नेपाली राजनीतिमा लोकप्रिय शब्द हो दलाल पूँजीवाद । मुक्तिकामी नेपाली जनताले परिवर्तन, न्याय र सपना देखेर विभिन्न कालखण्डमा आन्दोलन गरे तर वाकपटुताले भरिपूर्ण उखान टुक्कामा पिएचडी बरावरको दक्षता हासिल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दलाल पुँजीवादी अर्थतन्त्रको चिहानमाथि समृद्धिको यात्रा गर्न खोजेका छन् ।

आमूल परिवर्तन मार्फत समानता र सामाजिक न्याय स्थापित गराउन १० वर्षे जनयुद्ध भएको थियो । यस अवधिमा जनताले सो प्राप्तिका लागि असाध्यै जटिल, कठिन र वलिदानी संघर्षको बाटो लिएको थियो । तर त्यो आन्दोलन संझौतामा टुंगियो । यो नै दुःखद पक्ष हो । दश वर्षे जनयुद्धमा अरु आन्दोलन भन्दा तुलनात्मक रुपमा केहि नयाँ भौतिक परिवेश निर्माण गर्न सफल रह्यो । यसले आम नेपाली जनतामा सचेत भने ह्वातै वढायो ।

यो आलेख दलाल पुँजीवाद के हो ? दलाल पुँजीवादको निरन्तरता कहिले सम्म होला ? मुलुकमा दलाल पुँजीवादको हावी किन भइरहेको छ ? दलाल पँुजीवादको चरित्र कस्तो हुन्छ ? यसको शुरुवात कहिलेबाट भयो ? दलाल पुँजीवादी अर्थतन्त्रको सट्टा किन स्वाधीन अर्थतन्त्र हुन सकेन मुलुकको ? दलाल पुँजीवादको चिहानमाथि समृद्धिको यात्रा किन कठिन छ ? किन राजनीतिक व्यवस्था परिवर्तन सँग सँगै हाम्रो अर्थव्यवस्था परिवर्तन हुन सकेन ? के दलाल पुँजीवाद कोरोनाभन्दा खतरनाक भाइरस हो ?

यी सबै प्रश्नहरु गहन र जटिल छन् । देशलाई समृद्धिको यात्रामा अघि बढाउने हो भने समृद्धिका अभियान्ताहरुले अर्थात देशका शासकहरुले यी प्रश्नहरुमाथि धोत्लीनै पर्ने देखिएको छ । तर पङ्तिकारलाई शासकहरुले यी प्रश्नहरुमाथि धोत्लेलान भन्ने पट्क्कै विश्वास गरेका छैनन् ।

हुनत कोभिड १९ ले सिड्गो मानव जातिलाई ठूलो क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व अर्थ राजनीतिक सम्बन्धमा केहि महत्वपूर्ण विशेषता उजागर गरेको छ । यसलाई वुभ्mन जरुरी छ । पुँजीवादी अर्थब्यवस्थामा पुँजीको लगानी र उत्पादनमा नागरिकको आवश्यकतामा सम्बन्धित नभएर पुँजी निर्यात गर्ने देश र पुँजीपतिलाई बढीभन्दा बढी फाइदा कसरी हुन्छ, बढी नागरिकलाई उपभोगका लागि तान्न सकिन्छ भन्ने सँग मात्र सरोकार छ । जनता, समाज र राज्यलाई के फाइदा हुन्छ भन्ने कुरा पूर्णरुपमा कति पनि सोचिएको हुँदैन । आफ्नो कम्पनी, समूहलाई मुनाफा हुन्छ कि हुँदैन भन्ने बिषय मात्र प्रधान हुन्छ । समाजमा हुर्किएका सबै विकृतिको स्रोत यही उपभोगवादी चरित्र नै हो भन्न सकिन्छ ।

यो चरित्रको विशेषता समाज र राज्यलाई प्रगति तर्फ लानुको सट्ठा, पुरानै राज्यब्यवस्थालाई कायम राख्न मद्दत पु¥याउँछ । पुँजीको सन्दर्भमा माक्र्सले यसो भन्नु हुन्छ – “मालहरुको परिचालन पुँजीको प्रस्थान विन्दु हो ।“मालहरुको परिचालनको अझ विकसित त्यो रुप जसलाई वाणिज्य भनिन्छ, त्यसबाट यो ऐतिहासिक आधार तयार हुन्छ, जसबाट पुँजी उत्पन्न हुन्छ ।” उत्पादित वस्तुको परिचालन अर्थात् मालको परिचालन भनेको मालको मुद्रामा रुपान्तरण र फेरि त्यो मुद्राको मालमा रुपान्तरणको एउटा सरल प्रक्रिया हो । पुँजीले पुँजी जन्माउँछ । यसलाई पुर्नउत्पादन भनिन्छ । पुँजीले बढी पुँजी फेरि बढी पुँजीले झन बढी पुँजी यसरी आफूले श्रम नगरिकन भएको श्रमको उपज पुँजी माथि पुँजीपतीको अधिकार हुने ब्यवस्था पुँजीवादी ब्यवस्था हो । यो नै मानव समाजका गरिबी, बेरोजगारी, भोकमारी र सबै दुर्भाग्यहरुको बाबु हो । थोरै पुँजीपतिहरुले धेरै श्रमिकहरुको श्रमको शोषण गर्ने हुँदा अन्त्यमा धेरै श्रमिकहरुको संगठित प्रतिरोधले यो पुँजीवादी ब्यवस्था समाप्त हुनेछ । यहिनै माक्र्सले पुँजीवादको यौवन कालमा लेखिदिएको “पँुजी” को जन्मकुण्डलीको सार हो ।

सामन्तवाद र पुँजीवादले आफ्नो संकट हल गर्न र श्रमजीवी जनताबाट आ–आफ्नो सत्ता जोगाउन एकता गरेपछि दलाल पुँजीवादको उदय भयो । दलाल पुँजी भनेकै राष्ट्रको पुँजी कच्चा पदार्थ, श्रम शक्ति र राष्ट्रिय पुँजीका प्राकृतिक स्रोत साधनहरु साम्राज्यवादी एकाधिकार, पुँजीपतिवर्गलाई बेचेर उनीहरुले दिएको जुठो पुरोमा बाच्ने पुँजी हो । अहिले नेपालका आर्थिक क्षेत्रमा भएको भ्रष्टाचार, कमिसन, कालोबजार र राजस्वछली लगायतका अनेकन समस्या दलाल पुँजीका उपजहरु हुन् । राज्यको स्रोत साधन र पुँजीको लुटपाट गर्नु दलाल पुँजीपतीवर्गको ध्याउन्न नै हुन्छ ।

श्रमजीवी जनतलाई पुँजीवादले दमन गर्न नसक्ने स्थिती सिर्जना भएको, तेस्रो विश्वमा पुँजीवादी जनवादी क्रान्ति समेत रोक्ने उद्देश्य रहेको साम्राज्यवाद र विस्तारवादको हित अनुकुल सन्धी सम्झौतागर्ने जस्ता दलाल पुँजीवादका चरित्र हुन् । त्यतिमात्र होइन कमिसनबाट ठूलो रकम पुँजी संकलन गर्ने चरित्र पनि दलाल पुँजीवादकै हो । वर्तमान लोकतन्त्र दलाल पुँजीवादको मुख्य उपकरण हो । २०४९ सालमै नेपाली काँग्रेसको सरकारले ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ र औद्योगिक ब्यवस्था ऐन’ मार्फत विदेशी पुँजीलाई नेपालमा अझ बढी सहुलियत दिने ब्यवस्था गर्यो । त्यसैसाल ३ वटा ठूला सार्वजनिक उद्योगहरु भृकुटी कागज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना र हरिसिद्ध इट्टा टायल कारखाना निजीकरण ग¥यो । २०५० सालमा निजीकरण ऐनजारी गरेर त्यस प्रक्रियालाई कानूनत संस्थागत गर्यो । त्यसपछि बनेका सम्पूर्ण सरकारले त्यहि दलाल पुँजीवादले अंगिकार गरेका सम्पूर्ण बाटाहरुलाई अनुशरण गरेका छन् ।

दलाल पुँजीबाद को घनिभूत उपस्थिति २०६२।०६३ को राजनीतिक उपलब्धी पछि झन बढेर गयो । दलाल पुँजीवादी अर्थतन्त्रको नीतिको कारण अहिले हाम्रो अर्थतन्त्र ब्यापार घाटाले थलिएको छ । मुलुकको आर्थिक बर्ष २०७१।७२ मा ७ खर्ब ७५ अर्ब बराबरको आयात भयो भने ०७२।०७३ मा ७ खर्ब७४ अर्ब भयो । आ.ब. ०७३।०७४ को आयात ९खर्ब ४८ अर्ब पुग्यो भने ०७४।०७५ को आयात ११ खर्ब ६२ अर्ब पुग्यो । आर्थिक वर्ष ०७५-७६ मा व्यापार घाटा त्यसै वर्षको वजेटको आकार १३ खर्ब १५ अर्बलाई उछिनेको छ । नेपालको इतिहासमा यो संभवत पहिलो उच्च विन्दु हो । मुलु्कको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको थियो । आर्थिक वर्ष ०७६-७७ मा व्यापार घाटा कोरोनाको कारणले केहि कम भए पनि उच्च नै छ । जुन भोलीका दिनमा यो आयतन अझ डरलाग्दो नहोला भन्न सकिन्छ । कतै मुलुक विश्व ब्यापार संगठनको सदस्यता लिएपछि ब्यापार घाटा चुलिंदै गएको त होइन ? प्रश्नवाचक चिन्ह खडा भएको छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको छ । तर यो नारालाई सार्थक बनाउन ब्यापारघाटालाई न्यूनिकरण नगरी सम्भव छैन ।

हाम्रो ब्यापारघाटा दिनप्रतिदिन चुलिनुको मुख्य कारण स्वाधीन अर्थतन्त्र नभएरै हो । यसो हुनुको रहस्य यहाँका साशक वर्गले केहि अपवादलाई छोडेर विगत देखि अहिलेसम्म भारतीय शासकवर्गलाई खुसी नतुल्याएसम्म र उसको रणनीति अनुसार नहिडेसम्म सत्तामा पुग्न सकिंदैन भन्ने मनोविज्ञानले काम गरेको छ । नेपाल सार्वभौम सम्पन्न राष्ट्रभएपनि राजनीतिक दृष्टिले भारतसँग आश्रित तथा आर्थिक दृष्टिले पराधीन देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । यसका लागि हाम्रा नीति र प्राथमिकता फेरिनु पर्छ । त्यसको लागि सबै भन्दा पहिले हाम्रो संरचना नै परिवर्तन गर्नु पर्छ । अर्थात खुलेर भन्नु पर्दा दलाल पुँजीवादी अर्थब्यवस्था जरैबाट फान्नु पर्छ । जबसम्म हामीले यी कुराहरु गर्न सक्दैनौ तब सम्म सम्पन्न र स्वाधीन रहन सक्दैनौं ।

दलाल पुँजीवाद कोरोना भन्दा खतरानाक भाइरस हो । कोरोनाले त विस तीस लाख मान्छेको ज्यान लेला । तर यो भाइरसले करोडौं मानिसको ज्यान लिने तयारीमा छ । यो भाइरसले विश्वका झण्डै १५० मुलुकहरुमा साम्राज्य फिजाइसकेको छ । संयुक्त राष्ट्रसंघ कन्फरेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (अंकटाड) का अनुसार हामी वाचेको संसारमा १२ देखि १४ अर्ब मानिसलाई पुग्ने अनाज उत्पादन गरिन्छ । तर दुई अर्ब जति सर्वसाधारण मानिस खासगरी दक्षिण गोलार्धमा अवस्थित साना किसान र कृषि मजदुर नै भोक र कुपोषणबाट पिडित हुने गरेका छन् । वास्तवमा यो आउनुमा दलाल पुँजीवादको परिणाम हो । प्राकृतिक स्रोत र साघन दलाल पुँजीवादको हातमा परेकोले र साना किसानको हातमा भूमि र पुँजी नपरेकोले यो समस्या आएको हो ।

२२ अप्रिल २०२० मा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममा कार्यकारी निर्देशक डेभिड विस्ले संयुक्त राष्ट्र सुरक्षा परिषदको छलफलमा उपस्थित विश्वका नेतासामू चेतावनीयुक्त स्वरमा भन्दै थिए, ‘हामी भोकैको महामारीको डिलमा उभिएका छौं । कुनै नयाँ कदम चालिएन भने केहि महिनाभित्रै दोस्रो महायुद्ध पछिको सबैभन्दा ठुलो मानवीय संकट हामीले भोग्नु पर्नेछ । सिरिया, यमन, युक्रेन युद्ध, अफ्रिकामा सलह प्रकोप, लेवनान, कंगो, इथोपिया , सुडान तथा नेपाल (भुइचालो बाट भएको क्षतिको अर्थमा) आर्थिक संकट तथा प्राकृतिक प्रकोप वढेका छन् । संसारभर ८२ करोड १० लाख मानिस साँझ भोकै सुत्ने गरेका छन् । थप १३ करोड ५० लाख एक छाकमा जीवन चलाउनु पर्ने अवस्था तिर धकेलिदै छन् ।’ यो कोभिड १९को संक्रमणले विश्वव्यापी रुप ग्रहण गर्नु माथिको तस्विर हो ।

कोभिड १९ पछि सन् २०२० को अन्त्य सम्मा थप १३ करोड मानिस भोकमरीको महामारीमा धकेलिनेछन् । उनले भने, ‘उचित प्रवन्ध नगर्ने हो भने तीन महिनामा तीन लाख मानिसले भोकको कारण मृत्युवरण गर्नु पर्नेछ । कतिपय मुलुकका खाद्य संकटका कारण सामाजिक द्धन्द्ध निम्तिने छ । अरु धेरै कोभिड १९ को महामारीभन्दा आर्थिक कठिनाईका कारण मृत्यु व्यहोर्न वाध्य हुनेछन् तथा लकडाउनको कारण पैदा हुने आर्थिक मन्दीले सबैभन्दा धेरै श्रमिक वर्ग रेमिट्यान्सबाट धानिएका मुलुकहरु खासगरी हैटी, नेपाल र सोमालियामा सबैभन्दा वढी चोट पुग्ने छ ।’

खरेल अर्थ राजनीतिक विश्लेषक हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार