
इरान र अमेरिकाबीच बढ्दो तनावका बीच चीन र रुस ले इरानतर्फ युद्धपोत पठाएर खुलेआम शक्ति प्रदर्शन गरेका छन्। खाडी क्षेत्रबाट अमेरिकी सेनाको गतिविधिमाथि निगरानी गर्ने उद्देश्यसहित चिनियाँ नौसेना हर्मुजको जलडमरू हुँदै इरानी र रुसी युद्धपोतसँग सामेल भएको बताइएको छ। क्षेत्रीय सुरक्षा सन्तुलनमै असर पार्ने गरी चीन र रुस दुवै देशले एकैपटक युद्धपोत परिचालन गर्नुले इरान–अमेरिका तनाव अब प्रत्यक्ष भूराजनीतिक टकरावतर्फ उन्मुख हुँदै गएको संकेत दिएको छ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन का प्रभावशाली सल्लाहकार निकोलाई पात्रुशेभ ले एक रुसी पत्रिकालाई दिएको अन्तर्वार्तामा पश्चिमी प्रभुत्वको अन्त्य गर्दै महासागरहरूमा ‘बहुध्रुवीय विश्व व्यवस्था’ निर्माण गर्न रुस सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार, इरान नजिक रुसी नौसेनाको सक्रियता केवल सैन्य अभ्यासमा सीमित नभई, अमेरिकाको प्रभावविरुद्ध रणनीतिक सन्देश दिने कदम हो।
यसअघि नै मस्कोले आफ्नो बाल्टिक फ्लीटअन्तर्गतको अत्याधुनिक युद्धपोत ‘स्टोइकी’ कार्भेटलाई इरानको प्रमुख बन्दरगाह बन्दर अब्बास मा पठाइसकेको थियो। संयुक्त नौसैनिक अभ्यासका नाममा इरान, चीन र रुसका युद्धपोतहरू एउटै क्षेत्रमा केन्द्रित हुनुलाई विश्लेषकहरूले अमेरिकाविरुद्धको प्रत्यक्ष एकताको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्। हर्मुज जस्तो विश्व ऊर्जा आपूर्तिको संवेदनशील नाकामा सैन्य उपस्थितिको तीव्र विस्तारले अब खाडी क्षेत्रलाई विश्व शक्तिहरूको खुला शक्ति प्रतिस्पर्धाको मैदान बनाइदिएको छ।