राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए सरकार गठन भएको १०० दिनभित्रै सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत मा बिहीबार सार्वजनिक गरिएको पार्टीको वाचापत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्नु सरकारको प्रमुख दायित्व हुने उल्लेख गरिएको छ।

वाचापत्रअनुसार सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको बचत खातामै रकम फिर्ता गरिनेछ। साथै, बचतकर्ताको रकम सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने र संकटग्रस्त सहकारी संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा, साना बचतकर्ताबाट सुरु गरी भुक्तानी व्यवस्था मिलाइने जनाइएको छ।

पार्टीले सहकारी सञ्चालकलाई जेल हाल्नु मात्र आफ्नो उद्देश्य नभएको स्पष्ट पारेको छ। वाचापत्रमा मुख्य लक्ष्य बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता गराउनु नै भएको उल्लेख गर्दै, सहकारी वित्तीय संस्थाका सञ्चालकहरू रकम फिर्ता गर्न तयार भए मिलापत्रका लागि कानुनी बाटो खुला गरिने बताइएको छ।

रास्वपाले यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण सुनिश्चितता र स्पष्ट समयसीमा तोकी सञ्चालकहरूलाई थुनाबाहिरै रहेर सम्पत्ति परिचालन तथा ऋण असुली गर्न अवसर प्रदान गरिने जनाएको छ। यसबाट सहकारी संकट समाधान गरी पीडित बचतकर्तालाई शीघ्र राहत दिने लक्ष्य लिइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार