अक्टुबर क्रान्ति विश्वमै मजदुरहरुले सफलतापूर्वक लामो समयसम्म आफ्नो राज्य कायम गर्न सकेको पहिलो घटना थियो ।
पेरिस कम्युन धेरै दिन टिकेन । त्यसपछि अक्टुवर क्रान्ति थियो, जसले सम्पुर्ण मजदुर र किसानलाई सर्वहारा वर्गको सत्तामा पु¥यायो । उनीहरुले पनि सफलतापूर्वक सत्ता सञ्चालन गर्न सक्छन् र त्यो सत्ता पूँजीवादी सत्ता भन्दा धेरै गुणा राम्रो हुन्छ भन्ने कुरा अक्टोबर क्रान्तिले देखायो । दोस्रो कुरा एकदमै पिछडिएको देशमा समेत पुँजीवादी क्रान्ति र समाजवादी क्रान्ति दुवै सम्भव छ भन्ने कुरा पनि यसले देखायो ।

माक्र्सले भन्नुभएको थियो कि विकसित देशमा मात्रै समाजवादी क्रान्ति सम्भव छ । तर त्यसको विपरित अविकसित पूँजीवादी देश रुसमा क्रान्ति सम्भव भयो र मजदुरहरु सत्तामा जान सफल भए । त्यो अक्टुवर क्रान्तिले देखायो । तेस्रो कुरा यस्तो देशमा क्रान्ति भयो जहाँ एकदमै ठुलो जनसंख्या त थिएन तर विश्वको ठुलो भु–भाग थियो । झन्डै ३-४ वटा जोन भएको देशमा क्रान्ति भयो । त्यसले पनि विश्वमा ठुलो महत्व राख्यो । साना देशमा यो क्रान्ति भएको भए त्यति महत्व राख्दैन थियो होला ।
ज्यादै ठुलो देशमा यो क्रान्ति भयो । त्यो बेला अमेरिका भन्दा पनि ठुलो र चाइना भन्दा पनि ठुलो विश्वको सबैभन्दा ठुलो देश रुसमा यो क्रान्ति भयो । यसले के महत्व राख्यो भन्दा वरपर जर्मनी, बेलायत, फ्रान्सजस्ता मुलुकहरु त्यतिखेर एकदमै विकसित पूँजीवादी देशहरुमा यसले खतराको घण्टी बजायो कि वास्तवमा मजदुर र श्रमिकवर्गहरु सत्तारुढ भए । जसले गर्दा पुँजीपतिहरुको स्वर्गमा खतराको घण्टी बजायो ।
त्यो अक्टुवर क्रान्तिपछि रुसमा मजदुर र श्रमिक वर्गको जीवनस्तरमा ठूलो परिवर्तनहरु आयो । जस्तै मजदुरहरु मात्रै सत्तामा पुगेको हैन महिलाहरु पनि विश्वकै सबैभन्दा ज्यादा भोटिङ राइट्स पाउने देश तत्कालीन समाजवादी देश रुस थियो । जहाँ कि विश्वका पूँजीवादी देशहरुमा त्यतिबेला महिलाहरुलाई भोटिङ राईट्स थिएन । तर सोभियत संघमा महिलाहरुले पहिलोपटक त्यो अधिकार पाए । त्यसपछि अरु पुँजीवादी देशहरुले पनि रुसले दिएको अधिकार दिन बाध्य भए ।
सोभियत संघमा समाजवादी क्रान्तिपछि यति ठुलो परिवर्तनहरु भयो कि खासगरी औद्योगिक क्रान्तिको सवालमा र औद्योगिक सुधारको सवालमा पूँजीवादी देशहरु नै जिब्रो टोक्ने स्थिति पैदा भयो । औद्योगिक विकासको सवालमा । अरु कयौं सवालमा रुसी समाजवादले अंगालेका सबै नीतिहरु पूँजीवादी देशहरुले पनि समाजवादका थुप्रै कुराहरु अपनाउनु पर्ने बाध्यता भयो । त्यो सबै अक्टुवर क्रान्तिले गर्दा भएको थियो । त्यसैले अक्टोबर क्रान्तिको ज्यादै ठुलो महत्व छ ।
रुसमा पुँजीवादको विकास नहुँदै लेनिनको बलजफ्तीका कारण रुसमा जर्बजस्त क्रान्ति लादियो भन्ने कोणहरु पनि आउने गरेका छन् । जुन सत्य होइन । लेनिन र माओ दुबैलाई जर्बजस्ती क्रान्ति लादेको आरोप लाग्ने गरेको छ । ती आरोपहरु कम्युनिस्ट भित्र र बाहिरबाट आउने गरेको छ ।
लेनिन र माओको तर्क के थियो भने पुँजीवादले जरो हालेपछि जरो हालेको हाल्यै गर्छ । त्यहाँ समाजवादी क्रान्तिको पालै आउँदैन । समाजवादी क्रान्ति भनेको पुँजीवाद कमजोर भएकै ठाउँमा आउने हो । उनीहरुलाई बलियो र मजबुत हुन दिएर आउने कुरा होइन । यो बहस चीनमा नयाँ जनवादी क्रान्तिपछि निकै लामो समयसम्म चलेको थियो ।
चीनमा क्रान्तिपछि लिउ शाओ चीले यस्तो बहस चलाएका थिए । उनको तर्क थियो कि चीनमा भर्खर नयाँ जनवादी क्रान्ति भएको छ, तत्काल समाजवादी क्रान्ति गर्ने बेला भएको छैन । यो नयाँ पुँजीवादलाई बलियो हुन दिएपछि समाजवादी क्रान्ति गर्ने हो भन्ने तर्क लिउ शाओ चीउको थियो । माओले त्यो होइन भन्नु भयो । त्यसो भए त समाजवादी क्रान्ति गर्ने दिनै आउँदैन भनेर माओले भन्नु भयो । यस्तो तर्क त लेनिनले रुसमा पहिल्यै गर्नु भएको थियो ।

पुँजीवादको विकास नभएको देशमा समाजवादी क्रान्ति हुँदैन भन्ने दृष्टिकोण गलत छ । मानव समाजमा पहिले दास युग आउँछ, त्यसपछि सामन्ती युग आउँछ । त्यसपछि पुँजीवादी युग र अनि समाजवाद आउँछ भन्ने सोच वैज्ञानिक होइन । यसले लामा लामा युग पार गर्नुपर्छ भन्ने सोचमा आधारित दृष्टिकोण हो ।
वास्तवमा विश्व इतिहासमा आधाभन्दा बढी देशमा समाज यसरी हिडेको छैन । कयौं देशमा सामन्तवाद आउँदै आएन । कयौ देशमा दास युग देखा पर्दै परेन । एकैचोटी पुँजीवादमा गएका देशहरु पनि छन् विश्वमा ।
कोलम्बसहरु अमेरिकामा जाँदा त्यहाँ कविला युगको समाज थियो । सामन्तवाद पनि आएको थिएन, त्यहाँ । एकैचोटी त्यहाँ कविलाहरुलाई मारेर एकैचोटी पुँजीवाद स्थापना गरेको हो । अमेरिका र ल्याटिन अमेरिकी देशहरुमा सामन्तवाद नै आएन । संसारका अरु थुप्रै देशहरु छन् जहाँ समाज जम्प (छलाङ) हानेर अगाडि बढेको छ ।
नेपालमा पनि राई लिम्बु र तामाङ भएको समाजमा पहिले सामुहिक वा सामुदायिक स्वामित्व भएको समाज थियो । त्यो कविलायी समाजको समुदाय थियो । नेपाल पनि एकैचोटी पुँजीवादमा गएको देखापर्छ । त्यो समाजमा किपट प्रथा भनिन्छ ।
किपट प्रथा भनेको सामुदायिक स्वामित्व भएको समाज हो । त्यो समाजबाट दास युग पनि आएन । सामन्ती युग पनि भएन । एकचौटी पुँजीवादमा गयो । त्यसरी पनि त जाँदो रहेछ त समाज ।
जनपाटीसँगको कुराकानीमा आधारित







