमा नयाँ र क्रान्तिकारी ‘एकीकृत जनक्रान्ति’ खडा भएको छ । यतिबेला नेपालमा कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति सञ्चालित छ । समकालीन जीवनका सबै काम–कारबाही मालेमावादी आलोकमा एकीकृत जनक्रान्तिअनुरूप अग्रसर हुनु आवश्यक छ । ‘एकीकृत जनक्रान्तिको स्कुलिङ’ लाई थप नियमित, वैज्ञानिक र व्यवस्थित गर्दै लैजानु हामी सबैको दायित्वभित्र पर्ने कुरा हो । यतिबेला एकीकृत ‘जनक्रान्तिको स्कुलिङ’ ले ‘पुष्पलाल स्कुलिङ’ र ‘मोहनविक्रमको स्कुलिङ’ लाई पछाडि पार्दै अघि बढिरहेको छ । विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ र क्रान्तिकारी स्कुलिङका रूपमा क्रियाशील एकीकृत जनक्रान्तिबारे विश्वले अत्यन्त अभिरुचि र उत्साहका साथ अध्ययन गरिरहेको छ ।

स्कुलिङ मूलतः विचारधारात्मक काम हो । मानिस वैचारिक प्राणी भएकोले उसको हर–व्यवहार आफ्नो विचारधाराको आधारमा हुने गर्दछ । मानिस र अन्य प्राणीबिचमा फरक हुनुको कारण पनि विचारधारात्मक प्रश्न नै हो । अन्य प्राणी प्रकृतिको नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् तर मानिसले प्रकृतिको नियन्त्रणलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्दछ । मानिस उन्नतशील मस्तिष्कसहितको विकसित प्राणी पनि हो । माओले भन्नुभएजस्तै विचार कुनै आकासबाट झर्ने नभएर दैनिक व्यवहारबाट पैदा हुन्छ । उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगलाई माओले व्यवहार भन्नुभएको छ । यतिबेला हामी सामाजिक फासिवाद एवम् दलाल पुँजीवादका विरुद्ध सङ्घर्षरत छौँ । अहिले हाम्रो ध्यान नेपाली वर्गसङ्घर्षलाई नेपाली जनताको महान् विजयमा फेर्नेतिर सोझिरहेको छ । वर्गसङ्घर्षलाई ठीक ढङ्गले सञ्चालन गर्न क्रान्तिकारी सिद्धान्त अनिवार्य हुन्छ । क्रान्तिकारी व्यवहारलाई सिद्धान्तमा रूपान्तरण गर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । यसमा स्कुलिङको महत्वपूर्ण भूमिका हुन्छ ।

नेपालको वर्गसङ्घर्ष आधारभूत वर्ग (किसान र मजदुर) र मध्यम वर्गमा आधारित हुँदै भौगोलिक र सामाजिक रूपले पिछडिएको स्थान एवम् सहरी तथा सुविधा सम्पन्न स्थान जोड्दै अघि बढिरहेको छ । यस क्रममा आधारभूत वर्ग, जाति र पिछडिएको स्थानबाट आएका कमरेडहरूमा सापेक्षित रूपमा इमानदारिता, क्रान्तिकारिता र दुःख–कष्ट उठाउन सक्ने गुण देखिन्छ भने सहरी क्षेत्र र सुविधा सम्पन्न ठाउँमा आर्थिक–आधार र वर्ग–चिन्तनको सुषुप्त प्रभावका कारण निम्न–पुँजीवादी अरूचि देखा पर्दछ । हामीले एकीकृत जनक्रान्तिको स्कुलिङमार्फत सच्चा कम्युनिस्ट रूपान्तरणको प्रक्रियाद्वारा एकरूपतामा लैजानुपर्दछ । जति–जति वर्गसङ्घर्षको तीब्र हुँदै जान्छ, उति–उति हामी व्यस्तताबाट गुज्रँदै जानेछौँ, जसको कारण वैचारिक काम पछि पर्न सक्तछ । वैचारिक काम केन्द्रीय नेताको मात्र होइन, यो हामी सबैको एजेन्डा हुनुपर्दछ । स्वभावतः मुख्य वैचारिक कामको जिम्मेवारी उपल्लो स्तरको नेतृत्वको काँधमा भए पनि तत्–तत् स्थान र नेतृत्व–कार्यकर्ताले वैचारिक काम गरिरहनुपर्दछ । क्रान्तिकारी विचारलाई जनतासम्म पु¥याउने र जनताबाट नेतृत्वसम्म पु¥याउने काम त्यही नेता–कार्यकताको तहबाट भइरहेको हुन्छ । वैचारिक काम पनि वर्गसङ्घर्षको महत्वपूर्ण मोर्चा हो भन्ने कुरा हामीले कहिल्यै भुल्नुहँुदैन ।

कामको चापाचाप र समयको उचित व्यवस्थापनको अभावले स्कुलिङ नभएको बेला तत्कालीन राजनीतिक प्रशिक्षणले योजनामा होमिन सहयोग पु¥याउँछ तर त्यसले आधारभूत वैचारिक आवश्यकता पूरा गर्दैन । पार्टीभित्र नयाँ नेता–कार्यकर्ताको धु्रवीकरण भइरहने र स्कुलिङ व्यवस्थित र नियमित नहुने हो भने त्यसले भद्रगोल र अराजकता निम्त्याउँछ । स्कुलिङको अभावमा नेतृत्व–कार्यकर्ताको वैचारिक क्षमतामा विकास हुँदैन, जसका कारण कार्यक्षेत्रमा समस्या देखा पर्दछ । स्कुलिङको अभावमा जनताबिचको अन्तर्विरोधलाई ठीक ढङ्गले बुझ्ने र सही ढङ्गले हल नगर्ने, ठोस परिस्थितिको ठोस विश्लेषणसहित अग्रगामी कार्ययोजना निर्माण नगर्ने, क्रान्तिको मित्रशक्तिलाई गोलबन्द गर्ने र सत्रुलाई एक्ल्याउने, जनता क्रान्तिको मुख्य शक्ति हो, जनतासँग गहिरो सम्बन्ध बनाउनुपर्दछ भन्ने कुरालाई बिर्सने, राजनीतिक विश्लेषणका आधारमा दुश्मनले फैलाउने गोयवल्स प्रचारको जनतासमक्ष समयमै प्रस्ट पार्न नसक्ने, दक्षिणपन्थी, संशोधनवादी र छद्म संशोधनवादीहरूको कूतर्क र विभ्रमको तर्कपूर्ण र तथ्यसङ्गत ढङ्गले खण्डन गर्न नसक्ने जस्ता समस्या देखा पर्छन् । वैचारिक प्रस्टता र परिपक्वताको अभावले पलायनतालाई पनि निम्त्याउँछ । तत्–तत् ठाउँमा नयाँ–नयाँ नेतृत्व र कार्यकर्ताको पङ्क्तिलाई वैचारिक रूपले परिपक्व बनाउने मूल आधार भनेकै व्यवस्थित स्कुलिङ प्रणाली हो ।

वैचारिक क्षमताको विकास भनेको क्रान्तिकारी सिद्धान्तलाई सही ढङ्गले बुझ्ने र व्याख्या गर्ने अनि व्यवहारमा लागू गर्ने क्षमताको अभिवृद्धि गर्ने प्रक्रिया हो । वर्गसङ्घर्षको महान्् प्रक्रियामा सबै मानिस एकैपटक क्रान्तिकारी विचारले लैस भएर आएका हुँदैनन् । प्रारम्भमा मानिसहरू क्रान्तिकारी व्यवहारमा सहभागी हुन्छन् । विस्तारै उनीहरू क्रान्तिकारी सिद्धान्तसँग परिचित हुन्छन् अनि आफ्नो वैचारिक–राजनीतिक क्षमताको विकास–प्रक्रियामा अघि बढ्छन् । क्रान्तिकारी व्यवहार र सैद्धान्तिक अध्ययनबाट वैचारिक क्षमतालाई वृद्धि गर्न सकिन्छ । वैचारिक क्षमता भनेको क्रान्तिकारी सिद्धान्तमा पोख्त हुनु मात्र होइन, यो माक्र्सवादको पाण्डित्याइँ छाट्नु पनि होइन । यो त क्रान्तिको ठोस व्यवहारसँग जोड्नु र जोडिनु हो । व्यवहारविनाको सिद्धान्त लङ्गडो हुन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ भन्ने स्टालिनको भनाइ निकै मर्मयुक्त छ । अध्ययनका लागि अध्ययन, सिद्धान्तबाट सिद्धान्त गलत प्रक्रिया हुन् । हामीलाई विश्वास छ, एकीकृत जनक्रान्तिको स्कुलिङले नेपालको समकालीन जटिल राजनीतिक एवम् वर्गसङ्घर्षको गाँठो फुकाउने क्षमता राख्दछ ।

स्कुलिङका आधारभूत र तत्कालीन विषय हुन्छन् । यसका विभिन्न तहगत श्रेणी पनि हुन्छन् । कुनै बेला अन्तर्राष्ट्रिय परिस्थितिसँगै नेपालको वर्गसङ्घर्षका इतिहास र अवस्थाबारे स्कुलिङ हुन्थ्यो । त्यसपछि जनयुद्धबारे स्कुलिङ भयो, अनि रणनीतिक रक्षाको चरणमा जनसेनाको निर्माण र छापामार युद्धको विकाससम्बन्धी स्कुलिङ भयो । रणनीतिक प्रत्याक्रमणको चरणमा मोर्चाबद्ध लडाइँको विकास, स्थानीय जनसत्ताको आर्थिक, राजनीतिक काम, जनसम्बन्धजस्ता विषयमा स्कुलिङ भए । प्रत्याक्रमणको व्यावहारिक प्रक्रियाबारे स्कुलिङ भए । माओको नेतृत्वमा चीनमा सम्पन्न भएको रणनीतिक प्रत्याक्रमणलाई नेपालको विशेषतामा कसरी लागू गर्ने भन्ने विषयमा पनि स्कुलिङ भयो । रणनीतिक रक्षा र सन्तुलनबारे, संविधानसभा, जनसंविधान, चार आधार र चार तयारीका विषयमा स्कुलिङ भए । समकालीन नेपाली राजनीतिमा हामी नेपाली क्रान्तिकारी कार्यभार पूरा गर्ने एकीकृत जनक्रान्तिको स्कुलिङमा छौँ । सैद्धान्तिक अध्ययन हामीले गर्ने विषय होइन; पार्टी नीति, योजना र कार्यक्रमलाई ठीक ढङ्गले लागू गरेपछि आफ्नो दायित्व पूरा हुन्छ भनेर सोच्नु गलत हुन्छ । प्रारम्भमा व्यावहारिक प्रक्रियाबाट गुज्रनुपरे पनि हामी त्यहाँबाट सैद्धान्तिक चरणमा उक्लनुपर्दछ । व्यावहारिक प्रक्रियासँगै सैद्धान्तिक प्रक्रिया पनि सँगसँगै कुँदिरहेको हुन्छ भन्ने कुरा स्वतःसिद्ध छ ।

ज्ञान व्यवहारबाट पनि प्राप्त गर्न सकिन्छ; ज्ञान सैद्धान्तिक अध्ययनबाट पनि प्राप्त गर्न सकिन्छ । सिद्धान्त भनेको व्यावहारिक अनुभवहरूको वैज्ञानिक संश्लेषण हो । हाम्रो स्कुलिङ प्रक्रिया सरलबाट जटिलतातिर जाने हुनुपर्दछ नत्र तीन–बल्ढ्याङ खाइन्छ । सरलताबाट जटिलतातिर व्यवस्थित स्कुलिङ पद्धति हो । नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक छलफल गरेर नै केन्द्रीय स्कुलिङ विभाग खडा गरेको छ । स्कुलिङसित स्वाध्ययनको कुरा पनि आउँछ । स्कुलिङले एउटा वैचारिक ट्र्याक दिने हो; हिँड्ने हामी आफैँ नै हौँ । स्कुलिङ सबै कुराको त्यस्तो औषधी हो, जुन औषधी खाएपछि वा इन्जेक्सन लगाउनेवित्तिकै रोग च्वाट्टै निको हुन्छ भनेर सोच्न थालियो भने अनर्थ हुन्छ । कसै कसैले यस्तै यस्तै बुझेको पनि पाइन्छ ।

रोल्पाको थबाङमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले केही महत्वपूर्ण सैद्धान्तिक विषयमा निचोड दिएको छ । यो निचोडबारे सिङ्गो पार्टीपङ्क्ति एवम् जनता स्पष्ट हुनुपर्दछ । अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषणका साथै; दर्शन, कार्यदिशा, कम्युनिस्ट नीति र प्रणाली, अधिनायकत्व र जनवाद र केन्द्रीयता, कला–साहित्य, सर्वहारा सांस्कृतिक क्रान्ति, संस्कृति र सांस्कृतिक रूपान्तरण, निगम पुँजीवाद र कम्युनिस्ट अर्थ नीति, सूचना र प्रविधि, क्रान्तिको मोडल, इतिहासको मूल्याङ्कन, दलाल पुँजीवाद, प्रधान अन्तर्विरोध र सहायक अन्तर्विरोधहरू, दुईलाइन सङ्घर्ष, संसदीय व्यवस्था, सत्ताको वैकल्पिक सत्ता, जनसत्ताको वास्तविक स्वरूप, कार्यनीति र रणनीति, सङ्घीयता र जातीय नीति, समाजवादमा निजी स्वामित्वको प्रश्न, विस्तारवाद र साम्राज्यवादको पछिल्लो चरित्र, नेता–कार्यकर्ता–जनताको भूमिका, फासिवादी सत्ताको राजनीतिक प्रतिबन्ध, नेपालमाथि अन्तरर्राष्ट्रिय शक्तिकेन्द्रको घेराबन्दी, प्रहारको निसाना, साम्यवादी सपना, नयाँ ढङ्गको जनमुक्ति सेनाको प्रारूपीकरण एवम् २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद आजका स्कुलिङका विषय हुन् । सैद्धान्तिक, राजीतिक, वैचारिक र दार्शनिकसँगै नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षबारे पार्टीले लिएका निर्णयहरूलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न स्कुलिङ महत्वपूर्ण हुन्छ । समकालीन दुनियाँमा नेताले जे बोले पनि सही हुन्छ र त्यसलाई कार्यकर्ता–जनताले तीन हात उफ्रेर ताली पिटेर समर्थन गर्छन् भनेर सोच्नुहुँदैन ।

भीआई लेनिनले कम्युनिस्टको अर्थ खुलाउँदै भन्नुभएको छ, “कम्युनिस्ट ल्याटिन भाषाको शब्द हो । ल्याटिनमा कम्युनिस्टको अर्थ सामूहिक भन्ने हुन्छ । कम्युनिस्ट समाज भनेको यस्तो समाज हो, जसमा सबै मानिसहरू मिलीजुलीकन सामूहिक श्रम गर्छन् ! यो नै साम्यवाद हो”, (लेनिन, युवक सङ्घका कार्यहरू, सन् १९२०, नेपाली, भाग ८, पृ. २७) । कार्यनीतिद्वारा रणनीतिको सेवा गर्न तथा रणनीतिलाई दृढताका साथ पक्रँदै लक्षित शिखर चुम्न स्कुलिङ अनिवार्य हुन्छ । भनिन्छ नि अर्काले चपाइदिएको खाना दाँत नभएका बच्चा, बूढापाका र सशक्तहरूका लागि मात्र हो । जसको बलियो दाँत हुन्छ, ऊ आफैँले चपाएर खाएको वस्तुको स्वादजस्तो मीठो र स्वादिलो अरूले चपाएर दिएकोमा कहाँ हुन्छ ?

यसर्थ, डा. बाबुराम भट्टराइकै अगाडि प्रचण्डको कथामा भनिए जस्तै ‘कुडाकर्कटको सफाइ, महान् सर्वहारा सांस्कृतिक क्रान्ति, नयाँ विचारको विकाससहित मालेमावादी साम्यवादी विश्वदृष्टिकोणको निर्माण’ नै एकीकृत जनक्रान्तिको स्कुलिङ हो । मोठमा भन्दा एकीकृत जनक्रान्ति विश्वदृष्टिकोणको समस्या समाधान गर्ने स्कुलिङ हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार