
काठमाडौं — नेपाली कांग्रेस भित्रको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। पूर्णबहादुर खड्का र शेखर कोइराला समूहले समानान्तर गतिविधि सुरु गर्दै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका छन्।
सानेपामा गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा खड्का–कोइराला पक्षले काठमाडौंमै छुट्टै बैठक राखेर शक्ति प्रदर्शन गरेको हो। उक्त बैठकले एक साताभित्र केन्द्रीय समिति बोलाउने निर्णय गर्दै पार्टीभित्र बढ्दो असन्तुष्टिलाई औपचारिक बहसमा लैजाने संकेत दिएको छ।
बैठकमा पूर्व केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूको सहभागिता रहेको र १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई सक्रिय बनाउने, चुनावी समीक्षा गर्ने तथा आगामी १५औँ महाधिवेशनको तयारी गर्ने एजेन्डा तय गरिएको जनाइएको छ।
यसबीच निवर्तमान सभापति शेरबहादुर देउवा विदेशमै रहेका बेला पार्टीभित्र नेतृत्व परिवर्तनपछि असन्तुष्टि झन् बढेको देखिन्छ। विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई निर्वाचन आयोग ले मान्यता दिए पनि त्यसविरुद्ध मुद्दा सर्वोच्च अदालत मा विचाराधीन छ।
प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएर कांग्रेस ३८ सिटमै खुम्चिएपछि आन्तरिक असन्तोष चुलिएको हो। त्यसमाथि सभापति पदमा पुगेका गगन थापा को राजीनामाले नेतृत्व संकट अझ गहिरिएको छ।
खड्का–कोइराला समूहको पछिल्लो सक्रियताले कांग्रेसभित्र गुटीय राजनीति थप तीव्र हुँदै जाने स्पष्ट संकेत देखिएको छ।