भारत मणिपुर राज्यको राजधानी इम्फालमा गत सोमबार साँझ जातीय द्वन्द्व अन्त्यको माग र शान्तिको कामना गर्दै मैतेई समुदायका महिला । तस्बिर : एएफपी

भारतको उत्तरपूर्वी सुन्दर पहाडी राज्य मणिपुर दुई महिनादेखि अशान्त छ । मणिपुर उच्च अदालतले अप्रिल १९ मा रैथाने मणिपुरी (मैतेई) समुदायलाई अनुसूचित जाति (सेडुअल कास्ट) को दर्जाका लागि केन्द्रीय जनजाति मामिला मन्त्रालयमा सिफारिस गरेको थियो । लगत्तै मेको ३ बाट भड्किएको हिंसाले मणिपुर अशान्त भएको हो ।

रैथाने मणिपुरी र अल्पसंख्यक जनजाति कुकीबीचको द्वन्द्व बढेको बढेकै छ । मणिपुर सरकारले गत सोमबार सर्वोच्च अदालतमा बुझाएको प्रतिवेदनअनुसार हिंसामा १ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् । तर, विभिन्न सञ्चारमाध्यमहरूले भने हिंसाका क्रममा २ सय बढीको मृत्यु भएको दाबी गरेका छन् । ६० हजारभन्दा बढी विस्थापित भएका छन् । एक मन्त्रीसहित साढे ५ हजार घरधुरीमा आगजनी गरिएको छ । हिंसाको प्रत्यक्ष प्रभाव व्यहोरेका साढे ५४ हजारभन्दा बढीलाई सरकारले शिविरमा आश्रय दिएर राखेको छ ।

महिनाअघि केन्द्रीय गृहमन्त्री अमित शाह मणिपुर पुगेका थिए । उनले दुवै पक्षलाई हिंसा छाडेर वार्ता र संवादबाट समस्या सुल्झाउन आह्वान पनि गरे । तर, उनको आह्वानलाई न मणिपुरीले सुने, न कुकीले । अन्नतः दन्दनी बलिरहेको मणिपुर छाडेर उनले दिल्ली फर्किनुपर्‍यो ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार उपत्यकाको पूर्व र पश्चिम इम्फाल, चुराचन्दपुर, कक्चिङ र विष्णुपुर तथा पहाडी जिल्लाहरूमा काङ्पोकपी, टेङ्नौपाल, थौबल, कमजोङ र चन्देलमा हिंसाको सबभन्दा बढी प्रभाव परेको छ । पहाडी क्षेत्रमा कुकीको बसोबास छ, उपत्यकामा मणिपुरीहरू बस्छन् । केन्द्र र राज्य सरकारहरूले स्थिति नियन्त्रणमा ल्याउन भरपूर प्रयास भइरहेको दाबी गरिरहेको छ । तर, अझैसम्म मणिपुरमा द्वन्द्व चर्किरहेकै छ । के मणिपुरमा ‘ल एन्ड अर्डर’ निष्प्रभावी भएको हो ? या केन्द्र सरकारले समस्या सुल्झाउन जाँगर नचलाएको हो ?

पहिला मित्र, अहिले सत्रु

२२ हजार ३ सय २७ वर्ग किलोमिटर क्षेत्रफल रहेको भारतको मणिपुर राज्यको जनसंख्या करिब ३४ लाख छ । मिश्रित समुदायको बसोबास रहे पनि मूलतः तीन जाति मैतेई, नागा र कुकीको बाहुल्य छ । तीन समुदायमध्ये मणिपुरीको जनसंख्या १५ लाख बढी छ । तीन समुदायबीच लामो समयदेखि द्वन्द्व विभिन्न रूपमा चल्दै आएको थियो ।

एक–अर्काको अस्तित्व स्विकार्न नचाहने समुदायबीचको द्वन्द्व यस पटक भने छताछुल्ल भएर पोखियो । इतिहासको पाना पल्टाउने हो भने मणिपुरी र कुकीबीच कुनै समय मित्रतापूर्ण सम्बन्ध थियो । मणिपुरमाथि अन्य समुदायबाट हुन सक्ने सम्भावित आक्रमणलाई निस्तेज पार्न कुकीहरू पहरेदार बनेर उभिएका थिए । तर, उनीहरूको सम्बन्ध अब इतिहासमा मात्रै सीमित भयो । अचेल उनीहरू एकअर्काको ज्यान लिन तल्लीन बन्न थालेका छन् ।

इम्फालबाट २७ किलोमिटर टाढा दोलाइथबी गाउँमा सुरक्षाका लागि हतियारसहित पहरेदारी गर्दै गाउँले ।तस्बिर : एएफपी

सन् १७६२ तिर फर्कियौं भने यी दुईबीचको सम्बन्ध बुझ्न थोरबहुत मद्दत पुग्छ । भारतमा भारत शासन रहँदा मणिपुर अलग देश थियो । मणिपुरमा मैतेई समुदायको वर्चस्व थियो । तर, यो समुदायले पश्चिमतिर नागा र उत्तरतिर बर्मेलीहरूबाट असुरक्षा महसुस गरिरहेको थियो । नागा र बर्मेलीले जतिसुकै बेला आक्रमण गरी राज्य हत्याउलान् कि π भन्ने ठूलो त्रासबीच मैतेईहरू थिए । आक्रमणको डर थियो । यो सम्भावित आक्रमणबाट बाँच्न मणिपुरका तत्कालीन राजा जयसिंहले ब्रिटिससँग एक सन्धि गरी देश बचाइदिन हारगुहार गरे । बर्मामा युद्ध लडिरहेको ब्रिटिस शासनले एउटा जुक्ति निकाल्यो । बर्माबाटै ल्याएको एउटा नयाँ समुदायलाई म्यानमार र मणिपुरको सीमावर्ती क्षेत्रमा बसाल्यो । त्यो अहिलेको आन्दोलनकारी कुकी समुदाय थियो । मणिपुरमाथि अन्य जातीय समुदायबाट हुन सक्ने सम्भावित आक्रमण रोक्न पहरेदारी गरेको कुकी अहिले ‘जानी दुश्मन’ बनेर उभिएको छ ।

सन् १८२६ मा पहिलो ब्रिटिस–बर्मा युद्ध समाप्त भयो । ब्रिटिसले युद्ध हत्याएपछि बर्मासँगै मणिपुरलाई पनि कब्जामा लियो । राजतन्त्र भए पनि अब राजाले निर्णय गर्न नपाउने भए, महत्त्वपूर्ण सबै निर्णयहरू ब्रिटिसले गर्न थाल्यो । सन् १८९१ पछि ब्रिटिसले ५ वर्षे बालकलाई राजगद्दीमा बसाएर मणिपुरमा शासन गर्न थाल्यो ।

सिंगो भारत, बर्मामा समेत शासन गरिरहेको ब्रिटिसका लागि केही वर्षपछि यो पहाडी राज्य ‘घाँडो’ बन्दै गयो । अन्ततः उसले मणिपुरलाई विभाजित गर्‍यो । कुकी र नागालाई मणिपुरको केन्द्रभन्दा टाढा अर्थात् पहाडी र जंगल क्षेत्रमा तथा रैथाने मैतेईलाई मणिपुरको केन्द्र अर्थात् इम्फालमा बस्ने चाँजो मिलायो । पहिलो विश्वयुद्धताका ब्रिटिसले धेरैलाई भारतीयलाई सेनामा भर्ती गर्‍यो । मणिपुरी र नागाहरू सेनामा भर्ती भए । तर, ब्रिटिसले ल्याएर राखेका कुकीले ब्रिटिसको प्रस्ताव इन्कार गर्‍यो । त्यसको बदलामा ब्रिटिसले भारतीय सेना मणिपुर पठाएर कुकीविरुद्ध आक्रमण नै गरायो । त्यसपछि कुकीहरू लडाकु बन्दै जंगल पसे । मैतेईहरूको जनघनत्व सहरी क्षेत्रमा बढ्दै गयो ।

१० प्रतिशत जमिन रहेको इम्फाल र आसपासमा ५३ प्रतिशत जनसंख्या रहेको मणिपुरीको बसोबास छ । ९० प्रतिशत जमिन रहेको क्षेत्रमा २८ प्रतिशत कुकी, नागाको बसोबास छ । भारतको भूमि व्यवस्था ऐनका अनुसार मैतेईहरूलाई नागा र कुकी बाहुल्य भूभागमा जमिन खरिद र बसोबास गर्न इजाजत छैन । नागा, कुकीलाई भने मैतेई बाहुल्य क्षेत्रमा जमिन किन्न र बस्न कुनै रोकतोक छैन ।

सन् १९४७ मा जब भारत स्वतन्त्र भयो । तब मणिपुरको भविष्यबारे व्यापक विमर्श भयो । त्यो विमर्श शान्तिपूर्ण नभएर अहिलेझै हिंसात्मक थियो । नागाले अलग देश माग माग्यो । कुकीले अलग देशै त हैन, राज्यचाहिँ अलग हुनुपर्ने अडान लियो । मणिपुरीका लागि पहिचान, भाषा र संस्कृतिको चुनौती रहेकाले संरक्षणको प्रस्ताव अघि सार्‍यो । तर, यी तीन जातिका फरक–फरक मागलाई स्वतन्त्रतापछिको जवाहरलाल नेहरू सरकारले इन्कार गर्‍यो । बरु मणिपुरलाई केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) बनाइयो ।

राष्ट्रपति शासनमार्फत मणिपुरको कन्ट्रोल २ हजार ५ किलोमिटर टाढाको दिल्लीले गर्‍यो । हिंसात्मक आन्दोलन चर्किन थालेपछि अहिले मणिपुरलाई विगतको झैं केन्द्र शासित प्रदेश बनाइनुपर्ने माग पनि चर्किन थालेको छ । तर, मणिपुरी–कुकीको सशस्त्र हिंसाले त्यो माग धूमिल बनेको छ । सन् १९७२ मा मात्रै मणिपुर राज्य बन्यो । राज्य निर्माणका क्रममा उत्तरपूर्वी भारतका अन्य राज्यलाई झैं मणिपुरलाई पनि उपेक्षा गरियो । मणिपुरको इतिहास र जनताको भविष्य दुवै नामेट पार्ने काममा केन्द्र सरकार अग्रसर बनेको आरोप त्यो बेला नै लगाइएको थियो । अर्थात् मणिपुर राज्य बन्दा मणिपुरी–कुकी दुवै बेखुसी थिए ।

जातीयसँगै धार्मिक हिंसा

मणिपुर हिंसा जातीयसँगै धार्मिक पनि हो । रैथाने मैतेई हिन्दु हुन् । कुकी र नागा इसाई । मुस्लिम समुदायको पनि मणिपुरमा सानो धार्मिक हिस्सेदारी छ । भारतले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मणिपुरमा हिन्दु र इसाईको जनसंख्या करिब हाराहारी छ । हिन्दु ४१.३९ र इसाई ४१.२९ प्रतिशत छन् । मुस्लिमको संख्या ८.४० प्रतिशत छ । सन् १८९४ मा मणिपुरमा पहिलो पटक क्रिस्चियन मिसनरी प्रवेश गरेको थियो ।

खासगरी मणिपुरका जनजाति बाहुल्य क्षेत्रमा प्रवेश गरी व्यापक धर्म प्रचारपछि सन् १९०१ मा इसाई धर्मावलम्बीको संख्या ८ प्रतिशत मात्रै थियो । यो यसरी बढ्दै गयो कि सन् १०९१ मा ३४ प्रतिशत पुग्यो, २०२१ मा यो दर बढेर ४५ र अहिले २०२३ मा ४१.२९ प्रतिशत पुगेको छ । धार्मिक द्वन्द्वका कारण यो सानो राज्यमा तीन समुदायबीच दिनदिनै दूरी बढ्दो छ । हिंसाको तारो चर्च र मन्दिरहरू नै छन् । जुन क्षेत्रमा हिन्दु बस्छन्, त्यहाँ इसाईलाई अवरोध छ, इसाईको क्षेत्रमा हिन्दुलाई ।

आरक्षणको अवस्था

सक्षम र सम्पन्न भएका कारण सरकारी सेवा र शिक्षामा मणिपुरीलाई आरक्षण छैन । नागा, कुकीहरूलाई चाहिँ छ । मणिपुरीहरू आक्रोश पोख्छन्, ‘हामी हिन्दु हौं । हामी यहाँका आदिवासी पनि हौं । तर, राज्यको सेवा र सुविधाबाट हामीलाई किन विभेद र वञ्चित ?’ मणिपुरी–कुकी द्वन्द्वको जरा राज्यशक्ति हो ।

भौगोलिक शक्ति कुकीसँग छ भने राजनीतिक शक्ति मणिपुरीसँग । कुकीहरूको आरोप छ, ‘राजनीतिक रूपमा शक्तिशाली समुदायलाई फेरि किन चाहियो जनजातिको दर्जा ?’ विधानसभाको ६० मध्ये ४० सिट मणिपुरीको कब्जामा छ । कुकीहरूको तर्क छ कि ‘अझै कति चाहियो मणिपुरीलाई आरक्षण ?’ जनजातिको दर्जा पाए कुकी र नागाहरू झैं थप अधिकार सम्पन्न हुने र राज्यका सबै क्षेत्रमा आरक्षणमार्फत एकाधिकार जमाउने दाउमा मणिपुरी छ ।

इसाई धर्मको बढ्दो प्रभावका कारण मणिपुरीहरू बढी सशंकित बन्दै गएका छन् । उनीहरू इसाई धर्मका कारण हिन्दु धर्म र संस्कृति बिस्तारै मासिँदै गएको प्रति उनीहरू धेरै चिन्तित देखिन्छन् । ब्रिटिसको ‘मिस मेनेजमेन्ट’ का कारण मणिपुरको भूगोल मात्रै हैन, धर्म र संस्कृतिमै विभाजनको बीउ रोपेको आरोप पनि लाग्ने गरेको छ । कुकी बसोबास गर्ने क्षेत्रबाटै अवैध लागूपदार्थ र अवैध आप्रवासनका कुरा पनि सतहमा आउन थालेको छ । कुकीहरूलाई म्यानमारबाट अवैध रूपमा प्रवेश गरेको आरोप मणिपुरीले लगाउँदै आएका छन् । म्यानमारको चीन नेसनल आर्मी र जोमी रेभोलुसन आर्मीसँग उनीहरूको साँठगाँठ रहेको आरोप मणिपुरीको छ । दुई महिना भयो, हिंसा रोकिने कुनै छाँटकाट छैन । द्वन्द्वरत दुवै पक्षको आरोप सरकारप्रति नै लक्षित छ । महिना दिनअघि केन्द्रीय गृहमन्त्री अमित शाहले गरेको भ्रमण पनि फलदायी भएन ।

मणिपुर रेल्वे सम्पर्कबाट टाढा छ । हवाई र यातायात मात्रै मणिपुरको यातायातको माध्यम हो । ‘लाइफ लाइन’ का रूपमा रहेको मणिपुर–डिम्मापुर राजमार्ग आन्दोलन पछि लामो समय अवरोध भयो । जसको प्रत्यक्ष असर मणिपुरका विपन्न समुदायले व्यहोर्नुपर्‍यो । यातायात ठप्प हुँदा सिंगो मणिपुर अलग बन्यो । खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तु अभाव भयो । ५४ दिनपछि हालै राजमार्ग त खुल्यो, तर जनजीवन भने उस्तै छ ।

हतियारको जगजगी

मणिपुर हिंसा सुरु भएयताको करिब दुई महिनामा झन्डै चार हजार थान हतियार राज्यको ढुकुटीबाट ‘गायब’ भए । केन्द्रीय गृहमन्त्री अमित शाहको अपिलपछि केहीले हतियार फिर्ता गरे । तर, अधिकांशले गृहमन्त्रीको अपिललाई अटेर गरे ।

कुकीहरूको दाबी के छ भने आन्दोलन दबाउन राज्यले नै मणिपुरीलाई हतियार दिएको हो । मणिपुरीको आरोप छ, ‘कुकीहरूलाई असम राइफलले हतियार सहयोग गरेर हामीविरुद्ध उक्साइरहेको छ ।’ मणिपुरमा चीन, बर्मा हुँदै हतियार आयात हुन्छ । जसमा एके १४ सेभेन एम १६ राइभल्स पनि छ । जुन कुकी मिलिटेन्स समूहसम्म पुग्छ । कुकी अरम्बाई टेङ्गोल र मणिपुरी लेपुन नामक सशस्त्र समूहको सहयोगमा हिंसा मच्चाइरहेको एकअर्काको आरोप छ ।

द वायरका अनुसार गृहमन्त्री साहले भ्रमणका क्रममा धेरै व्यक्तिलाई हतियार बोकेर सडकमा परेड खेलिरहेको देखेपछि गृह प्रशासनलाई सोधे, ‘यी हतियारहरू वैध हुन् कि अवैध ?’ गृह प्रशासनले जवाफ दियो, कतिको लाइसेन्स छ, धेरैको छैन । त्यसपछि साहले अवैध हतियार फिर्ता गर्न अपिल नै गरेका थिए ।

द वायरका अनुसार उत्तरपूर्वी भारतीय राज्यमध्ये मणिपुरमा सबैभन्दा बढी हतियार लाइसेन्स वितरण गरेको छ । मणिपुरमा ३५ हजार १ सय १७ जनालाई लाइसेन्स उपलब्ध गराइएको छ । सन् २०१६ डिसेम्बरमा यो संख्या २६ हजार ८ सय ३६ मात्रै थियो । रोचक के भने मार्च २०१७ पछि जब वीरेन सिंह नेतृत्वको भाजपा सरकार सत्तामा आयो, तब हतियारको लाइसेन्स वितरण द्रुत गतिमा बढ्यो । सिंहको अघिल्लो कार्यकालमा करिब ८ हजारलाई हतियार बोक्ने इजाजत दिइएको थियो ।

चुपचाप नेपालीभाषी

मणिपुरी–कुकी हिंसाबारे नेपालीभाषीहरू टिप्पणी गर्नै चाहँदैनन् । उनीहरू दुई महिनायता चुपचाप छन् । मणिपुरमा नेपालीभाषी बसोबासको इतिहास करिब २ सय वर्ष पुरानो छ । भारतीय गोर्खा परिसंघको एक दस्ताबेजका अनुसार सन् १८२४ ताका मणिपुरका तत्कालीन शासक गम्भीर सिंहले नेपाली (गोर्खा) सैनिकको सहयोगमा बर्माबाट भूमि अतिक्रमण गर्न रोकेका थिए । सुबेदार निरन्जन क्षेत्री र टेकेन्द्रजित सिंहले मणिपुरलाई अतिक्रमण हुनबाट जोगाएको इतिहास छ ।

मणिपुरको काङ्लातोम्बीदेखि काङ्पोक्पीसम्मको करिब २५ किलोमिटर क्षेत्र नेपालीभाषी बाहुल्य मानिन्छ । ब्रिटिस उपनिवेशकै बेला ब्रिटिस सरकारले नेपालीका लागि यो क्षेत्र छुट्याएको थियो । यो क्षेत्र ब्रिटिस सरकारले गोर्खा फौजका परिवारको जीविकाका लागि गाई पाल्न भनेर छुट्याएको थियो । कालापहाड, तोरीबारी, नुनपानी, मुकुली, चन्द्रमान, सेती खोलालगायत क्षेत्रमा नेपालीको बाक्लो बसोबास छ ।

दुई महिनादेखि जारी हिंसाबारे मणिपुरका नेपालीभाषी बेखबर छैनन्, तर यो विषयमा खुलेर बोल्न चाहँदैनन् । मणिपुरी र कुकी दुवै समुदायबाट बराबरी सुरक्षा र संरक्षण पाएका करिब ५० हजार नेपालीभाषी यतिबेला हिंसाबारे चुपचाप छन् । ‘हामी असुरक्षित पनि छैनौं, धेरै सुरक्षित पनि छैनौं,’ एक नेपालीभाषीले नाम गोप्य राख्ने सर्तमा भने, ‘जे होस् हामीलाई ठीकै छ ।’

कतिपय नेपालीभाषीहरू भने हिंसाका कारण भागेर नेपाल प्रवेश गरेको पनि पाइएको छ । कतिपय भने मेचीपारि भारततिरै आश्रित छन् । घरजग्गा रुङ्ने मान्छे मात्रै छाडेर नेपालीभाषीहरू आइरहेका छन् । मणिपुरी–कोकी हिंसाका कारण एक नेपालीभाषीको ज्यान गएको थियो । केही नेपालीभाषीको पसल जलाइएको थियो । ‘हामी मणिपुरी र कुकीको द्वन्द्वको दोहोरो मारमा परेका छौं,’ एक नेपालीभाषीले भने, ‘के गर्नु बोलिसक्नु छैन ।’

-एजेन्सीहरूको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार