
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन सहयोग स्वरूप प्रत्येक पार्टी सदस्यबाट एक हजार उठाउने भएको छ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालद्वारा जारी अपानिमा भनिएको छ, ‘प्रत्येक पार्टी सदस्यले निर्वाचन सहयोग स्वरूप निर्वाचन क्षेत्रको निर्वाचन परिचालन समितिलाई न्यूनतम रु.१००० (अक्षरूपी एक हजार) सहयोग गर्ने ।’
पार्टी सदस्यले बुझाएको सहयोगको विवरण अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन पार्टी मातहतका कमिटीलाई निर्देशन दिएका छन्।
पार्टी सदस्यले बुझाएको सहयोग रकममध्ये २५ प्रतिशत रकम केन्द्रीय कार्यालयको कोषमा जम्मा गर्ने र प्राप्त सहयोग रकमको मितव्ययी र पारदर्शी ढङ्गले परिचालन गर्ने अपानिमा उल्लेख छ।
निर्वाचन आयोगले तोके बमोजिम उम्मेदवार र पार्टीले निर्वाचन परिचालन प्रयोजनको लागि बैंक खाता खोल्ने, त्यसैबाट निर्वाचनका लागि हुने सहयोग जम्मा गर्ने र खर्च गर्ने व्यवस्था मिलाउने समेत जनाएको छ ।
अपानिमा भनिएको छ, ‘निर्वाचन प्रयोजनका लागि आर्थिक सहयोग रसिद केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ । सुविधाका लागि सम्बन्धित निर्वाचन क्षेत्रले केन्द्रीय कार्यालयलाई जानकारी गराई आफैले सहयोग रसिद छाप्न सकिनेछ। केन्द्रीय कार्यालयबाट प्राप्त भएका वा सम्बन्धित समितिले छापेका सहयोग रसिदको पूर्ण विवरण, लगबूक, बुझिलिने व्यक्तिको विवरण, सहयोग प्राप्त रकमको विवरण र फिर्ता भएको सहयोग रसिदको पूर्ण विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने ।’







