![]()
परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज बिहीबार मरिससतर्फ प्रस्थान गर्दैछन्।
मरिससको राजधानी पोर्ट लुइसमा चैत २७ र २८ गते हुने यस सम्मेलनलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र मरिसस सरकारको संयुक्त आयोजनामा हुने यस पटकको सम्मेलनको थिम ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ रहेको छ।
नेपालको ‘माउन्टेन-ओसियन’ भाष्य
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, मन्त्री खनालले सम्मेलनमा नेपालको तर्फबाट महत्वपूर्ण भू-पारिस्थितिक एजेन्डा प्रस्तुत गर्नेछन्। भूपरिवेष्ठित देश भए पनि नेपालले ‘हिन्द महासागरको स्वास्थ्य र शासन’मा आफ्नो चासो राख्दै आएको छ।
हिमालयबाट बग्ने पानी कसरी महासागरसम्म पुग्छ र जलवायु परिवर्तनले यी दुवै क्षेत्रलाई कसरी असर गरिरहेको छ भन्ने ‘माउन्टेन-ओसियन कनेक्टिभिटी’मा खनालले प्रस्तुति दिनेछन्।
नेपालको व्यापारिक मार्गका लागि समुद्री सम्पर्कको अपरिहार्यता र यस क्षेत्रको आर्थिक विकासमा नेपालको हिस्साबारे उनले राष्ट्रिय धारणा राख्नेछन्।
साइडलाइन कूटनीति र जयशंकरसँगको भेट
सम्मेलनका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी एस. जयशंकरसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना प्रबल छ। पछिल्लो समय नेपाल-भारत सम्बन्धमा देखिएका सीमा, कनेक्टिभिटी र ऊर्जा व्यापारका नयाँ आयामहरूबारे ‘साइडलाइन’मा अनौपचारिक संवाद हुन सक्छ। भुटानका विदेशमन्त्री दीनानाथ ढुंगेललगायत सहभागी सम्मेलनमा सहभागी हुनेछन्।
भ्रमण टोलीमा परराष्ट्रका वरिष्ठ अधिकारीहरू पनि सहभागी छन्। परराष्ट्रमन्त्री खनाल यही चैत ३० गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।







