गृहमन्त्री सुदन गुरुङले नेपाली नागरिकले स्वीस बैंकमा अवैधरूपमा राखेको भनिएको सम्पत्तिको विषयमा अनुसन्धान अघि बढाउन स्वीट्जरल्यान्ड सरकारसँग सहयोग माग गरेका छन्। बुधबार नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीसँग भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन्।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालबाट अवैध रूपमा बाहिरिएको भनिएको रकमको पहिचान, अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सहयोग गर्न अनुरोध गरेका थिए। उनले विशेषगरी उच्च पदस्थ व्यक्ति तथा व्यवसायीहरूले भ्रष्टाचारमार्फत आर्जन गरेको सम्पत्तिको स्रोत पहिचान गर्नुपर्नेमा जोड दिए।

गुरुङले यस्ता अवैध सम्पत्तिलाई कानुनी दायरामा ल्याउँदै नेपाल फर्काउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले वित्तीय अपराध नियन्त्रणका लागि द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने आवश्यकता औंल्याएका थिए।

स्वीस राजदूत मैवलीले पनि यस विषयमा सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक समन्वय र सहयोगका लागि आफ्नो सरकारसँग पहल गर्ने संकेत दिएका थिए। उनले कानुनी प्रक्रिया र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सहकार्य गर्न तयार रहेको बताएका छन्।

सरकारले पछिल्लो समय भ्रष्टाचार नियन्त्रण र विदेशमा लुकाइएको अवैध सम्पत्ति फिर्ता ल्याउने अभियानलाई तीव्र बनाइरहेको छ। यसै सन्दर्भमा गृहमन्त्री गुरुङको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार