विप्लवको यसअघिको वक्तव्यभन्दा पछिल्लो लेख सुझबुझपूर्ण देखियो ।

आजको सत्तासङ्कट सबै संसदवादीहरूको सामूहिक असफलताको द्योतक हो । अझ खासगरी प्रचण्ड र माधवकुमार नेपालले सबै दोष केपी ओलीको थाप्लोमा हालेर आफू उम्कन पाउन्नन् । केपी ओलीको कदमलाई प्रचण्ड र बाबुरामको महापतनको लाज ढाक्ने वस्त्रमा परिणत नगरौं ।

०४६ साल यता केपी ओली, प्रचण्ड र माधवकुमार नेपालमध्ये प्रचण्ड प्रगतिशील थिए । त्यो भन्दा अघि २०३८ सालसम्म प्रचण्डभन्दा केपी ओली परिवर्तनकामी थिए भन्ने त प्रचण्डले नै विगतका दस्तावेजमा स्वीकारेका छन् । तर, आज यी तीनथरी नै सत्ताको लुछाचुँडीमा छन् । तीनथरी कै नेता मदन भण्डारी भएका छन् ।

प्रतीकात्मक रूपमा तीनथरी नै सूर्य चिन्हका लागि लडिरहेका छन् । प्रचण्डले विगतमा उत्पीडित समुदायको पक्ष लिएको भए पनि गएको चुनावदेखि उनी केपीको नक्कली राष्ट्रवादी लाइनमा गएका हुन् ।

अब उनले उत्पीडित समुदायका कुरा गरे भने बुझ्नुपर्छ हामीलाई उपयोग गर्न खोजिरहेका छन् । उनी आफूलाई प्रधानमन्त्री बनाइदेउ भन्दै विदेशी गुहार्दै हिँडेका छन् । यी तीनै थरी दलाल पुँजीवादका प्रतिनिधि भएका छन्, प्रचलित भाषामा भन्नुपर्दा।

केपी ओली अनुदारवादी हुन् तर उनी फासिवादी होइनन् । फासिवाद भनेको के हो थाहा छैन भने इतिहास पल्टाएर हेर्नुहोस् । केपीको सरकारलाई फासिवादी भन्नु र उनको कदमलाई प्रतिगामी भन्नु ऐतिहासिक बिम्बको दुरुपयोग हो । विप्लव वा अरू कुनै पनि क्रान्तिकारीले महापतन भैसकेका प्रचण्ड र बाबुरामको बहकाउमा आउन र उनीहरूले आपसमा अहिल्यैदेखि भागसान्ती गरेका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका सत्ताका कुर्सीको भर्‍याङ् बन्न जरूरी छैन ।

प्रचण्डलाई फेरि प्रधानमन्त्री बनाउन भएको आन्दोलनमा साथ दिएर कुनै पनि प्रकारको क्रान्तिकारी आन्दोलनलाई फाइदा छैन, न त देश र जनतालाई नै यसबाट कुनै फाइदा छ । बरू यो समय सवै संसदवादी शक्तिलाई समदूरीमा राखेर क्रान्तिकारी आन्दोलनका लागि खुकुलो अवस्था सिर्जना गर्न ओलीसित हात बढाउनुपर्छ विप्लव, किरण र आहुतीहरूले ।

माओवादी आन्दोलनको लिगेसी प्रचण्डलाई छोड्ने होइन आफूले लिनुपर्छ । माओवादी आन्दोलनको लिगेसी बोकेर प्रचण्ड र बाबुरामले धेरै कुर्सीको व्यापार गरे । बेलाबेलामा देशको अस्मिता पनि विक्रीमा राखे । अब त्यो हुन दिनुहुन्न । त्यो हुन नदिने योभन्दा राम्रो अवसर अरू छैन ।

विप्लव र किरण कमरेडले पूर्वमाओवादी धाराको नेतृत्व गर्ने आँट गर्नुपर्छ । एमालेहरू पनि अन्ततस् एकै ठाउँमा हुनेछन् । घर झगडा भए पनि कांग्रेस एउटै पार्टी छँदै छ ।

देशमा कांग्रेस, माओवादी र एमाले तीन शक्ति रहनु नै प्राकृतिक हुन्छ । अहिलेका सबै एकता बाबुराम-मधेसवादी ‍एकता, केपी-बादल एकता, प्रचण्ड-माधव एकता अप्राकृतिक भए । ती एकता विषाक्त सम्बन्ध (Toxic relationship) मा रहेका दम्पत्तिका जस्ता भए । विषाक्त सम्वन्धभन्दा परपाचुके श्रेयस्कर मानिन्छ दुवै पक्ष फल्नफुल्नका लागि ।

यी सबैको नेतृत्व पनि असफल भैसक्यो, कांग्रेससहितको । अब कांग्रेस, माओवादी र एमाले यी तीनै धार युवाहरूको नेतृत्वमा पुनर्गठन होऊन्। अग्रिम शुभकामना । होइन भने देशले अझै अस्थिरता र अशान्ति झेल्नुपर्ने दिन आउन सक्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार