
बंगलादेश–नेपाल आर्थिक साझेदारीमा जोड, द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने प्रयास
ढाका– बंगलादेश र नेपालले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक साझेदारीमा विशेष जोड दिएका छन्। व्यापार, ऊर्जा, कनेक्टिभिटी र पर्यटन क्षेत्रका सम्भावनाहरू उपयोग गर्ने विषयमा दुवै देशका विदेशमन्त्रीहरूले विस्तृत छलफल गरेका छन्।
नेपालका विदेशमन्त्री बाला नन्द शर्मा र बंगलादेशका नयाँ विदेशमन्त्री खलिलुर रहमान बीच बुधबार राजधानी ढाकास्थित स्टेट गेस्ट हाउस पद्मामा भएको भेटघाटमा यी विषयहरू उठेका हुन्।
ढाकास्थित नेपाली दूतावासका अनुसार बैठकले दुई देशबीचको लामो समयदेखिको असल छिमेकी सम्बन्ध, साझा आकांक्षा र गहिरो सांस्कृतिक सम्बन्धको समीक्षा गरेको छ। साथै, द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय प्लेटफर्महरूमा सहयोग गरी साझा हित अघि बढाउने प्रतिबद्धता दोहोर्याइएको छ।
बैठकमा बंगलादेशका विदेश राज्यमन्त्री शमा ओबैद इस्लाम, विदेश सचिव असद आलम सियाम र महानिर्देशक इस्रत जहाँ उपस्थित थिए। नेपाली टोलीमा राजदूत घनश्याम भण्डारी र सम्बन्धित अधिकारीहरू पनि सहभागी थिए।







