सिन्धुपाल्चोक : रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ । नेपालमै दुर्लभ मानिने ‘जी–६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो ।
मेलम्चीका युवा कृषक कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर यो वर्ष झन्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् । यो जातको चामलको रङ कालो र धान अन्यको तुलनामा केही फिक्का हुन्छ । पराल २ फिटको हुन्छ ।
जिल्लामै पहिलोपटक यो जात भित्र्याउने किसान सिग्देलका अनुसार नियमित खाए यो धानको चामलबाट बनेका परिकारले विभिन्न खाले रोगसँग लड्ने क्षमतासमेत राख्छ ।

सामान्य चामलको तुलनामा यसको चामल २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक हुन्छ । आठ हजार वर्ष पहिले चीनमा खेती हुने गरेको यो जातको धान पाँच वर्ष पहिले मात्र नेपाल भित्रिएको हो ।
नेपालमा दक्षिण कोरियाबाट भित्रिएको इतिहास भेटिएको किसान सिग्देलले बताए । खेती भने दाङबाट सुरु भएको तथ्य भेटिएको छ ।
यो धान र चामल हजारौं वर्ष पहिले सर्वसाधारणलाई निषेधित थियो । पहिले चीनलगायत अन्य देशमा यो जातको चामल राजाहरूले मात्रै खाने गर्थे । संसारकै महँगो धान र चामलमध्येको यो पनि एक भएको सिग्देलले दाबी गरे ।
“हामीले अघिल्लो वर्ष यसको बीउलाई प्रतिकेजी एक हजार रुपैयाँमा खरिद गरेर ल्याएका हौं,” उनले भने, “पहिलो वर्ष परीक्षणका लागि ४० किलो बीउ ल्याएर खेती गरेका थियौं ।”
उनले कालो धानबाट उत्पादित चामलको मूल्य तय भई नसकेको बताए । “अन्य चामलको तुलनामा धेरै नै महँगो पर्छ,” उनले भने ।
समुद्री सतहबाट १ हजार ५ सयदेखि १ हजार ८ सय मिटरको उचाइमा यसको उत्पादन हुन्छ । जिल्ला कृषि विकास कार्यालयले पनि कालो धानको मूल्य धेरै पर्ने जनाएको छ ।
“कालो धानको जात फरक–फरक हुन्छ,” कार्यालयका बाली विकास अधिकृत हेम शर्मा तिवारीले भने, “स्थानीय र विदेशी हुन्छ, त्यसको गुणस्तरमा धेरै फरक हुन्छ ।” उनले जिल्लामा यसअघि कालो धान खेती भएको आफूले जानकारी नपाएको बताए ।
कालो धानको चामल नियमित सेवन गरे एन्थ्रोसाइनिन पिगमेन्ट अर्थात् एन्टी अक्सिडेन्ट बुढ्यौलीलगायत विभिन्न रोगविरुद्ध लड्ने शक्ति प्राप्त हुने जानकारहरूको भनाइ छ ।
साथै रक्त अल्पता, मधुमेह, हृदयघात, उच्च रक्तचाप, मुटु रोग, अल्जाइमर्स, किड्नी–पेट–कलेजोको रोगबाट बचाउने, कोलेस्ट्रोल बढ्न नदिने, घाउ सुन्निन नदिनेलगायतका काम पनि कालो चामलले गर्छ ।







