
नेकपा (मसाल)को राजनीतिक शक्तिहरुको विश्लेषण, राजनीतिक पार्टीहरूले गर्ने वर्गीय प्रतिनिधित्वको सवाल, ०७२ को नेपालको संविधानलाई हेर्ने दृष्टिकोण, सरकारमा सहभागिताको प्रश्न आदिको बारेमा माथि जे चर्चा गरियो त्यसबाट त्यो पार्टी माक्र्सवादका आधारभूत सिद्धान्तहरूबाट विचलित हुँदै गइरहेको छ भन्ने कुरा नै बुझिन्छ । चौथो महाधिवेशनद्वारा पारित “पार्टी र क्रान्तिका तात्कालीन समस्याहरू”मा भनिएको छ, “नवसंशोधनवादले सिद्धान्ततः रणनीतिक रूपमा संसदीय प्रणालीद्वारा समाजवाद तर्फ बढ्ने समझदारी राख्दैन र त्यसका लागि सशस्त्र क्रान्तिलाई अनिवार्य ठान्दछ । तर व्यवहारमा उनीहरु संसदीय प्रणालीमा नै डुवेका हुन्छन् । उनीहरूको राजनीति र कार्य प्रणाली संसदीय प्रकारको नै हुन्छ ।
माथिका अर्थमा नै रायमाझी गुट संशोधनवादी र पि.एल गुट नवसंशोधनवादी हुन् । (रातो तरबार पृष्ठ ७९) । त्यतिवेला २०३१ सालमा क. पुष्पलालले नेतृत्व गरेको पार्टीलाई नवसंशोधनवादी विशेषण लगाइएको थियो । त्यतिबेला उनको पार्टी कस्तो थियो त्यो छलफलको विषय हो । तर क. पुष्पलालको पार्टीलाई जे आरोप लगाइएको थियो अहिले उहाँहरूले त्यही नै गरिराख्नु भएकोछ । उहाँहरूले राजनीतिक रूपमा नयाँ जनवादी क्रान्ति, सशस्त्र संघर्ष र सर्वहारा अधिनायकत्वको अनिवार्यतालाई स्वीकार्नु हुन्छ । तर व्यवहारमा लामो समयदेखि यो संसदीय चुनावमा भाग लिने प्रतिक्रियावादी सरकारमा सामेल हुने र प्रतिक्रियावादी सरकारमा सहभागी बन्ने कुरालाई महाधिवेशनबाट पारित गरी आमनीति (रणनीति) बनाउने कुराले व्यवहारतः उहाँहरू चौथो महाधिवेशन कालमा पी एल को पार्टीलाई भने झै नवसंशोधनवादी दिशामा गइराख्नु भएको त छैन ? भविष्यमा यो कुरा प्रस्ट हुँदै जाने छ ।
नेकपा(मसाल) भित्र फरक मतको कुरा
आठौं महाधिवेशनको दस्तावेजको आधारमा माथि जे विश्लेषण गरियो त्यो नेकपा (मसाल) को बहुमतको कार्यदिशा हो तर त्यस पार्टीभित्र वहुमतको विचारसँग असहमति राख्ने व्यक्तिहरू पनि छन् । जस्तो आठौं महाधिवेशनको राजनीतिक प्रतिवेदनको प्रकाशकीयमा भनिएको छ “महाधिवेशनको शिलशिलामा हाम्रो पार्टीमा कैयौं मतभेदहरू थिए तर महाधिवेशनले ती सबैमाथि छलफल गरेर एउटा स्पस्ट नीति र निर्देशन दिइसकेको छ । (उही पृष्ठ ३ ) । महाधिवेशनमा उठेको मतभेदको विषयमा छलफल भएर सर्वसम्मत निर्णय भएको अवस्था होइन । त्यहाँ उठेका मतभेदका विषयहरू सामान्य प्रकारको नभएर राजनीतिक कार्यदिशासित सम्बन्धित मतभेदहरू छन् ।
जस्तो बहुमतले राजनीतिक शतिmहरुको विश्लेषण गर्दा डबल नेकपालाई निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्दछ र त्यो वामपन्थी मित्र शक्ति हो भन्दछ भने अल्पमत पक्षले डबल नेकपालाई “दलाल एवंम नोकरशाही तथा सामन्तवर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दल हो” र दलाल एवंम् नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग तथा तिनीहरुको राजनीतिक प्रतिनिधिहरु नेपाली क्रान्तिको दुश्मन शक्ति हुन् भनेको छ । त्यसरी नै प्रधान अन्तरविरोध सम्बन्धमा बहुमतले “एकातिर साम्राज्यवाद र अर्कातिर सामन्तवाद दुवै सितको अन्तरविरोध नै मुख्य हुन जान्छ” भन्दछ भने अल्पमत पक्षले “नेपाली जनताको मुख्य अन्तरविरोध सामन्त दलाल नोकरशाही पुँजीपति वर्ग, अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी साम्राज्यवाद विशेषतः भारतीय विस्तारवादसित रहेको छ । उपरोक्त प्रधान अन्तरविरोधको हल नयाँ जनवादी क्रान्तिवाट मात्र सम्भव छ” भन्दछ । त्यस्तै विद्यमान संविधानको बारेमा बहुमत पक्षले “वर्तमान संविधान पुँजीवादी प्रकारको संविधान हो । तै पनि समग्रमा हामीले त्यो संविधानलाई सकारात्मक रुपमा लिन्छौं र त्यसलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिदै आएका छौं” भन्दछ भने अल्पमत पक्षले “संघीयताको विरोध गर्दै संविधानलाई समर्थन गर्नु तात्कालिक दृष्टिले उचित भए पनि अब पनि त्यही कार्यनीति अपनाइरहनु सही हुदैन ।
प्रतिक्रियावादी राज्यव्यवस्था भित्रको वर्तमान संविधानले अब जनताको भावनाको प्रतिनिधित्व गर्न सक्दैन” भन्दछ । अहिलेको गणतन्त्रको सन्दर्भमा बहुमत पक्षले “यो गणतन्त्रको रक्षा हुनुपर्दछ” भन्दछ भने अल्पमत पक्षले “संसदीय गणतन्त्रको भण्डाफोर तथा विरोध गर्दै त्यसको ठाउँमा जनताको जनवादी गणतान्त्रिक व्यवस्थाको स्थापनाको लागि संघर्षलाई बढाएर लैजानु पर्दछ” भन्दछ । प्रतिक्रियावादी सरकारमा सहभागिताको सवालमा बहुमत पक्षले पहिले “ओली नेतृत्वको सरकारमा जानु सही थियो र सरकारमा जाने हाम्रो नीति अहिले पनि खुला छ” भनेको छ भने अल्पमत पक्षले “ठोस परिस्थितिको ठोस मूल्याङ्कन गर्ने हो भने हाम्रो पार्टी विगतमा सरकारमा जानु गलत भएको छ” भनेको छ ।
यी मदभेदहरु त्यो पार्टीभित्र अद्यावधिमा पनि छन् । यी दुई फरक कार्यदिशा बीचको अन्तर संघर्षले कुन रूप लिन्छ त्यसको आधारमा नेकपा (मसाल)को कार्यदिशा प्रस्ट हुँदै जानेछ ।
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय मुखपत्र, पूर्णाङ्क १५, भाद्र २०७७ मा रामसिंह श्रीसको लेखको सानो अंश ।







