
बागलुङ — विद्यालय पढ्दादेखिनै उनी कांग्रेस निकट नेपाल विद्यार्थी संघको सदस्य बनिन् । बागलुङको ग्रामीण बस्ती रिघामा जन्मेकी ३८ वर्षीया रेणुका काउचाको राजनीतिक उचाइँ भने २०६२ सालमा काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा स्ववियू कोषाध्यक्ष भएपछि सुरु भयो ।
त्यसपछि उनी निरन्तर राजनीतिमा सक्रिय छिन् । कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेसनमा उनी लगातार प्रतिनिधि निर्वाचित भइन् । पहिला नेविसंघमा सक्रिय उनी मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनिन् । यो समयमा उनले देशभरका मगर समुदायका विद्यार्थीबीच कार्यक्रममा पुग्ने अवसर पाइन् । संविधानसभा निर्वाचनको बेला समावेशिता, समानुपातिक निर्वाचन प्रणाली र महिला अधिकारको क्षेत्रमा उनले धेरै ठाउँका अन्तरक्रियामा भाग लिने मौका पाइन् । विद्यार्थी नेतृत्वले नै राजनीतिक नेतृत्वमाझ उनी परिचित बनिन् ।
२०७४ को स्थानीय निर्वाचनको तयारी हुँदा नगरप्रमुख र उपप्रमुखकालागि धेरै आकांक्षी थिए । पहिलो पटकमै उनले उपप्रमुखको टिकट पाइन् । एमाले र माओवादीको गठबन्धनलाई जितेर काउचाको टिम गलकोट नगरपालिकामा एकल बिजयी भयो । भरत शर्मा गैरे नगरप्रमुख र काउचा उपप्रमुख भइन् ।
पहिलो कार्यकाल उनले सफलतापूर्वक पूरा गरिन् । उनी कांग्रेसको १४ औं महाधिवेसनमा पनि बागलुङ क्षेत्र नं २ बाट महाधिवेसन प्रतिनिधि पनि निर्वाचित भइन् । उपप्रमुख भएको बेला महिलालाई उद्यमशील बनाउने, महिला स्वास्थ्यको सुधार र सशक्तीकरणका योजना ल्याइन् । काउचाले आफ्नै कार्यपालिका र नगरसभाका सदस्यलाई ती योजना बुझाउन धेरै समय लागेको थियो । पुरुष सदस्यले ल्याएका एजेन्डामा तत्कालै छलफल हुन्थ्यो । उपप्रमुखका कुरा पछि सर्थे । महिला भएकै कारण उपयोगी एजेण्डा ल्याएर पनि समयमा पास नभएको उनको अनुभव छ ।







