बिहीबार, १५ माघ २०८२

भारतीय चर्चित गायक कैलाश खेरले नेपाली फिल्मका लागि गीत गाएका छन् । उनले फागुन १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शिवांश’को एक गीत ‘शिव ताण्डव’मा स्वर दिएका हुन् ।

निर्माण युनिटले फिल्मको एक नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको स्वर फिल्मको गीतमा रहेको जानकारी दिएको हो । गीत रेकडिङपछि नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति खेरले हृदयदेखि आभार व्यक्त गरेको  निर्माण युनिटले जनाएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा र अभिनेता तेज गिरी रिसाहा मुद्रामा छन् । पोस्टरमा अभिनेत्री रुसा न्यौपाने, विमला लिम्बू र विकाश जोशी पनि देखिएका छन् ।

महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन् ।  फिल्मका निर्मातामा अञ्जान केसी रहेका छन् ।

फिल्ममा प्रवीण र तेज गिरीको अलावा विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ । फिल्मको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्दैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार