
काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी) भुइँऐसेलुखेतीमा रमेका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छ ।
कोरोना महामारीका बेला खेती थालेका उनले भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएको छ । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भने, “स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।”
जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थालेका भने होइनन्, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थालेकाे सुनाए ।
गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गरेका उनी यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त छन् । उनले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहेका छन् । भुइँऐसेलुका बिरुवा पनि उनले बेच्दै आएका छन् । उनले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् ।







