
पुँजीवादले पछिल्लो समयमा ल्याएको संकट धनी र गरिब विचको खाडल चरम गतिमा वढ्नु रहेको छ । आज विश्वभरका अधिकांश मुलुकहरुमा पँुजीवादी राजनीतिक व्यवस्था भित्रको लोकतन्त्र स्थापना भइसकेको छ । अर्थात लोकतान्त्रिक यात्रामा अघि वढेका छन् ।
यद्यपी लोकतन्त्रका मूल्य मान्यताहरु अत्यन्त कमजोर देखिएका छन् । पुँजीवादी अर्थव्यवस्थाले धनाढ्लाई थप धन आर्जन गर्न सक्षम बनाएको छ भने करोडौं मानिसको जीवन नरकतुल्य पनि यहि व्यवस्थाले गरेको छ । आज यो व्यवस्था आर्थिक असमानताको दुश्चक्रमा रुमल्लिएको छ । अब यस व्यवस्थाको विकल्प खोज्नु पर्दैन भनी प्रश्न वाचक चिन्ह् खडा गरेको छ । झण्डै एक वर्ष अघि सार्वजनिक गरेको अक्सफमको असमानता सम्बन्धी वार्षिक प्रतिवेदनले वताएको छ । आज प्रत्येक मानिस आपूmसँग भएको १०० डलरको चाङ बनाएर त्यसमाथि वस्ने हो भने विश्वका अधिकतम मानिस भुइमै वस्नु पर्ने छ । यसरी वस्दा मध्यम वर्गको मानिस एउटा मेच वरावरको उचाइमा रहनेछ भने विश्वका २ जना धनाढ्य पुरुष चाँहि वाह्य अन्तरिक्ष भन्दा पनि माथि वसेका हुनेछन् ।
शक्ति सम्पन्न राष्ट्र अमेरिका देखि नेपाल जस्ता अल्पविकसीत कयौं राष्ट्रहरु आर्थिक असमानताको खाडलले पिरोलिरहेका छन् । अझ कोभिड–१९ ले विश्वभर आतङ्क फिजाइरहेको वेला अरवौ मानिसहरु रोजगार विहिन भएर उनीहरु सम्पत्ती विहिन भएका छन् भने धनाढ्य तथा ठूला घराना व्यापारी र मल्टिनेशनल कम्पनीहरु व्यापारको स्वरुप तथा नीति फेरेर झन धन आर्जन गर्न सफल भएका छन् । विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेशनलको प्रतिवेदन अनुसार विश्वका सात अर्ब जनसख्या भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यको कब्जामा छ । कुनै व्यक्तिले प्रत्येक दिन १० हजार अमेरिकी डलरका दरले वचत गर्ने हो भने ५ जना अति धनाढ्य व्यक्तिसँग भएको औषत सम्पत्तिको ५ भागको १ भाग सम्पत्ति वचत गर्न ५ हजार वर्ष लग्ने छ । त्यस्तै गरेर विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएको भन्दा बढी सम्पत्ति छ ।
हरेक वर्ष स्विजरल्याण्डको डाभोस सहरमा जनवरी २१ देखि २४ तारिख सम्म विश्व आर्थिक मञ्चको बैठक हुने गर्दछ । धनी राष्ट्रका सरकार प्रमुख बहुराष्टिय कम्पनी र अन्तराष्टिय वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि हरेक वर्ष भेला हुने गर्छन तर त्यहाँ असमानता घटाउनेबारे छलफल हुँदैन । यिनीहरु अझै कसरी स्रोत साधन आप्mना पक्षमा पार्न सकिन्छ भन्नेबारे मन्थन गर्छन । अझ स्पष्ट भन्नु पर्दा उनीहरुको प्रयास विश्वमा व्याप्त असमानताको खाडल अझै कसरी बढाउन सकिन्छ भन्नेमा केन्द्रित हुन्छन् ।
विश्वभरिनै पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थाले साम्राज्य फैलाइरहेको वेला विगत ८÷९ महिनादेखि कोरोना साम्राज्यले विश्वलाई तवातवा बनाइरहेको छ । महामारीले मानव स्वास्थ्यलाई मात्र होइन विश्व अर्थतन्त्रलाई समेत डामाडोल वनाएको छ । जसको कारणले आर्थिक असमानताको खाडल झन डरलाग्दो हुन ेदेखिएको छ । यो संकटको समयमा विश्वको ठूलो अनलाइन सपीड प्लेटफर्म अमेजनका संस्थापक जेफ वेजोस महामारीकै वीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपिड प्लेटफर्म अलिबाबाले पनि कोरोनाको कहरवीच डलरलग्दो कमाई गरेको छ । कोभिड१९ को संक्रमण बाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने वाध्यताले विश्वभर नै अनलाईन सपिड कल्चर ह्वातै वढेपछि इकमर्स कम्पनीहरुले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।
विश्व अहिले लकडाउनको अवस्थामा छ । विश्वका धेरै देशले यो महामारीबाट वच्न लकडाउनको नीति अख्तियार गरेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला विश्वका २ सय १० देशमा फैलिएको छ । उद्धगमस्थल चीन नियन्त्रण उन्मुख भएपनि व्रजिल, भारत, रसिया, पेरु लगायतका देशमा भने आगोको मुस्लो झै झनझन दन्किरहेको छ । हालसम्म कोरोना भाइरसको विरुद्धको औषधी र खोप पत्ता लागेको छैन । विरामीको शरिरमा रहेको रोगप्रतिरोधात्मक क्षमता नै कोरोना भाइरसबाट पार पाउने एक मात्र उपाय हो । अहिले संसारका वैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन र औषधीको अनुसन्धानमा जुटेका छन् । धेरै राष्ट्रहरले अरबौं रुपैयाँ यसमा खर्च गरिरहेका छन् । अझै थप खर्च गर्ने योजनमा छन् । आशा गरौं कोरोना भाइरस विरुद्धको भ्याक्सिन, औषधी छिट्टै पत्ता लागोस र विश्वले चयनको श्वास फेरोस ।
वढ्दो कोरोना कहर र आर्थिक असमानताले यो पूँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्था कतै भत्कने त होइन भनेर विभिन्न विश्लेषण गर्न थालिएको छ । हुन त झण्डै एक वर्ष अघिको अक्सफामको प्रतिवेदन अनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्वपति सँग संसारभरिका चार अर्ब ६० करोड मानिस सँग भएको सम्पत्ति भन्दा बढी थियो । अक्सफमकै प्रतिवेदन अनुसार विश्वका सात अर्ब जनसंख्या भन्दा दोब्वर सम्पत्ति जम्मा १ प्रतिशत धनाढ्यको कब्जामा थियो । तर अब यो कोभिड १९ को असरले अधिकांश मानिस त्यो अघिल्लो वर्षको अक्सफमको प्रतिवेदनलाई समेत उछिन्ने देखिएको छ । अर्थात धनी झन धनी र गरिब झन गरिब वन्ने स्थिति देखाएको छ । धनीहरुले समयको अवसरलाई चिनेर, व्यापार तथा नीति परिवर्तन गरेर झन धेरै कमाइ गरिरहेका छन् ।
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वेजोसको नेटवर्थ २ खर्ब डलरभन्दा माथि पुगेको छ । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्वर्गको विलेनियर्स इन्डेक्सले यस्तो देखाएको हो । इन्डेक्स अनुसार वेजोसको सम्पत्ति ५ अर्ब २२ करोड डलरले बढेर २ खर्ब २ अर्ब डलरमाथि पुगेको थियो । पछिल्लो वृद्धिसँगै वेजोसको नेटवर्थ सूचकांकमा समाविष्ट दोस्रो सार्वजनिक धनी व्यक्ति माइक्रोसफ्टका सह संसथापक विल गेट्स भन्दा ७८ अर्ब डलर वढी छ । वेजोसको अधिकांश सम्पत्ति एमाजोनको शेयरमा छ । यस वर्षको अहिले सम्मको अवधिमा एमाजनको शेयर मूल्य ८६ प्रतिशत भन्दा धेरैले वढीसकेको छ ।
कोरोना भाइरसको नियन्त्रण गर्न धेरै देशले लकडाउन गरे, अझै पनि थुप्रै देशमा लकडाउन, जारी छ । यस्तो अवस्थामा मानिसहरु इन्टरनेटमा व्यस्त भए उनीहरुलाई ल्यापटप, कम्युटर, मोवाइल वढी आवश्यकता भयो । विद्यालय तथा कलेजको पठन पाठन बन्द भएको अवस्थमा अनलाइन शिक्षा दिनु परेकोले त्यस्ता चिजहरुको माग वढ्यो । अहिले यो समयमा अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन डलर बजार मूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ । गत जुलाई महिनामा सार्वजनिक भएको कम्पनीको उत्साहवर्धक वित्तीय प्रतिवेदन पछि एप्पलको शेयर मूल्यमा लगातार भइरहेको वढातरी सँगै यसको बजार मूल्यले र २ ट्रिलियन डलरको कोशेढुंगा पार गरेको छ । विगतमा आइफोन लगायत ग्याजेतको विक्रीमा वढी निर्भर रहेको एप्पलको आम्दानी ठूलो हिस्सा पछिल्लो समय सफ्टवेयर तथा अन्य सेवामा समेत उल्लेख्य वृद्धि भएसँगै लगानीकर्ताहरुको विश्वासमा वृद्धि भएको बताइएको छ ।
कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला लगानी कर्ताहरु समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको शेयर मूल्यमा परेको छ । अमेजन, माइक्रोसफ्ट तथा गुगल लगायतका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य ४ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आफुलाई दोब्बर मूल्यबनाउन सफल भएको छ । यो सँगै एप्पल, अमेजन, माइक्रोसफ्ट, गुगल कम्पनीको गरी कूल वजार मूल्य ६ ट्रिलियन डलर पुगेको छ । सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलो पटक सन् २०१८ मा १ ट्रिलियन डलर पुगेको थियो जस अनुसार पछिल्लो दुई वर्षमै एप्पलले आफ्नो मूल्य दोब्वर बढाएको हो । गत जुलाई ३१ गते साउदी अरेवियाको सरकारी तेल कम्पनी अराम्कोलाई पछि पार्दै एप्पल विश्वको मूल्यवान सार्वजनिक कम्पनी बनेको थियो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ । राष्ट्रसंघीय निकायहरुले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो । सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोनाभाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् ।
मार्केट क्यापको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति फेरि बढेको छ । हालसालै रिलायन्स इन्डस्ट्रिज विश्वको दोस्रो ठूलो ब्रान्ड घोषित भएको थियो । अब मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लूमबर्ग अर्बपति सूचकांकको रियल टाइम नेटवर्थका अनुसार अम्बानीको कुल सम्पत्ति ८०.६ अर्ब डलर सहित विश्वको चौथो धनीका स्थानमा उक्लिएका छन्। सम्पत्तिको हिसाबले मुकेश अम्बानी अहिले फेसबुक संस्थापक मार्क जुकरबर्गको नजिक पुगेका छन् । फेसबुकको संस्थापक मार्क जुकरबर्ग मुकेश अम्बानी भन्दा अगाडि छन्। मार्क अहिले विश्वको तेस्रो धनी मानिस हुन् । त्यस्तै माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् भने अमेजनका सीईओ जेफ बेजोस पहिलो स्थानमा छन । पछिल्लो क्रममा, मुकेश अम्बानीले एलबीएएमएचका बर्नार्ड अर्नोल्ड एण्ड फेमिलीलाई पछि पारेका हुन । बर्नार्ड अर्नोल्ड ५ औं स्थानमा छ भने ह्याथवेका वारेन बफेड छैठौं स्थानमा छन् ।
मुकेश अम्बानीको सम्पत्ति वृद्धि हुनुका थुप्रै कारणहरू छन् । रिलायन्स जिओले विश्वव्यापी रूपमा लगातार लगानी भित्रायाइरहेको छ । उही समयमा रिलायन्स ईन्डस्ट्रिजको मार्केट क्याप पनि निरन्तर बृद्धि भइरहेको छ । कम्पनीको शेयर मूल्य २१०० रुपैयाँभन्दा बढी छ भने मार्केट क्याप पनि १४ लाख करोडलाई पार गरेको छ ।
कोरोना भाइरसले विश्व पुँजीवादको आडम्बरलाई तोडेको छ । अमेरिका र युरोपका धेरै देशहरु संसारका पुँजीवाद समृद्धका केन्द्र मानिन्छन तर तिनै देशहरु आज कोरोना भाइरसको महामारीबाट पराजित छन् । त्यहाँ नागरिकहरुले उपचार पाउन नसकेर मृत्युले छट्पटाएका हृदयविदायक घटनाहरु दिनप्रतिदिन बढ्दो छ । औषधिको अभाव छ । अस्पतालहरु अपर्याप्त छन् । करोडौको रोजगारी माथि संकट आएको छ । नागरिकहरु वेरोजगार छन् । हरेक राज्यको ऋण वढ्दो छ । देशको दिन प्रतिदिन अर्थव्यवस्थ संकट ग्रस्त छ । तर ठूला ठूला कर्पोरेट हाउसहरु, धनाढ्य व्यक्तिहरु दिन दो गुना रात चौ गुना झन झन धनी भएका छन् । तर सापेक्षित रुपले कमजोर देखिएपनि अर्थ राजनीतिक दृष्टिले फरक रहेका समाजवादी देशहरु र लोक कल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखिएको छ । तसर्थ पुँजीवादी अर्थराजनीतिक भएका देशहरुले समाजवादी राज्य व्यवस्थाको विकल्प गर्न ढिला गर्नु हुँदैन ।
एकातिर लोकतान्त्रिक शासनको दायरा फराकिलो बन्दै गएको छ भने, अर्कातिर धेरैले उत्कृष्ट अर्थात अब्बल मानेको लोकतन्त्रमा असमानता पनि तीब्र गतिमा बढ्दो छ । यो असमानताले लोकतन्त्रको महत्वपूर्ण गुण राजनीतिक स्वतन्त्रतालाई बेइमान बनाइरहेको छ । लोकतन्त्र राजनीतिक व्यवस्था मात्र नभएर यसलाई जीवन पद्धतिको रुपमा पनि लिइएको छ ,तर यो लोकतन्त्र फगत वाक र प्रेस मात्र नभएर सम्पत्ति थुपार्न पाउने स्वतन्त्रतामा सीमित भएको छ । कागलाई वेल पाक्यो हर्ष न विस्मात भनेझै विश्वमै लोकतन्त्रले गरिब, निमुखा तथा सर्वसाधारण जनतालाई खासै छुन सकेन । त्यही भएर होला दार्शनिक भोल्तेयर भनेका थिए : ‘यो सत्य हो कि स्वतन्त्रताले तिम्रो पेट भर्न सक्दैन, न त लोकतन्त्रको ऊर्जाबाट तिम्रो कलकारखाना चल्न सक्छ । तर सँगसँगै निरडकुशताको कालकोठरीमा कुनै राजनीतिक बन्दीले बत्ती बाल्न पनि सक्दैन ।’
यो भनाई विश्वकै धेरै गरिब अर्थात विकासशील राष्ट्रहरु त्यसमा पनि अहिले हाम्रो मुलुकको सन्र्दभमा बढी सान्दर्भिक हुन आउँछ ।
खरेल आमूलपरिवर्तन मासिकका सम्पादक हुन ।







