
काठमाडौं– गत पुस २२ मा २६४९.३० विन्दुमा रहेको नेप्से परिसूचक माघ २२ मा २७०८.७० विन्दुमा पुगेको छ । माघ ११ मा २७७२.१७ विन्दुमा पुगेर फेरि घट्दै नेप्से अहिले यो विन्दुमा आइपुगेको हो ।
एक महिनाको अवधिमा कारोबार रकम पनि बढेको छ । गत पुस २२ मा ७ अर्ब ५ करोड ६४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा माघ २२ मा कारोबार रकम ११ अर्ब २८ करोड ६४ लाख पुगेको छ । यस अवधिमा कारोबार रकम १६ अर्ब नाघेको रेकर्ड पनि छ । नेप्से परिसूचकसँगै बढेको कारोबार रकमले सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको देखाउने जानकारहरु बताउँछन् ।
गत पुस २२ मा ४४ खर्ब ४८ अर्ब २४ करोड रुपैयाँ कुल सेयर बजार पुँजीकरण रहेकोमा माघ २२ मा ४५ खर्ब ४७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सेयर बजारका जानकारहरुका अनुसार यसबीचमा सेयर बजार जति बढेको छ, त्यो निर्वाचन हुने विश्वासका आधारमा बढेको हो । लगानीकर्ताको मनोबल बढाउन निर्वाचनको माहोलले भूमिका खेल्दैछ । बजारमा तरलताको अवस्था एकदमै सहज भएको छ । सेयर कर्जा सहज हिसाबले पाइन्छ । ब्याजदर घट्नु पनि सेयर बजारका लागि सकारात्मक पक्ष हो । विशेष परिस्थितिमा निर्वाचन हुन लागेको र यसबाट सक्षम व्यक्तिहरु नीति निर्माण तहमा पुग्ने विश्वास लगानीकर्ताहरुको छ ।
सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल निर्वाचनको माहोल बढ्दै जाँदा लगानीकर्ताको मनोबल बढेको बताउँछन् । निर्वाचनबाट युवाहरू आउने र राम्रा नीति बनाउने तथा मुलुकको आर्थिक स्थायित्व हुने अपेक्षा लगानीकर्ताले गरेको उनको भनाइ छ । यद्यपि, अहिले जति बजार बढिरहेको छ, त्यो अपर्याप्त रहेको उनको तर्क छ । उनले भने, ‘बजार बढ्नुपर्ने सबै सूचकहरू राम्रो हुँदा पनि अपेक्षित गतिमा बढ्न सकेको छैन ।’
पछिल्लो समय सेयर बजारका लागि आवश्यक प्रायः सबै नीतिहरू लचक छन् । सेयर धितो कर्जाका लागि ब्याजदर घटिरहेकाले झनै सहज बनेको छ । साथै मुद्दती निक्षेपको ब्याजदर समेत घटेकाले लगानीकर्ता मुद्दतीमा नभई सेयर बजारमा आकर्षित हुने अवस्था छ । तैपनि बजार बढ्न नसक्दा लगानीकर्ता चिन्तित थिए । जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल खस्किएको र असुरक्षित महसुस गरेकाले त्यसको प्रभाव सेयर बजारमा समेत परेको थियो । तर, निर्वाचनको माहोलले फेरि बजार लयमा फर्कने विश्वास लगानीकर्ताको छ ।
विगतमा पनि निर्वाचनताका लगानीकर्तामा उत्साह छाउने र बजार बढ्ने ट्रेण्ड थियो । यसअघि २०६३ चैत अन्तिममा पहिलो संविधान सभा चुनाव हुँदाताका बजार बढ्दै गएर २०६५ भदौमा नेप्से परिसूचक ११७५.३८ विन्दुमा पुगेको थियो । २०६०–६१ मा २२२.०४ विन्दुमा रहेको नेप्से परिसूचक माओवादी नेतृत्वमा सरकार आउने समयमा बढेर सो विन्दुमा पुगेको हो । त्यसपछि भने सरकारले अपेक्षाकृत काम गर्न नसकेका कारण सेयर बजार निरन्तर घटेको थियो ।
नेप्से परिसूचक २०६९ असारमा घटेर २९२ विन्दुमा झरेको थियो । अर्थात् २०६४–६५ को उत्साह टिक्न सकेन । त्यतिखेर अपेक्षा अनुसार माओवादी नेतृत्वको सरकारले काम गर्न नसकेका कारण सेयर बजार घटेको थियो । नयाँ संविधान जारी भएपछि २०७३ साउनमा नेप्से परिसूचक १८२१.४५ विन्दुमा पुगेको थियो । त्यसपछि घटबढ हुँदै आएको सेयर बजारले कोरोनाको समयमा फेरि उचाइ लिएको थियो ।
२०७७–७८ मा २८२३.४१ विन्दुमा पुगेको नेप्से परिसूचक फेरि घटेर २०८० वैशाखमा २१८१८.३१ विन्दुमा झर्यो । त्यसपछि बजार क्रमशः बढ्दै गएकोमा अहिले निर्वाचनको समयमा फेरि बढ्न सक्ने देखिएको जानकारहरू बताउँछन् । निर्वाचनपछि स्थिर सरकार आउने र लगानीको वातावरण बन्ने अपेक्षाकै कारण बजार बढ्ने गरेको उनीहरूको बुझाइ छ । निर्वाचनलाई लगानीकर्ताले सकारात्मक रूपमा लिने गरेका छन् ।







