विकिलिक्सले अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनका चुनावी अभियानका प्रमुख जोन पोडेस्टाको इमेल सार्वजनिक गरिरहेको छ। गत शुक्रबार, सोमबार र मंगलबारसमेत तीन चरणमा विकिलिक्सले ती इमेल सार्वजनिक गरेको हो। तेस्रो चरणमा विकिलिक्सले १ हजार १ सय ९० इमेल सार्वजनिक गरेको छ, र आफूसँग ५० हजारभन्दा बढी इमेल रहेको जनाएको छ।
भर्खरै सार्वजनिक भएका ती इमेलहरुले मिडियासँग हिलारीको सम्बन्ध, चुनावी अभियानमा विल क्लिन्टको भूमिका, उनीहरुकी छोरी चेल्सीका बारेमा महत्वपूर्ण खुलासा गरेका छन्।
पोडेस्टालाई लेखेको एक इमेलमा हिलारीका मुख्य सल्लाहकार डग ब्यान्डले उनकी छोरी चेल्सी ‘बिग्रेको बच्चा’ भएको आरोप लगाएका छन्। चेल्सीका कारण क्लिन्टन फाउण्डेसनभित्र तनाव उत्पन्न भएको आरोप ब्यान्डले लगाएका छन्।
त्यसैगरी सार्वजनिक भएका इमेलहरुमा मिडियाका थुप्रै सदस्यसँग हिलारीको चुनावी अभियानको राम्रो सम्बन्ध रहेको खुलेको छ। सिएनबिसी, न्युयोर्क टाइम्सलगायत सञ्चार माध्यमका पत्रकारहरुले पटकपटक सल्लाह दिनका लागि हिलारीलाई इमेल गरेका र हिलारीको अन्तर्वार्ताका अंश हटाउने तथा थप्ने गरेको बताइएको छ।
सेक्स मामिलामा नराम्रो छविका कारण विल क्लिन्टनलाई चुनावी अभियानभन्दा बाहिर राखिनुपर्ने पक्षमा हिलारीको चुनावी अभियानभित्रका केही मान्छे रहेको भन्दै एक पत्रकारले पोडेस्टालाई इमेल लेखेका थिए।
अक्टोबर २०१५ मा एक डिनरमा हिलारीले कुन जोक सुनाउने भन्ने कुरामा पनि चुनावी अभियानका सदस्य र सल्लाहकारहरूबीच विवाद भएको सार्वजनिक गरिएको इमेलमा छ।
वर्तमान राष्ट्रपति बाराक ओबामाले हिलारीलाई समर्थन गर्न अनिच्छा देखाएको भन्दै सेन्टर फर अमेरिकन प्रोगेसकी सिइओ निरा टान्डेनले १२ मार्च २०१६ मा पोडेस्टालाई इमेल गरेकी छन्। ‘ओबामाले हिलारीलाई समर्थन गर्ने संकेत मात्रै भए पनि दिन सक्छन् तर उनीहरु समर्थन गर्न चाहँदैनन्, यो चुनावमा ओबामाको दाउ ठूलो छ’, इमेलमा भनिएको छ।
उत्तरमा ओबामाका वरिष्ठ सल्लाहकार भालेरी जारेटलाई जोडेर पोडेस्टाले लेखेका छन्, ‘तिमी किन भालेरीलाई घच्घच्याउँदिनौ?
सन् २०१४ मा प्रकाशित हिलारीको संस्मरण ‘हार्ड च्वइसेज्’ मा कि स्टोन पाइपलाइन सम्बन्धी एक खण्ड हटाइएको इमेलमा जनाइएको छ। त्यसैगरी बर्नी स्यान्डर्ससँगको प्रतिस्पर्धामा कस्तो रणनीति अपनाउने भन्ने विषयमा पनि चुनावी अभियानका पदाधिकारीबीच वादविवाद भएको देखिएको छ।
विकिलिक्सको यो खुलासापछि हिलारीको चुनावी अभियानका सम्बन्धमा प्रश्नहरू उठेका छन्। तर त्यसले क्लिन्टनको चुनावी अभियानमा अहिलेसम्म ठूलो असर पारिहालेको चाहीँ छैन।
तर विकिलिक्सको खुलासालाई अमेरिकाले आफ्नो रुससँग बिग्रेको सम्बन्धको परिणामका रुपमा अथ्र्याएको छ। वासिङ्टनले यसलाई रुसको चाल भएको बताउँदै उपयुक्त समयमा रुसलाई यसको जवाफ दिने घोषणा गरिसकेको छ। राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पलाई जिताउनका लागि रुसले इमेल ह्याक गरेको आरोप अमेरिकाले लगाएको छ।
रुसले भने सो आरोपको खण्डन गर्दै आएको छ। उसले आफ्ना वेभसाइटहरुमाथि दैनिक लाखौँ आक्रमण हुँदै आए पनि आफूहरुले अमेरिकालाई दोष नदिएको बताएको छ।
एजेन्सीको सहयोगमा







