
केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउन भन्दै केही पदाधिकारी नै सक्रिय भएका छन्।
नेपालको राजनीतिमा दशकौँदेखि वर्चस्व कायम राख्दै आएका ओली यतिबेला आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन मोडमा छन्। एकातिर पार्टीभित्रैबाट उनको राजीनामा मागिएको छ। अर्कोतिर, उनी कानुनी कठघरामा छन्।
अध्यक्ष ओलीले आफूमाथि लागेका आरोप र सम्भावित कारबाहीको बीचमा रामबहादुर थापा बादललाई पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोकेपछि एमालेभित्रको असन्तुष्टि विस्फोटको सँघारमा पुगेको हो। आन्तरिक कलह बाहिर आएको हो।
असन्तुष्ट नेताहरूले हिरासतमा रहेका ओलीलाई यही मौकामा हटाउने तयारी थालेका छन्। ओलीका विश्वासपात्र र पार्टीका प्रभावशाली पदाधिकारीहरू नै अहिले ओलीको विपक्षमा उभिएका छन्।
उनीहरूले सचिवालयमा बहुमत जुटाएर विधानसम्मत रूपमा ओलीलाई पदबाट हटाउने तयारी गरेका छन्। यसको विधि खोजिरहेका नेताहरू छलफलमा छन्। कतिपय केन्द्रीय तहका नेताले हस्ताक्षर अभियान पनि अघि बढाएका छन्।







