२०८२ माघ १९ गते

भोजपुर । सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा एैजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा समस्या झनै बढ्दै गएको किसानको गुनासो छ । बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको भोजपुर–६ का किसान आछामेले बताए ।
‘राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ,’ उनले भने, ‘बोट सुकेर बगाननै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन् ।’







